सगर र सागरको अपनत्व

प्रदीप उप्रेती

सगरको जल सागरमा मिसिएर सागर पवित्र भए झैं नेपाल तथा भारतीय जनता वीचको सदियौं पुरानो सम्बन्ध, सद्भाव एवं सहयोगलाई आत्मीयतापूर्वक व्यवहारमा उतार्ने चेष्टा गर्ने हो भने सम्बन्ध विस्तारको क्षेत्रमा एक कदम अगाडि बढ्न अवश्य पनि हौसला प्राप्त हुनेछ । जसका लागि दुवै पक्षले इमानदारीपूर्वक लाग्नुपर्ने हुन्छ । परिणामतः द्विपक्षीय सह–सम्बन्ध विकासको क्षेत्रमा कुनै प्रकारको तितोपनको अनुभूती हुने छैन भन्न सकिन्छ ।

हिन्दुकुश हिमालय क्षेत्रमा अवस्थित नदीहरूको प्रमुख उद्गमस्थल भनेको हिउँ पग्लेर निस्कने हिमनदीका अतिरिक्त वाष्पीकरणको माध्यमद्वारा आकाशगंगाबाट वर्षने पानीको स्रोतलाई मुख्य रूपमा लिन सकिन्छ । जसले केहीदसम्म नेपाल–भारतका अधिकांश भूभागमा आवश्यक पर्ने पानीको मागलाई पूर्ति गर्नेछ भन्ने जनविश्वास रही आएको छ । आर्थिक सम्मुन्नति, शिक्षा आर्जन एवं अन्य कार्य प्रयोजनका लागि मुलुकका विकटभन्दा विकट भूभागबाट सुगम स्थलमा मानिसहरूको बसाइँसराइका कारण अव्यवस्थित सहरीकरणको अभिवृद्धिले दिनहँु पानीको माग बढ्न जाने तथ्यलाई अन्यथा लिन मिल्दैन । जसले धर्तीलाई सिञ्चित गर्ने भएको हुँदा अत्यधिक लाभ लिन सकिन्छ । उचाइबाट बहने हिमनदीमा पानीको बहाव तीव्र रहने हँुदा जलऊर्जा विकासको साथै विद्युतीकरणमा ठूलो सहयोग पुग्ने तथ्यलाई बिर्सन मिल्दैन । यही त्यो कारक तत्व हो जसले विशेषगरी वर्षायाममा पहाडमा भूक्षय तथा तराईमा बाढीको प्रकोप निम्ताउने सम्भावना पनि त्यतिकै रहेको हुन्छ ।

यस प्रकारका हिमनदीहरू सम्बद्ध मुलुकका लागि वरदान सावित भएका छन् । निरन्तर रूपमा अविरल बगीरहने नदीले नेपाललगायत सम्पूर्ण दक्षिण एसिया क्षेत्रमा नै खाना, नाना, लगायत जलऊर्जाको विकास–विस्तारको प्रचुर सम्भाव्यता कायम राख्दै वातावरणीय प्रभावलाई सन्तुलन राख्नुको अतिरिक्त व्यापार विविधिकरणको हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सफल रहेको देखिन्छ ।

यद्यपि जनचेतनाको अभावका कारण पानीको गुणस्तरमा उचित ध्यान दिन नसक्ने संस्कृतिको विकासले प्रकृतिद्वारा निःशुल्क प्राप्त हुन आएका हाम्रा जलसम्पदाहरू दिनप्रतिदिन प्रदूषित रहन गई जनस्वास्थ्यमा प्रतिकूल असर परी विभिन्न प्रकारका संक्रमणबाट गुज्रिनुपरेको तथ्य हामी कसैबाट पनि लुक्न सकेको छैन ।

मुलुकको भू–राजनीतिक अवस्थाका कारण अभाव, गरिबी र विसंगति हामी र हाम्रा सन्ततीका लागि समृद्धिको वाधक तत्व भएको छ । यति हुँदाहँुदै पनि पछिल्लोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको सन्दर्भमा उल्लिखित सन्दर्भ निकै घतलाग्दो छ । मोदीको उद्घोषलाई वास्तवमै सकारात्मकतातर्फ अग्रसर गराउने चेष्टा राख्ने हो भने आगामि केही वर्ष भित्रमा नै भूपरिवेष्टित मुलुकको हैसियतमा हाल कायम रहँदै आएको नेपालको पहिचानलाई क्रमशः प्रतिस्थापन गर्दै सामुद्रिक पहुँचको क्षेत्रमा आफ्नो उल्लेख्य उपस्थिति जनाउँदै भूजडित मुलुकको रूपमा चिनारी गर्न पूर्णरूपले गर्न सक्षम रहनेछ भन्ने विश्वास लिन सकिन्छ ।

यस प्रकारका व्यवहारको विकासले अवश्य पनि दुई मुलुक विचको मित्रताको कसीमा अवश्य नौलो आयाम थप्नेछ । जसलाई पूर्णरूपले साकार तुल्याउन सगर र सागरको मिलन अपरीहार्य भइसकेको छ । प्रकृतिका अनुपम उपहारको रूपमा रहेका यी दुवैको आआफ्नो छुट्टै पहिचान र अस्तित्व रहेको छ । जसलाई भौगोलिक परिवेशले निम्ताएको सह–सम्बन्धको परिणामको रूपमा लिन सकिन्छ ।

सगरको जल सागरमा मिसिएर सागर पवित्र भए झैं नेपाल तथा भारतीय जनता बीचको सदियौं पुरानो सम्बन्ध, सद्भाव एवं सहयोगलाई आत्मीयतापूर्वक व्यवहारमा उतार्ने चेष्टा गर्ने हो भने सम्बन्ध विस्तारको क्षेत्रमा एक कदम अगाडि बढ्न अवश्य पनि हौसला प्राप्त हुनेछ । जसका लागि दुवै पक्षले इमानदारीपूर्वक लाग्नुपर्ने हुन्छ । परिणामतः द्विपक्षीय सह–सम्बन्ध विकासको क्षेत्रमा कुनै प्रकारको तितोपनको अनुभूति हुने छैन भन्न सकिन्छ । प्राप्त हुन आएको सहकार्यको विकासले दुबै मुलुकको आर्थिक समृद्धिलाई मजबुत पार्दै नागरिकको जीवनस्तर सुधारमा उल्लेख्य सुधारको अपेक्षा राख्न सकिनेछ ।

जसले आज देखिएको शीतयुद्धयुक्त व्यवहारमा न्यूनता छाउनेछ । मुलुकको भौगोलिक विकटताका कारण छिमेकी मित्रराष्ट्रसँगको मैत्रिपूर्ण सम्बन्ध विस्तारको क्षेत्रमा भनाइ र गराईमा तात्विक असर पर्न सक्ने हुँदा वैदेशिक कूटनीतिक संम्वेदनशीलतालाई अध्ययन एवं मनन गर्दै आपसी सहयोगको बलमा मित्रताको गाँठो अझ बलियो पार्नुपर्ने हुन्छ । यसका अतिरिक्त यदि भारतीय पक्षलाई तिमी नेपाल–नेपाली जनतालाई सहयोगी भावले कार्य गर्दैनौ भने मित्रराष्ट्र चीन र चिनियाँ मित्रका साथै विश्वका अन्य मित्रराष्ट्रसँग सहयोगको लागि याचना गर्छांै भन्ने तथ्यले कूटनीतिक दौत्यसम्बन्धको कसिमा अवश्य पनि नकारात्मक प्रभाव पार्ने गहन तथ्यलाई हलुका हिसाबले लिनु मुलुक र जनहितको लागि सुहाउँदो व्यवहार मान्न सकिँदैन ।

प्रस्तुत तथ्य ‘छोरी कुटी बुहारी तह लगाउने’ वास्तविक नेपाली उखानलाई दौत्य सम्बन्धको गहिराइमा चरितार्थ पार्न खोज्नु यथार्थमा दुबै मुलुकको सम्बन्ध विस्तारको क्षेत्रमा प्रत्योत्पादक असर बाहेक अन्यथा केही पनि होइनभन्दा त्यति फरक नपर्ला । जसलाई आधुनिक नेपाली समाजले निक्कै नै कुतूहलतापूर्ण ढंगले अवलोकन गरी राखेको वर्तमान अवस्था हो । हुनतः मित्रराष्ट भारतका तर्फबाट पनि यसअघि भए गरेका सन्धी सम्झौतालाई हु–बहु पालना नगरेको वर्तमान अवस्थामा नेपाली पक्षले आफ्नो हितको लागि सकारात्मक अडान राख्न खोज्नु राष्ट्रिय स्वाभिमानको गौरवशाली गाथा मान्न सकिन्छ ।
सगर–सागरको अपनत्वलाई विषेश हेक्का नराखी अगाडि बढने क्रममा गरिएका वाचाहरू दुबैपक्षबाट पूरा भए वा भन्ने अर्थपूर्ण तथ्यले विशेष प्रभाव पार्ने हुँदा सावधानी अपनाउनु हितकर रहन्छ । कूटनीतिको क्षेत्रमा कुनै पनि पक्षबाट गरिएको सानोभन्दा सानो लापरवाहीले पनि मैत्रीपूर्ण दौत्य सम्बन्धको कसिमा चीसोपनको अनुभूति दिलाउने सम्भावनालाई अन्यथा लिन मिल्दैन ।

सद्भावपूर्ण दौत्य सम्बन्ध विस्तारका लागि नेपाल–भारत वा अन्य कुनै तेस्रो पक्षले सम्बद्ध मुलुकको हितको लागि कार्यगर्नु समग्र दक्षिण एसिया क्षेत्रमा शान्तिको कामना गर्नु सरहको अवस्था हो । नेपाल तथा भारतको मैत्रीपूर्ण दौत्यसम्बन्धको विकासमा विश्वका अन्य मुलुकसरह गहिरो कटुतापूर्ण व्यवहार विगतदेखि वर्तमानसम्म भएको पाइँदैन । तथापि सामान्य असमझदारीको रूपमा केही असमानपूर्ण व्यव्हार भने पक्कै पनि भएकै छन् । सतही तहमा प्रस्तुत भएको उक्त व्यवहारलाई शत्रुतापूर्ण व्यवहार भन्नुभन्दा पनि सम्बन्धित राष्ट्रका सरकार वा सरकार प्रमुखलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पारी आफ्नो निहित स्वार्थपूर्तिका लागि दबाब सिर्जना गर्ने हेतु चालिएको रणनीतिक कूटनीतिक चातुर्यताको सिद्धहस्त कार्यशैलीको रूपमा यसलाई लिँदा त्यति फरक नपर्ला ।

दुई मुलुकबीच भएका विगतका असमझदारीलाई क्रमशः भुल्दै मैत्रिपूर्ण सद्भावका माध्यमबाट द्विपक्षीय सम्बन्ध विकासको क्षेत्रमा नौलो प्रयासको आरम्भ गर्ने हो भने अवश्य पनि धेरै लाभ हासिल गर्न सकिनेछ । किनभने समस्त दक्षिण एसिया क्षेत्रमा नै उदाउँदो महाशक्तिको रूपमा रहेको मित्रराष्ट्र भारतको आर्थिक समृद्धिको हरेक पक्षलाई पाठका रूपमा लिँदै व्यवहारमा उतार्ने जमर्को गर्ने हो दुवैपक्षले मनग्य आर्थिक लाभ लिई समृद्धि हासिल गर्न कोसेढुंगा सावित हुन सक्ने देखिन्छ । तर यसका लागि छिमेकी मुलुकलाई चिढाएर होइन रीझाएर कार्यगर्ने प्रवृत्तिको विकासले वास्तविक रूपमा अब्बल कूटनीतिको उदाहरणीय नमुना प्रस्तुत गर्न सकिने अवस्था प्रारम्भ हुनेछ ।

प्रतिक्रिया