रोजगारी गुमाएर फर्किएकालाई स्वरोजगार बनाइँदै

अर्घाखाँचीका स्थानीयतहले बेरोजगार भई स्वदेश तथा विदेशबाट घर फर्किएका यहाँका नागरिकलाई कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएका छन् ।  कृषिमा आधुनिकीकरण, व्यावसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न कृषकलाई बिउबीजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउनेसम्मका योजना अघि सारेका छन् र यसका लागि बजेट विनियोजन पनि गरेका छन् ।

सन्धिखर्क नगरपालिकाले यसवर्ष कृषि र पशुपालनका लागि ७ करोड ८७ लाख बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिए । नयाँ हाटबजार निर्माणका लागि समेत दुई करोड रकम बजेट विनियोजन गरेको छ । गएको दुई वर्षमा कृषि पेसालाई यान्त्रीकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर उनीहरूलाई ३० ओटा मिनी टिलर अर्थात हाते ट्याक्टर वितरण गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

२ सय ५० थान टनेल, थोपा सिँचाइ सय सेट, दुई सय माहुरीका घार वितरण गरेको छ । करिब ५२ क्विन्टल मकैको बिउ र २६ क्विन्टल गँहुको बिउ, मौसमी तथा बेमौसमी तरकारीको बिउ दुई हजार प्याकेट र च्याउको बिउ ६ सय प्याकेट ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिए । गतवर्ष कृषि र पशुपालनमा १ करोड २० लाख बजेट विनियोजन भएको थियो । गएको दुई वर्षमा सन्धिखर्क नगरपालिकाले नश्ल सुधारका लागि ३६ ओटा बोयर बोका, ६ वटा उन्नत जातका राँगा वितरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उन्नत जातका घाँसका बिउ मलासेस, ब्रसिम, जै, घाँसलगायतका घाँस नौ क्विन्टल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

त्यसैगरी ४४ वटा गाईभैँसीको गोठ सुधार, दुई ओटा कुखुराको खोर सुधार र ६ ओटा बाख्राको खोर सुधारका कार्यक्रम सञ्चालन गरेको थियो । शीतगंगा नगरपालिकाले यसवर्ष कृषि र पशुपालनका लागि तीन करोड रकम बजेट विनियोजन गरेको छ । कृषकको मागमा आधारित कार्यक्रम सञ्चालन गर्न तथा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्न बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

प्रत्येक वडामा कृषि र पशुपालनका लागि भनेर १ लाख ५० हजारका दरले १४ वडामा बजेट पठाइएको छ । नगरपालिकाको कुल बजेट तीन करोड रहेको नगरप्रमुख अधिकारीले जानकारी दिए । नगरपालिकाले स्थानीय जातको कुखुराको मासु, कागती कफी र केरामा पनि बिक्रीको आधारमा अनुदान दिने निर्णय गरेको छ । गतवर्ष शीतगंगा नगरपालिकाले उत्पादनमा आधारित अनुदान रकम मात्र ७५ लाख वितरण गरेको छ ।

गतवर्ष कृषिमा यान्त्रीकरण गर्न नगरपालिकाले ५० ओटा मिनी टिलर पनि कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको नगर उपप्रमुख टिका रेग्मीले जानकरी गराए । माहुरीका घार पनि ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको नगरपालिकाले जनाएको छ । भूमिकास्थान नगरपालिकाले कृषिमा ४५ लाख र पशुपालनका लागि समान ४५ लाख विनियोजन गरेको छ । संघ र प्रदेशबाट आएकासमेत गरी कृषि र पशुपालनमा झण्डै तीन करोड बजेट रहेको भूमिकास्थान नगरपाकिलाका नगर प्रमुख रेशम थापाले जानकारी दिए ।

नगरपालिकाले गत वर्ष कृषक तथा कृषक समूहको मागका आधारमा १५ हजार कागतिका बिरुवा, ९० ओटा टनेल, १ सय ७३ वटा माहुरीका घार र मकै छोड््याउने मेसिन आठ वटा पनि वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख रामबहादुर थापाले बताए । पशुपालनलाई व्यवस्थित गर्न १५ ओटा भकारो सुधार र सिँचाइको लागि सात वटा सिमेन्ट पोखरी समेत कृषकको घर गाउँमा निर्माण गरेको छ । कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेसामा आवद्ध गराउने खालका कार्यक्रमहरू यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले बताए ।

मालारानी गाउँपालिकाले कृषि र पशुपालन गर्न चाहने युवालाई बिनाधितो स्वरोजगार ऋण प्रदान गर्ने भएको छ । स्वरोजगार कोष खडा गरी कृषि र पशुपालन व्यवसायमा लाग्ने युवालाई दुई लाखदेखि १० लाखसम्म ऋण प्रदान गर्ने कार्यक्रम सञ्चालन भएको छ । उनले यो वर्ष कृषि विकास बैंकबाट गाउँपालिकामा रहेका युवालाई ६ करोड प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्न थालिएको छ । पालिकाले गतवर्ष ८१ जना कृषकलाई चार ओटाका दरले बोयर जातका बाख्रा प्रदान गरेको थियो । कृषि पेसालाई आधुनिक बनाउन र यान्त्रीकरण गर्न कृषकको मागका आधारमा ३० वटा मिनी टिलर अर्थात हाते ट््याक्टरसमेत गत वर्ष ८० प्रतिशत अनुदानमा वितरण गरेको छ । मकैको बिउ, कागती, सुन्तला, तथा चियापत्तीका बिरुवा पनि कृषकलाई वितरण गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालले बताए ।

यसवर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमुना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने उनले बताए । छत्रदेव गाउँपालिकाले कृषि र पशुपालनबाट मात्रै आर्थिक वृद्धि हुने निष्कर्ष निकालेर युवालाई स्वरोजगार बनाउने खालका कार्यक्रम सञ्चालन गर्दैछ । यसका लागि यसवर्ष झण्डै दुई करोड विनियोजन गरेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । परम्परागत तथा निर्वाहमुखी कृषि पेसालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न र लागि परेको बताइएको छ ।

व्यावसायिक कृषि तथा पशुपालन फर्ममार्फत् कार्यक्रम सञ्चालन गर्ने काममा गाउँपालिकाले जोड दिएको छ । कोरोनाले गर्दा रोजगारी गुमाएर घर फर्किएका युवालाई उत्पादनमुखी कृषि पेसाका लागि ऋण दिन बैंकसँग पनि समन्वय गरिएको छ । हलोको सट्टा मिनी टिलर, परम्परागत कुटो तथा कोदालोको सट्टा नयाँ सामग्रीको प्रयोग गरी कम समय र कम लागतमा उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष पोख्रेलले बताए । माटो सुहाउँदो तरकारी तथा अन्नखेतीका लागि माटो परीक्षणशाला गाउँपालिकाले सञ्चालन गरेको छ भने एक घर एक करेसाबारीको अभियान घरघरमा पु¥याएको छ ।

बोयर जातको बाख्रापालन प्रवद्र्धन गर्न गतवर्ष अस्ट्रेलियाबाट सो जातका बोयर खरिद गर्न बोलपत्र आह्वान गरे पनि कोरोनाका कारण काम हुनसकेको थिएन । यसवर्ष उक्त कामका लागि एक करोड विनियोजन गरेको छ । पाणिनी गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ । यी बस्तु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ । केही समय पहिला अण्डा र मासु अन्तबाट ल्याउनुपर्नेमा यसवर्ष कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न र युवाहरूलाई कृषिमा लगाउन झण्डै तीन करोड विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।
यसवर्ष सो गाउँपालिकाले दूधमा प्रतिलिटर पाँच अनुदान दिने भएको छ । यसअघि प्रतिलिटर २ रुपैयाँ ५५ पैसाका दरले अनुदान दिएको थियो । गाउँपालिकामा १० ओटा डेरी र पाँच ओटा पोल्ट्री फर्मबाट सञ्चालित छन् । यी डेरीले गत आर्थिक वर्षमा करिब आठ लाख ६० हजार १ सय ३९ लिटर दूध संकलन गरेको र पोल्ट्रिफर्मले दिनैपिच्छे २२ हजार अण्डा उत्पादन गरेको कृषि प्राविधिक दधिराम अधिकारीले जानकारी दिए ।

स्थानीय तहमा बोयर बाख्रा र टिस्यु कल्चर विधिबाट आलुको बिउ उत्पादनको केन्द्रका रूपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको पशु प्रविधिक कृष्ण घिमिरेको भनाइ छ । गत वर्ष सो पालिकाले २६ ओटा हाते ट्रयाक्टर कृषकलाई प्रदान गरेको थियो । त्यसैगरी करिब चार सय प्लास्टिक टनेल ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । यसवर्ष पनि हाते ट्रयाक्टर तथा घाँस काट्ने मेसिनलगायतका सामग्री प्रदान गरिने भएको छ ।

प्रतिक्रिया