अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यू

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि कर्फ्यू जारी भएको छ । शनिबारदेखि रातिको समयमा कर्फ्यू लागु भएको क्यालिफोर्निया राज्य सरकारले जनाएको छ । गएको अगस्टमा पश्चिमी राज्यमा सबैभन्दा धेरै संक्रमण देखिएको थियो । तर अहिले त्यो भन्दा पनि धेरै संक्रमण दैनिक रुपमा देखिन लागेको लस एन्जलस टाइम्सले जनाएको छ ।

अमेरिकाभर शनिबार कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या दुई हजार भन्दा बढि रह्यो । गएको मे यता पहिलो पटक एकै दिन दुई हजार भन्दा धेरैको ज्यान गएको हो । विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड २० लाख भन्दा धेरै पुगेको छ । अहिलेसक्क दुई लाख ५५ हजार भन्दा बढिको ज्यान गएको छ ।

अधिकांश राज्यहरुमा संक्रमण बढ्दो क्रममा छ । विभिन्न राज्यहरुले मास्क लगाउनु अनिवार्य गरेका छन् । क्यालिफोर्नियामा गएको हप्ता कुल संक्रमितको संख्या १० लाख नाघ्यो । यसअघि टेक्सासमा संक्रमितको संख्या १० लाख भन्दा धेरै पुगेको थियो ।

शनिबारदेखि स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यू जारी रहने छ। यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने राज्यका अधिकारीले बताएका छन् । क्यालिफोर्नियाका ५८ मध्ये ४१ काउन्टीमा घरमै बस्ने आदेश जारी भएको छ।

प्रतिक्रिया