विरहीको ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । साहित्यकार रेशम विरहीद्वारा लिखित निबन्ध संग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । ‘देब्रे आँखा’ नामक निबन्ध संग्रहबाट चर्चामा आएका विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि निरन्तर सक्रिय छन् ।

उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउरालीका विषयलाई उधिनिएको हुन्छन् । भाव र प्रभाव गरी दुई भागमा विभाजित निबन्ध संग्रहमा २५ वटा निबन्ध रहेका छन् । निबन्धमा समाज, राजनीति, संस्कृति आदि विषयलाई कलात्मक रुपमा प्रस्तुत गरिएको प्रकाशकले जनाएको छ ।

विरहीले कहिले पत्रकारिता कहिले कविता, कहिले उपन्यास र कहिले निबन्धका ढाकर बोकेर आफ्नो लेखनकर्मलाई अगाडि बढाइरहेका छन् । उनको लेखनीमा समाज, व्यक्ति र राजनीतिलाई नजानिँदो पाराले घुच्याउने र विम्बका घुएँत्रोले चोटिलो निशाना दिने खुवी देखिन्छ । लोभ र प्रपञ्चका कित्ताभन्दा अलग्गै पहिचान बनाउने रेशमलाई साक्ष्यभावले उभिएको टापु भने हुन्छ । शिखा बुक्सले बजारमा ल्याएको उक्त निबन्ध संग्रहको मूल्य ३२५ रहेको छ ।

प्रतिक्रिया