युट्युबरमाथि अक्षयको ५ सय करोड दावी

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले एक युट्युबरमाथि पाँच सय करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएका छन् । युट्युबर राशिद सिद्दिकीमाथि उनले अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि झुटो भिडियो बनाएको आरोपमा मुद्दा दर्ता गराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भिडियोमा राशिदले सुशान्तको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई क्यानडा भाग्नका लागि अक्षयले सहयोग गरेको आरोप लगाइएको छ । भिडियोमा सुशान्तको निधनपछि अक्षयले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्यसँग गोप्य रुपमा भेटघाट गरेको आरोपसमेत लगाइएको छ ।

त्यस्तै, सिद्दिकीले युट्युब च्यानलमा चलचित्र ‘एमएस धोनीः दि अनटोल्ड स्टोरी’ सुशान्तको हातमा गएपछि अक्षय खुसी नभएको आरोप पनि लगाएका छन् । अभिनेता सुशान्तको निधनपछि उनको विषयमा भिडियोहरु तयार पारेर चार महिनामा राशिदले १५ लाखभन्दा बढी कमाएका छन् । २५ वर्षका राशिद बिहारमा बसेर एफएफ न्युज नामबाट युट्युब च्यानल सञ्चालन गरिरहेका छन् । अदालतले सिद्दिकीको अग्रिम जमानत दिएर प्रहरीलाई यो मुद्दाको छानविनमा सहयोग गर्न आदेश दिएको छ ।

प्रतिक्रिया