शिवघाटमा कला वार्ता

चितवन । कला र संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ हामी कलाकार चितवन र नवलपुरले चित्र प्रदर्शनी गर्ने भएको छ । भरतपुर महानगरपालिका–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र शिवघाटमा कला वार्ता गर्दै १४ जना कलाकारलाई क्यानभास वितरण गरिएको थियो । कलाका विविध आयाम र कोरोनाका कारण देखापरेको संकटमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा बहस गर्दै प्रदर्शनीलाई लक्षित गरेर क्यानभास बाँडिएको आयोजकले जनाएको छ ।

हामी कलाकारका अध्यक्ष भीमप्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा कवि एवं चित्रकार गोविन्द विनोदीले कला र संस्कृतिको विकासले मात्रै राष्ट्र समृद्ध र वैभवशाली बन्न सक्ने विचार व्यक्त गरे । सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले समाजलाई जीवन्त र गतिशील बनाउन कला, संस्कृति र साहित्यको विशिष्ट भूमिका हुने धारणा राखे । उनले भने, ‘राज्यले कला र संस्कृतिलाई उचित ढंगले संवद्र्धन, प्रवद्र्धन र विकास गर्न कुनै कसुर बाँकी राख्न हुन्न ।’ संस्थाका अध्यक्ष शर्माले समग्र कला क्षेत्रको विकास तथा सवद्र्धन एवं यसै क्षेत्रमा समर्पित कलाकारलाई स्वतन्त्र रुपमा कला सिर्जना गर्न पाउने वातावरण बनाउने प्रयास स्वरुप कला प्रदर्शनी गर्न लागेको जनाए ।

१ पुसमा चित्र प्रदर्शनी गर्ने तयारीका साथ काम गरिरहेको कलाकार तथा संस्थाका उपाध्यक्ष प्रकाश थापा ‘प्रथा’ ले जानकारी दिए । उनले कोरोना कहरका बीच कलाकारलाई कला जागरण र सचेतना फैलाउने ध्येयका साथ प्रदर्शनीमा सहभागी गराउने लागिएको बताए । सो कार्यक्रममा साहित्यकार तथा कलाकार गोविन्द विनोदी, भीमप्रसाद शर्मा, प्रकाश थापा ‘प्रथा’, लालकाजी लामा, तमबहादुर पुन, दामोदर बराल, बरुण घिमिरे, दिनेश्वर महतो, तीर्थराज पाण्डे, राजेश बराल, सुशील गुरुङ, मिलन गुरुङ, सन्तोष श्रेष्ठ, टिकाराम मानन्धर, सुरक्षा वाग्ले, राजकुमार चन, सुजना वाग्ले, सुलभ पौडेल लगायतका कलाकार सहभागी थिए । कार्यक्रम समूहका सचिव सुलभ पौडेलले सन्चालन गरेका थिए ।

प्रतिक्रिया