सूर्य देवताको व्रत

विश्वनाथ खरेल

हिन्दूहरूको महान् चाड छठपर्वको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । नेपालका सन्दर्भमा मूलतः तराईवासीमा मैथिली, भोजपुरी र अवधिभाषाभाषी हिन्दूहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक पर्व हो । खास गरीकन कात्तिक शुक्लषष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेषगरी ठेकुवा, भुस्वाकसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ ।

छठ पर्वलाई ऐतिहासिक रूपमा अवलोकनगर्दा द्वापरयुगबाट सुरुआत भएको देखिन्छ । त्यसबेला भारत वर्षका मानिसले यस पर्वलाई मनाउँदै आएको थिए । समयको गति सँगसँगै मुलुकको तराई भागमा बसोवास गर्ने प्रायः गरी हिन्दू समुदायले यो पर्व मनाउँदै आएका छन् । विस्तारै विस्तारै यो पर्व मुलुकको काठमाडौं उपत्यकालगायत विभिन्न सहरी क्षेत्रमा पनि प्रवेश गरेको छ । यस पर्वमा खासगरी पोखरी, नदीनाला आदि जलाशयलाई झिलिमिलि पारी सिंगारिन्छ । सूर्यको पहिलो प्रकाश शरीरमा परेको खण्डमा रोगव्याधी नाश हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ । गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक र आध्यत्मिक दुबै पक्षहरूले भरिभराउ भएको पर्व हो । सूर्य देवतालाई उपासना गर्नको लागि केराको घरी, विभिन्न प्रकारका फलफूल, थरीथरी र जातजातका फूलहरूले बेहुलीभन्दा पनि राम्रोसँग सिंगारिएको हुन्छ । यस पर्वमा माटाका भाँडाकुडाहरूले सजिसजाउ गर्ने चलन रहेको थियो भने आजभोली तामा तथा पित्तलका भाँडाकुडाहरू राख्ने चलनले गर्दा त्यति राम्रो र स्वाभायमान देखिँदैन ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । कात्तिक शुक्लषष्ठीलाई नै छठ पर्व भनिन्छ । यो सूर्यको व्रत बस्ने वा उपसना गर्ने पर्व हो । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजाआजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौँ दिनमा पर्दछ । यद्यपि पर्वको मुख्य विधि भने कात्तिक महिनाको चन्द्रोदयको चौथो दिनदेखि नै आरम्भ हुन्छ । चौथीको दिनलाई अरवा भनिन्छ । जुनदिन व्रतालु पुरुष वा महिलाको खोला, तालतलाउ, नदी, पोखरीमा स्नान गरी शुद्ध भोजन गर्नुबाहेक अरू केही काम हुँदैन । चौथीको भोलिपल्ट र षष्ठीको अघिल्लो दिनमा भने छठ पर्वको तयारीको दिनको रूपमा लिइन्छ । यस दिनलाई खर्ना भनिन्छ । उक्त दिनमा दिनभरि उपवास बसेका व्रतालुको मुख्य काम साँझ पुनः स्नान गरी कुलदेउता रहेको कोठामा नयाँ माटोको चुल्हो प्रयोग गरेर सूर्य पूजाआजाको लागि नैवेद्य, भेटी, विभिन्न किसिमका जातजातका फलफूल, मिठाइ तयार पार्नुपर्छ । नैवेद्यमा विशेषतः पाकेको केरा, शुद्ध घिउमा बनाइएको गहँुको पिठोको रोटी, अरुवा चामलको खिर पर्दछन् । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न गए अनिष्ट हुने र कुष्ठरोगको सिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । पूजा सकिएपछि व्रतालुले यिनै प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने घरका सदस्यहरूलाई पनि खुवाउने चलन छ ।

सयौँ वर्षअघिदेखि यो पर्व खास गरी तराइ भागमा बसोवास गर्ने हिन्दूहरूले मान्दै आएका छन् । खासगरी यस व्रतप्रति रुचि राख्ने महिला तथा पुरुष वर्ग, साना–साना बालबालिकाहरू समेतले पनि छठको व्रतबसी पूजाआजा गर्न मन पराउनेको संख्यामा वृद्धि भएको पाइन्छ । यहाँ खासगरी थापाथलीको बागमतीको किनार र पशुपतिनाथको बागमतीको किनारमा व्रत बस्ने व्रतालुहरूको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सबै उमेरका महिलाहरू सक्रिय रहन्छन् । छठ पर्वमा कात्तिक शुक्लष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजागर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनःबिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देवीभागवत अनुसार षष्ठीको व्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ यो व्रत बसेमा छठीमाईको व्रत र पूजाआराधना गरे धन, पुत्र, पतिवामनले चिताएको वर प्राप्ति र छालासम्बन्धी, कुष्ठ रोगहरूबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ ।

समग्रमा भन्नुपर्दा यो व्रतमा कडा नियम भएको कारणले गर्दा जसले व्रत बस्न सक्छ त्यो व्यक्तिले मात्र उपवास बस्नुपर्ने हुन्छ । तर आफू उपवास बस्न नसक्ने भए अरूलाई पनि राख्न सकिन्छ । अतः आर्थिक स्थिति कमजोर हुने व्यक्तिले पनि भीक्षा मागेर भए पनि व्रत पूरा गर्न सक्छन् । यो नै व्रतको रोचक तथा घोचक विशेषता रहेको छ । यसरी छठ पर्वमा आफू, श्रीमान् र छोराको लामो आयुको कामना गर्दै सूर्य देवलाई पूजा गरिन्छ । यस बाहेक परिवारमा शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना पनि गरिन्छ । छठमा घरका पाका महिलाले चतुर्थीका दिन नुहाएर व्रत बस्छन् । पञ्चमीको राती खरना हुन्छ । छठको पूर्व सन्ध्यामा मनाइने खरनामा सख्खर, दूध र चामलले बनेको खिर तथा पाकेको केरा भगवानलाई चढाई प्रसादको रूपमा व्रतालुहरूलाई बाँडिन्छ । तर, खरनाको दिन बिहानैदेखि व्रतालुहरू उपवास बस्छन् । भोलिपल्ट साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गरिन्छ । त्यो साँझ नजिकको तलाउ, नहर अथवा नदीमा जाने पौराणिक चलन छ । षष्ठीको साँझ जलाशय किनारमा ल्याइएको पूजा सामग्री भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सप्तमीको बिहान उदाउँदो सूर्यको उपासनापछि पूजाविधिवत रूपमा समाप्त हुन्छ

प्रतिक्रिया