१ बजे नेकपाको सचिवालय बैठक बस्दै, के होला त टुंगो ?

काठमाडौं । अहिले दिउँसो १ बजे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठक दिउँसो १ बजेको लागि बोलाएका हुन् ।

तर, यस बैठक प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले रोक्न खोजेका थिए । पार्टी भित्रै विभिन्न विवाद उत्पन्न भएपछि नेकपा फुटको संघारमा पुगेको छ । यसै विषयमा केन्द्रीत रहेर आज सचिवालय बैठक बस्ने भएको हो ।

नेकपाकै महासचिव विष्णु पौडेलमार्फत बैठक रोक्ने प्रयास प्रम गरेका ओलीले दिउँसो १ बजे नै आकस्मिक मन्त्रिपरिषद बैठक बोलाका थिए । तर, दिउँसो १ बजे नै सचिवालय बैठकमा सहभागी हुने निर्णय गरेका ओलीले मन्त्रिपरिषदको बैठक भने १ घण्टा पर सारेका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य बहादुर थापाले आजको सचिवालय बैठक निर्धारित समयमा हुने बताए । उनका अनुसार यस बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुनेछन् ।

गत कात्तिक २८ गतेको बैठकले आजको लागि सचिवालय बैठक तय गरेको थियो । ओलीले आजको बैठकमा आफू सहभागी नहुने र बहुमत सदस्यले बैठक बोलाए थप संकट उत्पन्न हुने बताएका थिए ।

तर, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गठबन्धनले आजको बैठकमा ओली सहभागी नभए पनि पेलेरै जाने मनस्थिति बनाएपछि अन्तिममा ओलीले बैठकमा सहभागी हुने तयारी गरेका हुन् ।

ओली सचिवालय बैठकमा केही बेर सहभागी भइ स्थायी समितिको बैठक भने धकेल्ने रणनीतिमा लागेको नेकपाकै नेताहरुले बताउँदै आएका छन् । नेकपा पार्टी भित्रको विवाद मिलाउँन राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले समेत सक्रियता देखाएका छन् ।

प्रतिक्रिया