समावेशी शिक्षाको स्थिति प्रतिवेदन : स्थानीय तहलाई सक्रिय हुन सुझाव

काठमाडौं । कोभिड–१९ पछिको वैकल्पिक प्रणालीको शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँच बढाउन स्थानीय तहमा समन्वयात्मक र सहयोगात्मक कार्य हुनुपर्ने देखिएको छ ।

मुलुकका सात प्रदेशमा अवस्थामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट भइरहेको समावेशी शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँचबारे हालै गरिएको तयार गरिएको स्थिति प्रतिवेदनले त्यस्ता विद्यार्थीमा वैकल्पिक विधिबाट शिक्षा पाउन पर्याप्त पहुँच नभएकाले स्थानीय तह र सम्बन्धित पक्षबीचको समन्वय तथा सहयोग बढाउनुपर्ने आवश्यकता देखाएको हो ।

नेपालका लागि अष्ट्रेलियाली दूतावासको सहयोगमा अपाङ्गता मानवअधिकार प्रवद्र्धन समाजले गरेको अध्ययनबारे आज भर्चुअलरुपमा आयोजित अपाङ्गता अधिकारकर्मी तथा अधिवक्ता सुदर्शन सुवेदीले बौद्धिक अपाङ्गता, अटिजम, ड्राउन सिन्ड्रोम, पूर्ण अपाङ्गता भएका र सबै बालबालिकालाई शिक्षामा सहज पहुँचवृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

राष्ट्रिय अपाङ्ग महासंघका पूर्वअध्यक्ष सुवेदीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि वैकल्पिक शिक्षा पहुँचयोग्य नभएको जनाउँदै कमजोर आर्थिक स्थिति, इन्टरनेटको असुविधा र सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा अभ्यस्तताको अभावका कारण पनि समस्या उत्पन्न भएको बताए । हाल विद्यालय तहमा अपाङ्गता भएका बालबालिका करीब ७५ हजार छन् ।

शिक्षाविद् डा. वासुदेव काफ्लेले सरकारी संरचनाभित्र समावेशी नीति उचित हुनुपर्ने आग्रह गर्दै शिक्षामा नीतिमा मात्र नभई कार्यमुखी समावेशीताको कार्यान्वयनमा सरकार र सम्बद्ध निकाय लाग्नुपर्ने जनाए । उनले समावेशी शिक्षाको प्रभावकारिताका लागि शिक्षकको उचित प्रबन्ध र अभिभावक सचेतनाका लागि काम गर्नुपर्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका सामाजिक कार्यसमूहकी अध्यक्ष प्रदिप्ता कादम्बरीले सरकारी नीति र निर्देशिकाको अभाव नभए पनि कार्यान्वयनका क्षेत्रमा देखिएका कमजोरी र असमन्वयको अन्त्य हुनुपर्नेमा जोड दिइन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत नारद धमलाले यस क्षेत्रमा हालसम्म भएका कामबारे सकारात्मक मूल्यांकन गरी सुधानुपर्ने पक्षमा सम्बन्धित पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआइएन) का अपाङ्गता कार्य समूहका संयोजक वीर नेपाली स्थानीय तहले लक्षित वर्गलाई लाभ हुने गरी समन्वय र सहयोगलाई बलियो बनाउन प्रभावकारी सहजीकरण गनुपर्ने बताए ।

अष्ट्रेलिया अध्ययन गरेर फर्किएकी दीपावली शर्माले आफूहरुले विदेशमा पढेका र देखेका शिक्षाका राम्रा अभ्यास तथा स्रोत साधनलाई स्वदेशको विकासमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँचबारे विस्तृत र स्थलगत अध्ययन गरी नीतिगत सुझाव दिन आग्रह गरे ।

प्रतिक्रिया