‘लालस’ विमोचित

काठमाडौं । साहित्यकार भुवनहरि सिग्देलको ३५औँ कृति ‘लालस’ उपन्यास बजारमा आएको छ । उपन्यासमा सामाजिक कुण्ठा तथा विकृतिका विषयलाई उठाइएको छ । साहित्यका विविध विधामा कलम चलाउँदै आएका सिग्देलको यो ३५औं र आख्यानका हिसाबले नवौँ कृति हो । उक्त कृतिको आइतबार एक समारोहबीच समालोचक राजकुमार बानियाँ, उपन्यासकारद्वय शैलेन्द्र अधिकारी र तर्कना शर्मा, प्रकाशक श्रीमती शोभा पौडेल, डिजाइनर सन्तोष दाहाल र लेखक भुवनहरि सिग्देलले संयुक्त रूपमा पुस्तक विमोचन गरे ।

‘लालस’ धन, दम्भ, अहंकार र द्वेषबाट जन्मिएका अद्भुत पात्र र तिनैले बनाएका कथाको माखेसाङ्लो हो । जसमा घृणा, धोका, प्रपञ्चका घटना र परिघटनाको महाजाल अनि त्यही त्रिवेणीमा घुमेको भुमरीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । त्यस्तै, पारदर्शी र अपारदर्शी नूतन जीवनबोधको अनुष्ठान, विस्मयकारी घटना, लिप्सा, भोक र भोगको मनोविज्ञानको समुच्य रुपमा ‘लालस’ आएको प्रकाशकले जनाएको छ ।

प्रकाशक पुष्पराज पौडेलले ‘लालस’ उपन्यासमा संवेदनशील भावुकता, लालित्यपूर्ण भाषाशैली र करुणामय बोध भएको जिकिर गरे । उनले उपन्यास सबैखालका पाठकको मन जित्न सफल हुने कुरामा ढुक्क रहेको सुनाए । शिखा बुक्सबाट प्रकाशित उक्त उपन्यासकोे मूल्य ४२५ रहेको छ ।

प्रतिक्रिया