पर्साका तीन ठाउँमा बिओपी स्थापना

वीरगञ्ज । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) पर्सामा तीन ठाउँमा आइतबार उद्घाटन भएको छ । पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकी, ठोरी र जिराभवानीमा बिओपी स्थापना गरिएको हो । यसअघि पर्सामा १० ओटा बिओपी रहेकोमा टिहुकीमा सशस्त्र प्रहरीको १३औँ बिओपी स्थापना भएको हो ।

बिओपी उद्घाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन, अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पु¥याउने बताए । उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउँदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसँग अनुरोध गरे ।

स्थानीय जनतालाई दुःख नदिन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्न पनि मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिए । उनले यदि सशस्त्र प्रहरीले जनतालाई दुःख दिएमा मेरो मोबाइल वा टोलफ्री नम्बरमा फोन गरी जानकारी दिएमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । खुल्ला सीमानाको कारण अवैध चोरी तस्करी, वन पैदावारको तस्करी, चेलीबेटी बेचविखन, लागुऔषध ओसारपसार हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण सीमा अपराध तथा सीमा विवादजस्ता गहन समस्याहरू देखिएका कारण बिओपी स्थापना गर्नुपरेको उनले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सुरक्षा राज्यको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउँदै बिओपी स्थापनाले सीमावर्ती सीमा क्षेत्र र शान्ति सुरक्षाको अवस्था मजबुत हुनेमा विश्वास व्यक्त गरे । त्यस्तै छिपहरामाई गापा अध्यक्ष मनोज गुप्ताले सशस्त्र प्रहरी जनताको हितका लागि भएको उल्लेख गर्दै बिओपी स्थापनाले सीमावर्ती क्षेत्रका स्थानीयलाई सास्ती हुने भ्रम नपाल्न आग्रह गरे । उनले सीमावर्ती क्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउँदै नागरिकका व्यावहारिक पक्षलाई पनि ध्यान दिन प्रहरीसँग अनुरोध गरे ।

स्थानीय मानबहादुर श्रेष्ठ र मानकुमारी श्रेष्ठले बिओपी स्थापनाका लागि नेपाल–भारत सीमा क्षेत्रबाट करिब सात सय मिटर उत्तरतर्फ पर्ने ढुंगे बजार क्षेत्रमा एक÷एक कट्ठा जग्गा दान गरेका छन् भने अपुग जग्गा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर सार्वजनिक जग्गा उपभोग गरिने सशस्त्र प्रहरी बलले जनाएको छ । हाल सशस्त्र प्रहरीलाई प्राप्त जग्गामा भवन नभएकाले वडा–३ मा रहेको सामुदायिक भवनमा नै तत्कालका लागि बिओपी स्थापना गरिएको हो ।

ब्रम्हानगरमा स्थापना भएको बिओपीले ठोरी गापा–३ मा पर्ने करिब आठ किलोमिटर सीमा क्षेत्रमा रेखदेख गर्ने सशस्त्र प्रहरीले जानकारी दिएको छ । यसैबीच आइतबार नै जिराभवानी–१ मा सशस्त्र प्रहरीको १२औँ बिओपी स्थापना गरिएको छ । साथै छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा पनि सशस्त्र प्रहरीकै १३औँ बिओपी स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिराभवानी गाउँपालिकाको जिराभवानी मन्दिरको सार्वजनिक भवनमा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महतो, उपाध्यक्ष उषादेवी थरुनी वडाध्यक्ष सेख नुमान आजम संविधानसभा सदस्य जयप्रकाश थारू, भद्रभलादमी विभिन्न राजनीति दलका नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया