‘आइसक्रिम’ ले जित्यो दुई अवार्ड

काठमाडौं । संगीता श्रेष्ठले बनाएको लघुचलचित्र ‘आइसक्रिम’ ले दुई वटा अवार्ड जित्न सफल भएको छ । उक्त चलचित्रले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा अवार्ड जितेको हो । शनिबार राति घोषणा भएको अवार्ड समारोहमा चलचित्रले उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड हात पार्न सफल भएको हो ।  ३ नोभेम्बरदेखि सुरु भएको उक्त फेस्टिभलको पहिलो दिनमै यो चलचित्र स्क्रिनिङ भएको थियो । निर्देशक श्रेष्ठले फेस्टिभलमा प्रदर्शन हुँदा नै खुसी लागेको सुनाउँदै भनिन्, ‘फेस्टिभलमा संसारभरका फिल्म हेर्दा हाम्रो फिल्मको तुलनामा धेरै बजेटमा बनेका र प्राविधिक रुपमा राम्रा फिल्म थिए । तर, आइसक्रिमले दुईटा अवार्ड जित्ला सोचेकै थिइनँ । एकदमै खुसी छु ।’

उनले चलचित्रमा बाल यौनहिंसाको विषय र सम्पादनमा गरेको प्रयोगका कारण पुरस्कार पाएको बताइन् । उनले भनिन्, ‘बाल यौनशोषणलाई विषय बनाइएको फिल्ममा सडकमा माग्दै हिँड्ने बालिकाको कथा छ ।’ ९ मिनेट लामो उक्त चलचित्रमा योगिशा खत्रीको मुख्य भूमिका रहेको लामो छ । निर्देशक संगीताले चलचित्र ‘कथा काठमाण्डु’ को निर्देशन गरेकी छन् । संगीताका अनुसार ‘आइसक्रिम’ ले अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, बेलायतको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा छनोट भइसकेको जानकारी गराइन् ।

प्रतिक्रिया