अष्टलक्ष्मी शाक्यका ओलीविरोधी अष्टवक्र

आन्दोलनमा लागेर पति, पुत्र र घरबारसमेत गुमाएका र माओवादीबाट मारिएर पति र पुत्रविहीन भएका धेरै आमा, दिदी र बहिनीहरू छन् । तिनको चिन्ता कसले गर्ने ? यहाँ त आफैँ र आफन्तले बारबार सबै अवसर बारबार पाइरहनुपर्छ नपाए जनताको सरकार पनि खेदाइहाल्नुपर्छ भनेर एकाध नेतृहरू एकमुख लागेको देखिन्छ ।

अष्टावक्र ऋषि शरीरको आठ ठाउँमा बांगा थिए रे ! तर, उनी धेरै ठूला विद्वान् थिए भन्ने मैले सुनेकी छु । यस लेखमा भने पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले हालै सगरमाथा टेलिभिजनमा प्रधानमन्त्री ओली विरोधी अष्टावक्र, अडबांगे र अयथार्थ मात्र होइन सरासर झुट कुरा बोलेको हुँदा यस लेखको नाम यसरी जुर्न गयो । अभागीलाई खाने बेलामा रिस उठ्छ, भनेझैँ यति बेला देश र जनताको हितका लागि निरन्तर काम गरिरहेको ओली नेतृत्वको नेकपा सरकारविरुद्ध उपल्ला तहका केही नेतृहरूसमेत खेदोपाइलो गरेर लागेको देखेर धेरै अचम्म लागेको छ । करीब दुईतिहाइको ओली सरकारका केही सामान्य कमजोरी देखिए पनि धेरै महत्वपूर्ण कामहरू सरकारले गरिरहेको देखिन्छ । प्रसिद्ध गायिका आनी छोइङले तुइन विस्थापित गर्ने ओली सरकारलाई भित्री मनबाट अत्यन्त खुसी भई एक करोड निजी रकम सहयोग गरिन् तर अष्टलक्ष्मी शाक्यजस्ता पार्टीका वरिष्ठ दिदीहरू प्रधानमन्त्री ओली र सरकारलाई सदा धारेहात लगाइरहेको देखिन्छ ।

अझ अष्ट दिदी अन्तर्वार्ताका क्रममा ओलीलाई दुवै पदबाट आजको भोलि नै तुरुन्त निष्काशन गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो । यसको अर्थ ओलीविरुद्ध सभासद्हरूको सही छाप लगाएर अविश्वास प्रस्तावमा लागिपरेको छनक पाइयो । सर्वप्रथम महिला त आमा हुन्, तिनमा आमाको हृदय हुन्छ र हुनुपर्छ । त्यसरी हेर्दा एउटा नेतालाई सदा सत्तोसराप र अर्कोलाई सदा सिर उपर र स्याबास गर्न कुन आमालाई सुहाउने कुरा हो ? घरका दुई सन्तान मध्ये एउटालाई काखा र अर्कोलाई पाखा गर्ने पनि आमा आमा हुनसक्छिन् ? मूल प्रश्न यो हो । देश र जनताको हितमा काम गर्न पाएको महत्वपूर्ण मौकालाई सदुपयोग गर्ने भन्दा पदको लुछाचुँडीमा आफ्नै सरकार विरुद्ध अकारण वरिष्ठ महिला नेतृहरू लागेको देखिन्छ ।

जीवनको लामो समय आन्दोलनमा पतिसहित लगानी गर्नुभएकी अष्टलक्ष्मी शाक्य अन्तर्वार्ताका क्रममा सरकारले केही पनि सकारात्मक काम नगरेको सरासर झुट कुरा बोल्दै हुनुहुन्थ्यो । अनि उहाँ त प्रधानमन्त्री ओलीलाई तुरुन्त दुवै पदबाट निष्काशन नगरी नहुने बताउनुभएको देख्दा अचम्मै लाग्यो । अष्टका बारेमा प्रसिद्ध कवि कुन्ता शर्माले केही दिनअघि एक लेख लेख्नुभएको थियो । उहाँका अनुसार अष्ट दम्पत्तीले राजनीति र राजकीय तहमा बारबार अनेक अवसर पाउनुभएको छ । बरु आन्दोलनमा लागेर पति, पुत्र र घरबारसमेत गुमाएका र माओवादीबाट मारिएर पति र पुत्रविहीन भएका धेरै आमा, दिदी र बहिनीहरू छन् । तिनको चिन्ता कसले गर्ने ?

यहाँ त आफैँ र आफन्तले सबै अवसर बारबार पाइरहनुपर्छ नपाए जनताको सरकार पनि खेदाइहाल्नु पर्छ भनेर एकाध नेतृहरू एक मुख लागेको देखिन्छ । कसैकसैले त लोकलाजसमेत बिर्सिएर सामान्य नारीको स्तरभन्दा पनि निक्कै तल झरेर सरकार र ओलीविरुद्ध मनपरि बोलेको देखिन्छ । यसरी सरकारविरुद्ध बोल्ने सबैको आवाज हुबहु मिलेको देख्दा अर्को अचम्म लागेको छ । कारोनाका कारण लक डाउनका अवसरमा ककसले के के बोेले हेर्ने गरिएको छ । सानी नातिनी श्रीबिन्दुलाई हेर्दै अरू नेतृहरू शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका युट्युबमा अन्तर्वार्ता हेर्दा सुन्दा सबैले रिट्ठो नबिराई एउटै सुर, लय र तालमा बोलेको सुनिन्छ । यसरी हेर्दा ओलीविरुद्ध पहिले राम्ररी पढाएको पाठ सबैले कण्ठस्थ पारेर बोलेजस्तो लाग्छ । नत्र अलिअलि त फरक हुन्छ बोलीमा, तर कहीँ कतै पनि कसैको फरक देखिन्न । गुटको नेताले पहिले नै गोप्य सल्लाह र मन्त्रणा गरेर सरकारविरुद्ध बोल्न लगाएको स्पष्ट अनुमान गर्न सकिन्छ । यसरी बोल्दा सामान्य माक्र्सवादी सकार नकार छुट्याएर बोलेको देखिन्न ।

अष्ट दिदीहरू हामीलाई प्रशिक्षण दिँदा कुनै पनि कुराको विश्लेषण गर्दा सकार नकार छुट्याउनु पर्छ भन्नुहुन्थ्यो । उहाँहरू त्यतिबेला द्वन्द्ववादको कुरा गर्नुहुन्थ्यो । तर, अहिले उहाँहरू त्यस विपरीत रिस, आवेश र ईष्र्याका कारण खसीबाख्री एउटै धोक्री गर्दै हुनुहुन्छ । हिजो पढेको र पढाएको माक्र्सवाद अहिले उहाँहरूले बोलेको सुन्दा केही नै पाइन्न । उहाँहरूको बोली रित्ता भाँडाहरू बजेजस्तो लाग्छ । यतिविधि मन्त्री माननीय, केन्द्रीय, प्रदेश र स्थानीयस्तरमा महिला नेतृहरूको धेरै संख्या देखिन्छ ।

कुन्ता शर्मा, ढाका पराजुली, डा. बिन्दा पाण्डेलगायत औँलामा पनि गन्न नपुग्ने महिला मात्र लेख्ने पढ्ने र कृति प्रकाशन गर्ने हुनुहुन्छजस्तो लाग्छ । लेख्ने पनि अभ्यास र बानी रहेछ । आफूले सोचेको विषयमा पहिले बुँदाहरू टिपोट गर्ने अनि तिनै बुँदाहरूमा आधारित भएर वाक्य बनाउँदा लेख तयार हुँदोरहेछ । हामी भाषण गर्छौं, त्यही भाषणलाई कापीमा उतार्ने र त्यसलाई काँटछाँट गर्ने हो भने लेख तयार हुँदोरहेछ । त्यसैले लेख्ने काम कुनै भारी कुरा होइन रहेछ । बरु यस्ता विषयमा अनेम संघले तालिम र प्रशिक्षणको व्यवस्था गरिहालोस् । भड्काउ क्रियाकलाप गर्ने जति सबै दिदीहरूका बारेमा एउटा पुस्तक नै छाप्नुपर्छजस्तो लागेको छ । यस काममा सामेल हुने साथीहरूलाई यही लेखमार्फत् आग्रह गर्छु । कम्तीमा नेकपाको आगामी महाधिवेशनअघि एउटा पुस्तक तयार होलाजस्तो लागेको छ ।

नेकपा नेतृत्वको ओली सरकारले केही गरेनभन्दा कार्यकर्ता र नेता तथा जनताले सहने छैनन् । यही सरकारले भूकम्प र सुनामीपीडित जनतालाई अढाइ वर्षमा सात लाख घर बनाएर जनतालाई हस्तान्तरण गरेको पाइन्छ । देशलाई विखण्डन गर्ने विचार बोकेका सिके राउतलाई राजनीतिको मूल धारमा यही सरकारले ल्यायो । कम्युनिस्टका नाममा व्यापारी उद्योगपतिलाई तर्साएर र ठटाएर मनमोजी चन्दा असुली गर्ने र जथाभावी बम पडकाउँदै हिँडने विप्लब माओवादीको आतंककारी गतिविधिलाई यही सरकारले ठेगान लगायो । चुनावी घोषणा पत्र अनुसार सरकार काम गरिरहेको देखिन्छ । भारतबाट पाइपबाट नेपालमा पेट्रोल ल्याउँदा वार्षिक रूपमा करोड बढी ढुवानी खर्च जोगिएको अखबारमा पढिन्छ ।

हाम्रा त घरमा नानीबाबुहरूका बीचमा यस्ता विषयहरूको पनि चर्चा हुन्छ । बाहिर बाहिर मुड्की उठाएर र बटारेर ठूलाठूला भाषण गर्ने तर घरका मानिसचाहिँ राजनीतिलगायत विषयमा कुहिराको काग बनाउने नेता र अगुवा कार्यकर्ताका कारण देशमा अन्यौल उत्पन्न भएको छ । तमामखाले भ्रमहरू आआफ्नै घरघरबाट पनि हटाउने प्रयत्न गर्नुपर्छ ।,

अष्ट कमरेड भर्खर उद्घाटन गरिएको पुनः निर्मित भव्य रानीपोखरी हेर्न जानुस्, केही समयपछि हुने भव्य धरहरा उद्घाटन हेर्न जानुहोला अनि तपाईंसित सरकारका कामकाबारे कुरा गरौँला । दिदीका रूपमा तपाईंलाई आदर ग¥यौँ, गर्छौँ र गरौँला तर तपाईंका अनावश्यक गथासा, गुनासा र गनगन सुनेर कोही तपाईंका पछिपछि लाग्नेवाला छैनौँ । हुँदाहुँदा अब महिलाले नै महिलालाई सराप्ने ? राष्ट्रपतिप्रति तपाईंहरूले बोलेको बोली पनि हामी सुन्दैछौँ । अलिकति भए पनि लाज, घिन र सरम राखेर हामीले कुरा गर्नुपर्छ । किनकि हामी आमा हौँ ।

सत्ता र सरकार, गाँस, बास, कपास, शिक्षा स्वास्थ्य र सुरक्षा सरसुविधा जनता र कार्यकर्ताले पाइनन् । अष्ट दिदीले भनेझैँ पार्टीको घोषणा पत्रअनुसार सरकार सक्रिय नभएको होइन । दिदीले, ओली अरू सबै हिसावले प्रभावकारी तर वैचारिक नेता होइन भन्नु सरासर झुट र फरेब हो । उनले सरकारले राम्रा काम गरेन भन्नु अझ ठूलो झुट हो । ओली अस्वस्थ हुँदा पनि उनको खेदोपाइलो गर्ने नेतृले विरामी ओलीलाई आराम गर्न सल्लाह दिनु यही बहानामा अपुताली सोहोर्ने निहुँ मात्र हो, देश र जनताका लागि केही गरौँ भन्ने भावना यसमा एकरत्ति पनि छैन । अन्तर्वार्तामा ओलीको राजीनामा माग्दा माग्दा थाकेर घुमीफिरी रुम्जाटार हुँदा पनि चेतेको देखिएन । त्यसैगरी ओलीका कारण पार्टी सकियो भन्ने अष्टले वरिष्ठ नेता नेपालका पालामा पार्टी आकासमा थियो भन्न खोज्नुभएको हो ।

सरकारका कारण जनमत खस्कियो भन्ने नेतृले तुइन विस्थापित गरिएका ठाउँमा यही कुरा भन्न सक्नुहुन्छ ? आँट छ ?, ओलीमा राम्रो राम्रो काम गर्ने इच्छा नै भएन भन्ने अष्टले अघिल्ला सरकारका कुनै एक, दुई, तीन राम्रा काम भन्न सक्नुहुन्छ ? भए पो भन्नु ? कार्यकारी अध्यक्षले पार्टीको कामका नाममा सिन्को भाँचेको देख्नु भा’छ कमरेड ? ओलीलाई हामीले पनि सहयोग गरेर नवौँ महाधिवेशनमा अध्यक्ष बनाएको भनेको सुन्दा हाँसो उठ्यो । तपाईंको जिल्ला सिन्धुपाल्चोकमा नवौँ महाधिवेशन ताका तपाईं दम्पत्तीसहित शेरबहादुर तामाङकासामु अराजक कार्यकर्ता उक्साएर ओली आज हो कि भोलि भनेको हामीलाई थाहा छ । यो कुरा वनारसमा पढ्दाताकाका जननेता मदन भण्डारीका साथी आचार्य थरिले दुःखका साथ बताउनुभएको मैले सुनेकी छु ।

फेसबुक वालमा आफूलाई राजनीतिज्ञ भन्न खूब रुचाउने रामकुमारी झाँक्री तपार्इं प्रशिक्षित असली चेली रहिछन् । उनी त अझ उदण्ड र अराजक तरिकाले सरकार, प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा काकोहोलो मच्चाउँछिन् । जस्तो गुरु उस्तै चेला अनि जस्ती गुरुआमा उस्तै चेली भनेको सायद यसैले होला ।

(लेखक नेकपा प्रदेश–१ समितिकी सल्लाहकार हुन्)

प्रतिक्रिया