सवा लाखबाहेक अरू किन आएनन् ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारणले गर्दा विदेशमा अलपत्र परेका तथा जागिर छाडेका नेपालीको उद्धार लगभग सकिएको छ । कोरोनाकाल सुरु भएपछि सरकार र विभिन्न निकायले विदेशमा रहेकामध्ये आठ देखि १० लाख नेपाली स्वदेश फर्किने अनुमान गरेका थिए । सुरुमा उद्धारमा ढिलाइ हुँदा सरकारको चर्को आलोचनासमेत भयो । तर, महामारीका कारण १ लाख ३६ हजार नेपाली मात्रै स्वदेश फर्किएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार आइतबारसम्म विभिन्न ६० देशबाट १ लाख ३६ हजार ३ सय ९३ जना स्वदेश फर्किएको जानकारी दिएको छ । ९ सय ३० फ्लाइटबाट यी संख्यामा नेपाली स्वदेश फर्किएका हुन् । जसमध्ये ४ सय ५४ भने नियमित फ्लाइट रहेका थिए । विदेशमा रहेका नेपाली दूतावासले नेपाल फर्कन चाहाने नेपालीको संख्या अब नरहेको जानकारी गराएका छन् । विशेषगरी खाडी मुलुक र मलेसियाबाट ठूलो संख्यामा नेपाली रोजगारी गुमाएर स्वदेश फर्किन सक्ने आशंका गरिएको थियो । तर, यी देशबाट केही सानो संख्यामा मात्रै नेपाली घर फर्किएका छन् ।

सिसिएमसीका अनुसार स्वदेश फर्किने मध्ये खाडी मुलुकबाट आउने नेपाली अत्यधिक रहेका छन् । खाडी मुलुकका ६ वटा देशबाट ९९ हजार १ सय ८७ जना स्वदेश फर्किएका हुन् । खाडी मुलुकमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (युएई) बाट सबैभन्दा धेरै ४० हजार २ सय ३० नेपाली घर फर्किए । कतारबाट २६ हजार ५ सय ९२, साउदी अरबको रियाद र जेद्दाबाट १८ हजार ७ सय ६०, कुवेतबाट १० हजार ४ सय ८२, ओमानबाट १ हजार ७ सय ८४ र बहराइनबाट १ हजार ३ सय ३९ जना नेपाल आएका हुन् ।

खाडी मुलुकपछि बसैभन्दा धेरै मलेसियाबाट १८ हजार ७ सय ८३ जनालाई उद्धार गरी नेपाल ल्याइएको छ । यसैगरी जापानबाट ३ हजार ९ सय ९२, टर्कीबाट ३ हजार ५ सय १९, दक्षिण कोरियाबाट २ हजार ६५, माल्दिभ्सबाट १ हजार १८ र अमेरिकाबाट ६ सय ५ जना नेपाल आएको सिसिएमसीले जनाएको छ । काम गरिरहेका देशमा आर्थिक गतिविधि फेरी सूचारु भएपछि स्वदेश फर्किने नेपालीको संख्या कम भएको सरकारको अनुमान रहेको छ ।

उद्धार उडान रोकेर नियमित उडान सुचारु गर्न सरकारलाई सिसिएमसीको सिफारिस

कतिपय देशले सुरुमा आफ्ना कामदार लैजान नेपालसँग आग्रह गरेको थियो । जसका कारण रोजगारी गुमाउनेको संख्या निक्कै बढी हुने अपेक्षा गरिए पनि कोरोना संक्रमण फैलिन नदिन गरिएको प्रयास सफल भएपछि खाडी क्षेत्रमा आर्थिक गतिविधिहरू सुरु भएका छन् । त्यहाँ लाखौँ नेपाली श्रमिकहरू रहेका छन् । आर्थिक गतिविधि सुरु भएसँगै कामदारलाई कम्पनीले काम दिन थालेपछि नेपाल फर्किनेको संख्या कमी भएको त्यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासको जानकारीपछि आइतबार बसेको सिसिएमसीको बैठकले अब उद्धार उडानको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ । उद्धार उडान भन्दा अब नियमित उडान गर्न नै सरकारलाई सुझाव दिएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले लगभग उद्धार सकिएको जानकारी गराएपछि उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले जानकारी दिए ।

कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सिसिएमसीको निर्णय छ । यसैगरी, सीमानाका हुँदै नेपाल भित्रिने १३ वटा प्रवेश बिन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरू गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ । यसैगरी केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको उनले बताए ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ । यस्तै, कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको गुरागाईंले बताए । सिसिएमसीले निर्णय गरे पनि यो कार्यान्वयन गर्नका लागि मन्त्रिपरिषद्बाट पारित हुनुपर्नेछ ।

प्रतिक्रिया