घटे डोजर, बढे रोजगार

ओखलढुंगाका स्थानीयतहले डोजरको प्रयोग घटाएर स्थानीय युवालाई रोजगारी दिन थालेका छन् । विगतमा विकास निर्माणका सबैजसो काममा डोजरको प्रयोग हुुने गरेको थियो । यस वर्ष डोजर सहितका मेसिनको प्रयोग घटाएर स्थानीय तहले युवाहरूलाई विकास निर्माणको काममा परिचालन गरेका हुन् ।

कोरोनाको कहरका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवालाई अर्थोपार्जनको अवसर दिएर दिगो विकासमा सहभागिता बढाउने नीति लिइएको सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । सडक मर्मत तथा निर्माण र अन्य पूर्वाधार विकासका काममा पनि स्थानीय श्रमशक्तिको अत्यधिक प्रयोग गर्ने र विकल्पका रूपमा मात्र यन्त्र प्रयोग गर्ने गरी काम सुरु भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

‘पहिला गाउँमा काम गर्ने मान्छे थिएनन्, मेसिनको प्रयोग गर्नुको विकल्प थिएन । अहिले युवाहरू गाउँ फर्किएका छन्, उनीहरूलाई रोजगारी दिनुको विकल्प छैन । त्यसैले मानिसले नसक्ने ठाउँमा मात्रै मेसिनको प्रयोग हुन्छ, नत्र सबै काम स्थानीय युवाले गर्नेछन् ।’ अध्यक्ष अधिकारीले विकास दिगो हुने र रोजगारीको अवसर पनि सिर्जना हुने भएकाले पालिकाका सबै ठाउँमा हुने विकासका काम स्थानीय मानिसबाटै गर्न थालिएको स्पष्ट पारे ।

विकासका काम ठेकेदारमार्फत गर्दा दिगो नभएको भन्ने गुनासोसमेत स्थानीय जनशक्ति प्रयोग गर्दा हट्ने अपेक्षा गरिएको उनको भनाइ छ । जिल्लाका सबैजसो स्थानीय तहको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोरोना महामारीबाट प्रभावित तथा दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने वर्गको आयआर्जनमा सहयोग पु¥याउन स्थानीय श्रम शक्तिको परिचालनलाई प्राथमिकतामा दिने उल्लेख गरिएको छ ।

खिजीदेम्बा गाउँपालिकाले विकासनिर्माणका आयोजनामा अत्यावश्यक ठाउँमा मात्रै यन्त्र प्रयोग गर्न थालेको छ । विकासका योजनामा ७० प्रतिशत श्रमशक्ति र ३० प्रतिशत यन्त्र प्रयोग गर्ने अवधारणा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए ।

गाउँपालिकाका वडा तहमा सञ्चालित सडक मर्मत तथा निर्माणका योजनामा स्थानीय श्रमशक्तिलाई नै प्रयोगमा ल्याइएको छ । बिग्रे भत्केका सडक मर्मत तथा यन्त्र आवश्यक नहुने ठाउँको सडक चौडा पार्ने, साधारण मार्ग खोल्नेलगायत काम अहिले गाउँपालिकाका विभिन्न वडामा स्थानीय युवामार्फत नै भइरहेका छन् ।

खिजीदेम्बा–४ खिजीकातीमा सडक स्तरोन्नतिका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट स्थानीय युवालाई परिचालन गरेर सडक सोलिङको काम थालिएको छ । वडाभित्रका बेरोजगार युवाको तथ्यांक संकलन गरी समूहमा विभाजन गरेर विकासका काममा परिचालन गरिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको मोडलमा वडाको बजेटबाट पनि युवालाई रोजगारी दिने र विकासका काममा लगाउने नीतिअनुसार काम भइरहेको छ ।’ वडाध्यक्ष न्यौपानेले भने, ‘गाउँको विकास कसरी कस्तो गर्ने भन्ने पनि चासो र चिन्ता स्थानीयवासीकै रहन्छ । हामी बजेटको व्यवस्थापन गर्छौं । युवाहरू आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने अभियानमा लाग्नुभएको छ ।’ खिजीकातीमा सांसदको स्थानीय पूर्वाधार साझेदार कार्यक्रमबाट गएको बजेट पनि स्थानीय युवामार्फत नै विकासका काममा खर्च गरिएको छ ।

मोलुङ गाउँपालिकाले बेरोजगार युवा र श्रमिकले रोजगारीका लागि दिएको आवेदनका आधारमा युवा परिचालनको नीति लिएको छ । वडावडामा उपभोक्ता समिति बनाएर स्थानीय श्रमिकमार्फत काम गर्न थालिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए ।

‘श्रम शक्तिको प्रयोगले सडक निर्माण तथा मर्मतका काम दिगो हुने र पहिरोको जोखिम कम हुन्छ, यसले दिगो विकासमा टेवा पुग्छ ।’ अध्यक्ष राईले भने, ‘गाउँसभाले पास गरेको नीति र कार्यक्रमभित्र रहेर सकेसम्म बढी मानिसले लाभ लिने हिसाबले काम गरिरहेका छौंँ ।’ स्थानीय श्रमिकमार्फत भएको काम सन्तोषजनक रहेको उनकोे भनाइ छ ।

युवा व्यवस्थापनको विषय चुनावी कार्यसूची बनाएका जनप्रतिनिधिले स्थानीय युवा परिचालनको कामलाई विशेष रूपमा लिएका छन् । यसरी भइरहेको विकासका कामको नियमित अनुगमनसमेत भएको छ । स्थानीय तहमा सडक सामान्य मर्मत तथा अन्य विकासनिर्माणका काममा श्रमशक्तिको उच्चतम प्रयोग हुनु सकारात्मक सुरुआत भएको सरोकार भएकाहरू बताउँछन् ।

यसले रोजगारी सिर्जना गर्न योगदान पुग्ने, स्थानीयवासीको आयस्रोत बढ्ने र जीवनस्तर माथि उठाउन सहयोग पुग्ने सुनकोसी मिलन समाजका अध्यक्ष जालन्धर कार्कीले बताए । ‘युवाहरू अवसरको खोजिमा भौँतारिएर पलायन हुनुपर्ने अवस्था अझै पनि छ । गाउँमै रोजगारी सिर्जना गरेर विकासका काममा युवा परिचालन गर्नु राम्रो सुरुआत हो’, कार्कीले भने, ‘तर यो दीर्घकालीन योजनासहितको हुनुपर्छ, वर्षमा १५ दिन रोजगारी दिएर मात्रै पुग्दैन ।’

कोरोना संक्रमणको जटिलावस्थामा धेरै युवा सहरबाट गाउँ फर्किएको, कतिले रोजगारी गुमाएको र आर्थिक मन्दीले समस्या परेकाले स्थानीय तहको नमुना अनुकरणीय हुने सरोकार भएकाहरू बताउँछन् । विदेशिने तयारीमा रहेका युवा पनि गाउँमै काम पाएपछि विदेशको सपना त्यागेर गाउँको विकासमा जुटेका छन् ।

‘विदेश नगए के गर्ने भन्ने थियो, अहिले गाउँमै सानोतिनो काम मिलिरहेको छ, त्यसैले यतै बस्ने, गाउँमै विकासका काममा जुट्ने भन्नेमा पुगियो’, वाक्साका रविन तामाङले भने, ‘गाउँमा भए कोरोनाको डर नहुने, परिवारबाट टाढा हुनु पनि नपर्ने, त्यसैले विदेशिनुभन्दा घरैमा बसेर गाउँको काम गर्न थालियो ।’ मानेभञ्ज्याङ गाउँपालिकाको वाक्सामा वडाको बजेटबाट सडक मर्मतसहितका काम स्थानीय युवाले नै गरेका छन् ।

विकासनिर्माणका कामबाट रोजगारी सिर्जना गर्ने र कार्यप्रगति अनुगमन गरेर प्रभावकारी बनाउन सके स्थानीय सरकारले नै समृद्धिको लक्ष्य पूरा गर्ने प्रदेश–१ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले भने । ओखलढुंगाका प्रदेशसभास सदस्यसमेत रहेका गुरुङले प्रदेश सरकारबाट आएको लाखौँ रकम बर्सेनि फ्रिज भएर जाने समस्या रहेकाले युवा स्वरोजगारसहितको समृद्धिको खाका बनाएर प्रदेशमा पेस गर्न आग्रह गरेका छन् ।

‘स्थानीय तहले खास योजना बनाएर ल्याउन सकेनन् । वार्षिक करोडौँ विकास बजेट फ्रिज भइरहेको छ । त्यस्तो बजेट युवालाई दिएर काम लगाउने हो भने विकास पनि हुन्थ्यो । युवाले रोजगारी पनि पाउँथे’ राज्यमन्त्री गुरुङले भने, ‘ठूला आयोजनाका काम ठेकेदारमार्फत गर्नुपर्छ तर ठेक्काका काममा पनि सकेसम्म स्थानीय श्रमिकको प्रयोगमा जोड दिनुपर्छ । डोजर चलाई भिरपाखा भत्काएर मात्रै समृद्धिको लक्ष्य पूरा हुँदैन ।

त्यसैले स्थानीय तहले विकासको खाका र युवा व्यवस्थापनको ढाँचा तयार गर्न ढिला गर्नुहुँदैन ।’ तीन वटै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीचको समन्वय कम हुँदा संघीयताको मर्म अनुसार काम हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया