खोजखबर

एक हजार ८७४ खरका छाना विस्थापन गरिने

सौर्य अनलाइन २०७७ कार्तिक १४ गते ८:४९ मा प्रकाशित

पोखरा । जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्यांक संकलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ ।

खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत संकलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम समन्वय सहजीकरण समितिका सदस्यसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । कास्कीको निर्वाचन क्षेत्र नं ३ मा ५४५ आवास संख्या स्वीकृत गरिएको छ । पोखरा महानगरपालिकाका ११ वडामा १८९, माछापुच्छ्रे गाउँपालिकामा १७३ र अन्नपूर्ण गाउँपालिकामा १८३ आवास संख्या स्वीकृत गरिएको छ ।

त्यसैगरी क्षेत्र नं १ मा रुपा गाउँपालिकामा ३७०, मादीमा २०३ तथा पोखरा महानगरका ११ वटा वडामा २३३ गरी ८०६ आवास स्वीकृत गरिएको छ । निर्वाचन क्षेत्र नं २ मा पोखरा महानगरका वडाहरु पर्दछन् । यस क्षेत्रमा ५२३ आवास स्वीकृत गरिएको छ ।

उनका अनुसार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहहरुले वडा कार्यालयमार्फत निवेदन माग गर्ने र वडाहरुबाट संकलितननिवेदन कार्यविधिअनुसार लाभग्राही छनोट गर्न सर्भे गरिनेछ । सर्भे पश्चात स्थानीय तहले लक्षित वर्ग तथा परिवारको सूची तयार गरी लाभग्राही छनोटका लागि संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीमा पठाउने र इकाइले सुरक्षित नागरिक आवास सहजीकरण समितिमा पेश गरी त्यसले अनुमोदन गर्ने कार्यविधिमा उल्लेख छ । संघीय सरकारको शहरी विकास मन्त्रालयले लाभग्राहीको अनुदान रकम सिधै स्थानीय तहमा पठाउने छ ।

प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका सांसद सहजीकरण समितिको अध्यक्ष रहने प्रावधान छ । त्यसैगरी समन्वय समितिका प्रमुख सदस्य, निर्वाचन क्षेत्रभित्रको स्थानीय तहका प्रमुख सदस्य तथा संघीय आयोजना कार्यान्वयन इकाइ प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।

संघीय आयोजनाका प्रमुख झपटबहादुर थापाले सबै स्थानीय तहका वडाहरुमा निवेदन संकलन भइरहेको जानकारी दिए । माग र सर्भेका आधारमा यस वर्ष छुटेका लाभग्राहीलाई अर्को वर्ष अनुदान रकम उपलव्ध गराइने छ । लाभग्राहीलाई अनुदान रकम दुई किस्तामा उपलव्ध गराइने जनाइएको छ । सम्झौता लगत्तै जस्तापाता खरीदका लागि पहिलो किस्ता ३० हजार रुपैयाँ र सम्पन्न भएपश्चात बाँकी रकम दिइने थापाले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय