मजदुरले बुझेको समाजवाद र नेतृत्वको रवैया

यही ३ कात्तिकमा बाराको कोल्हवी जाँदै थिएँ । मेरो वाहक थिए, परिचित कमरेड नारायण थपलिया । उनी पेसाले यातायात मजदुर हुन् । उनी सवारीचालक भएको २०-२२ वर्ष भएछ । १६-१७ वर्षको उमेरमै जनपक्षीय उम्मेदवारको प्रचारमा लागेका हुन् उनी । त्यसै बेलादेखि कम्युनिस्ट पार्टीलाई सहयोग गर्दै आएका छन् आजका दिनसम्म पनि । मलाई पनि तीन-चारपटक मतदान गरे । आज पर्यन्त अन्य कुनै पार्टीको प्रभावमा परेका छैनन् । कार्यक्रम सकेर फर्कंदा उनले आफ्नो पीडा पोखे । मलाई उनको गुनासो, आक्रोश र भावना सुन्ने अवसर मिल्यो । उनले भने, ‘अहिले पार्टीको नाम र कामका बीचमा धेरै फरक पर्न थालेको छ । नेताहरूको काम गराइ र व्यवहार देखेर दिक्क लाग्न थालेको छ, कमरेड यिनीहरूको चालामाला हेरेर त कहिलेकाहीँ रून मन लाग्छ ।’

उनी भन्दै गए, ‘अहिलेको नेतृत्वमा यो मेरो देश हो, यो मेरो जन्मभूमि हो । मैले नेपाल आमाको लागि केही गर्नुछ । यो मेरो गाउँ हो । मेरो उन्नतिको आधार पनि यही समाज हो । म यहीँबाट उठेको हुँ । मलाई बनाउने यहीँका जनता हुन् । यहाँको लागि मैले नै गर्ने हो । मेरो घरपरिवार, इष्टमित्र, आफन्त यहीँ छन् । यहाँको लागि मैले केही गर्नुपर्छ । आखिर जीवन अजम्मरी छैन । मैले देश र जनताको लागि केही गरेर जानुपर्छ । यत्तिसम्म ज्ञान राखेर कतै काम गरेको देखिँदैन ।’

‘गरिबका मान्छे हौँ भन्थे । किसान–मजदुरका साथी हौँ भन्थे । श्रमजीवी जनताको अगुवा हौँ भन्थे । दुःखीहरूका दुःख हेर्छौं भन्थे । शोषित पीडितलाई न्याय दिन्छौँ भन्थे । गरिब दुःखीहरूका पनि सुदिन आउँछन् भन्थे । कहिलेकाहीँ त घैँटाको पिँधमा घाम लाग्छ भनेर सबले विश्वास गरे । नेकपालाई चुनाव जिताएर सरकारमा पुर्याए । सरकारमा पुगिसकेपछि सब हजम हुँदोरहेछ । आजकल त ठूलठूला साहु र मालिकहरूसँग पो अंकमाल गर्दै हिँडेको देखिन्छ । खोई कमरेड अब त कोभिडको औषधि पनि आफैँ गर भन्न थाले ।’ उनले निरन्तर आफ्ना भावना पोख्दै गए म सुन्दै ।

उनले अझै भावुक हुँदै भने, ‘नौलो जनवाद भन्थे, समाजवाद ल्याउने कुरा गर्थे । आमजनतालाई खाना, नाना र छानाको व्यवस्था गर्ने सरकार बनाउछौँ भन्थे । शिक्षा, स्वास्थ्य र सुरक्षाको चिन्ता कसैले गर्नु पर्दैन भन्थे । यति मात्र होइन ज्ञान, विज्ञान र मनोरञ्जनको अधिकारका कुरा गर्थे । देशमा समाजवाद ल्याएर सवैलाई बराबरी पार्ने गफ गर्थे । लौ त भनेर जनताले कम्युनिस्ट पार्टीलाई दुईतिहाइ बहुमत दिएका हुन् । तिनै तहमा कम्युनिस्ट पार्टीकै अत्यधिक बहुमत छ । काम गराइको तरिका हेर्दा अरबका शेखहरूको जत्तिको पनि छैन । कहाँबाट मन थाम्न सकिन्छ कमरेड ।’

उनले कोरोनाको प्रभावतिर पनि कटाक्ष गर्न छोडेनन, ‘आज मुलुकमा कोरोनाको महामारी फैलिएको छ । साराका सारा जनता हाई तोबा भएका छन् । सवका सब अर्थतन्त्र डामाडोल भएको छ । गरिब गुरुवा गुहार माग्दैछन् । जनताको काँध थाप्नुपर्ने सरकार जिम्मेवारीबाट भाग्न खोज्दैछ । के कम्युनिस्ट पार्टीको सरकार यस्तै हुन्छ ?’ उनले आक्रोशित हुँदै भने, ‘यस्तै हो भनै हाम्रो गाउँघरमा के इज्जत हुन्छ ?’ अब फेरि हामी कुन मुखले जनताको बीचमा जाने कमरेड म त निराश भएको छु ।’

सवैको शिरमा खतरा बनेर आएको महामारीसँग जुध्ने प्रभावकारी योजना ल्याउनु पथ्र्यो । सरकार जनताको साथमा रहनुपथ्र्यो । आज सरकार जिम्मेवारीबाट भाग्न खोज्दैछ । कोरोना भाइरससँग लड्न जनताको प्रेरणा र अभिभावक बन्नुपर्ने सरकार असफल सिपाहीले जस्तो देखिँदै छ । अनी जनतालाई खुल्लै भन्दैछ, ‘तिम्रो उपचार तिमी आफैँगर’ । अब भन्नुस् त कमरेड हामी जस्ताले के गर्ने ? हामीले हाँसेर बाँच्ने ठाउँ कहाँ छ ? जीवनभरिको मिहिनेत उसै खेर गएपछि रुनुबाहेक अर्को कुनै उपाय छ ?’ उनले भने ।

कुरा गर्दागर्दै उनले मास्क निकालेर आँसु पुछे र निरन्तर भन्दै गए, म सुनिरहेँ । ‘हामी काम गरेर खाने मान्छे हौँ । काम गर्ने ठाउँ छैन, रोजगारीको अवसर छैन, कम्युनिस्ट पार्टीको सरकार आयो भने सबै समानता आउँछ । हरेकले काम पाउँछन् । काम अनुसारको दाम पाउँछन् । आवास, शिक्षा, स्वास्थ्य सरकारको जिम्मा हुन्छ । सामाजिक सुरक्षाको जिम्मा राज्यले लिन्छ । सबै गरिब जनताको अभिभावक राज्य हुन्छ । जनताको दुःख राज्यले बुझ्छ । कमसेकम इज्जतसाथ बाँच्न पाइन्छ । यस्तो व्यवस्था समाजवाद हो । हामी समाजवाद ल्याएर छोड्छौँ भनेर शपथ खान्थे । त्यसैले हामीले पूरै तन, मन र धन दिएरे पार्टीमा लाग्यौँ ।’

गाउँका सर्वसाधारण मतदाताको चिन्ता यस्तो छ । श्रमिकहरूको प्रतिक्रिया पनि यस्तै आउँछ । आफैँले बनाएको संविधानको मौलिक हक र सरकार आफैंले बनाएको स्वास्थ्यसम्बन्धी कानुनको वारेस लिन सरकार तयार भएन । एक हप्ता अगाडि मात्र स्वयम् सर्वोच्च अदालतबाट निःशुल्क उपचार गर्न भएको आदेशलाई सरकार टेर पुच्छर लाउँदैन । आफूलाई लोकप्रिय र जनवादी भनिरहेको सरकार के सोचेर यस्तो निर्णय गरिरहेको छ । यसले केबल विरोधीहरूलाई खुसी बनाउँछ र जग हसाउने काम मात्र गराइरहेको छ ।

उनकाे आक्रोश अझै थियो, म नतमस्तक भएर सुनिरहेको थिए, ‘यो सरकार सबै काम मनपरी गरिरहेको छ । राजनीतिक नियुक्ति सरुवाबढुवा आफू खुसी गरिरहेको छ । मन्त्रीहरूको नियुक्ति, सरुवा र बढुवाको पत्र पनि आफूखुसी बाँडिरहेको छ । आफ्नाहरूलाई करोडौँ करोड स्वास्थ्य उपचार खर्च बाँड्न डराउँदैन । कोरोना कहरको बीचमा कानुनमा नभएको दसैँखर्च बाँड्ने आँट गर्छ । जनताको अलिकति पनि ख्याल गर्दैन । पार्टीमा कुरा राखौँ भने आफ्नै पार्टी केन्द्रलाई पनि टेर्दैन । सरकार आफ्नै पार्टी, लाखौँ कार्यकर्ता र जनता समेतलाई वास्ता गर्दैन । सबैलाई बेवारिसे बनाएर अघि बढिरहेको छ । जनताको अनिवार्य जिम्मेवारीबाट भाग्न खोजिरहेको छ । यो कुनै पनि हालतमा जनताले बुझेको कम्युनिस्ट चरित्र होइन । कमरेड समयमा सच्याउन लगाउनुहोस्, जहाज डुब्ने दिशामा जाँदै छ ।’

वास्तवमा वर्तमान नेतृत्वले नेपाली कम्युनिस्ट आन्दोलनलाई समस्याग्रस्त बनाउँदै छ । पार्टीलाई नेपाली जनताको दुःख दर्द र पीडाबाट अलगथलग बनाउँदै छ । आमजनताको समस्या र पीडाबाट अलग भएको कम्युनिस्ट पार्टी लामो समय जीवित रहन सक्दैन । संसारमा कम्युनिस्ट पार्टीको औचित्य मजदुर, किसान र आमजनताको समस्यासँग जोडिएर मात्र सावित हुन्छ । जनताको दुःख र पीडासँग जोड्नु पर्दछ । जनताका दुःख–दर्द, पिर–मर्का र चाहनालाई सम्बोधन गरेर अघि बढ्नुपर्छ । यो नै साँचो अर्थमा समाजवादी गन्तव्य हो । नेकपाको चालु नेतृत्व समाजवादी गन्तव्यवाट भाग्न खोजीरहेको छ । यो किञ्चित पनि सही दिशा होइन् । तसर्थ अव पार्टीमा युवा पुस्ता अघि आउनु आवश्यक छ । नयाँ पुस्ताले पार्टी र सरकारको कमान्ड सम्हालेर समाजवाद प्राप्तिको बाटोमा अघि बढ्नुपर्छ ।
(२०७७ कात्तिक ३ गते कोहल्वीबाट फर्कंदाको संवादमा आधारित)

प्रतिक्रिया