मोहन प्रसाद सापकोटा
राजनीतिक संस्कारका कुरा गर्नुहुन्छ भने हामी यो देशमा प्रतिशोध वा डाहको राजनीति गर्दछौँ । हामीले जेजति राजनीति सिक्यौँ त्यसले अरूको विरोध गर्न मात्र सिकाउँदै आएको छ । मन एकोहोरो भइरहेसम्म अनि दिमागमा अरूप्रति द्वेष र घृणा भइरहेसम्म विवेकले काम गर्दै गर्दैन ।
यस्तो तीन किसिमका मानिसमा हुन्छ एक थरी गिदी धितो राख्ने हुन्छन् जो गिदी जोसँग छ उसैको अधिनमा हुन्छन् । अर्काथरी गोप्य र गलत मनसायले विदेशीका बैना लिनेहरू वा तिनको हण्डी खाएर बाँच्नेहरू हुन्छन्, तिनको दिमागलाई बैना दिनेले वा हण्डी खुवाउनेले नियन्त्रण गरिरहेको हुन्छ । तेस्रा थरी मानिस धन–भ्रष्ट हुन्छन्, ती यो चाट पैसा दिन्छु भन्यो भने जे पनि चाट्ने गर्दछन्, तिनमा मानिसमा हुनुपर्ने कुनै पनि गुण बाँकी हुँदैन ।
भविष्यमा कस्तो राजनीति हुन्छ त्यो भन्न सकिन्न । तर अहिले प्रतिस्थापित सबै खाले राजनीतिको जग ‘विरोध गर्नु’ हो ‘केही गर्नु’ होइन । राजनीतिको क ख नै विरोधबाट सिक्यौँ । कहिले राणाको, कहिले पञ्चको, कहिले राजाको, कहिले कांग्रेसको, कहिले कम्युनिस्टको अनि कहिले अरू कसैको विरोध गर्दैगर्दै हाम्रो राजनीतिले विद्यावारिधि गरेको हो ।
अब जेमा विद्यावारिधि गरिएको छ त्यो फू मन्तर गरेर परिवर्तन त हुँदैन । कुनै बेला कसैले केही गर्न खोजे अर्कोले विरोध गर्दछ, अनि गर्न खोज्नेले पनि काम गर्न छाडेर विरोध गर्न थालिहाल्छ । विरोध नसुने वा नगरे हाम्रो राजनीतिलाई खाएकै पच्दैन । यस्तो परिवेशबाट हुर्कंदै आएको राजनीति जनतालाई विरोधका नाममा विरोध गरे भन्दछ ।
आजका मितिसम्म सत्तामा जो जो पुगे वा जो जो बसे तिनले दरबारको घेरामा बसेर हस् हजुर भन्नेबाहेक अरूलाई कहिल्यै जनता ठानेनन् । अप्ठ्यारो पर्दा र भोट चाहिँदा जनताको नाम बेचे, जितेपछि र हारेपछि पनि जनतालाई हेरेनन् । जसले जनतालाई हेरे भनिने गरियो तिनले पनि भोटलाई मात्र हेर्दै आए, आस्थालाई मात्र हेर्दै आए ।
सोचमै विकृति छ, म त्यसो भन्दिनँ । कुनै पदमा वा गर्न सक्ने ठाउँमा पुगेका नयाँनयाँ अनुहारले पटकपटक केही गर्न खोजेको देखिँदै आएको छ । तर, तिनलाई ‘मच्चियो मच्चियो थच्चियो’ बनाइन्छ । व्यक्ति विशेषको नाम लिन चाहन्नँ, तर गर्ने चाहना भएका तर दबाइएका व्यक्ति सबै क्षेत्रमा छन्, हुन्छन् ।
गर्न खोज्नेलाई कतै न कतै केही न केही कुरामा फसाइन्छ र माथि जान दिइन्न । एउटा सोच छ हाम्रो परिवेशमा, त्यसलाई नितान्त व्यक्तिगत स्वार्थले रिमोट बनेर सञ्चालन गर्ने गर्दछ । उसले हरेक क्षेत्रका व्यक्तिमा भएका प्रतिभालाई भुत्ते बनाउन लगानी गर्दछ र भित्री पेसालाई निष्कण्टक सञ्चालन गर्दछ । यसैलाई तस्कर तन्त्र भनिन्छ ।
मैले त्यस्ता धेरै मान्छे देखेको छु जो पञ्चायतकालदेखि आजका मितिसम्म हरेक व्यवस्थामा हरेक दलका नेताका प्रिय बन्न खप्पिस हुन्छन् । कतै हुने नियुक्तिमा यही नै पहिलो योग्यता परीक्षा हुने गर्दछ । उसले नियुक्ति दिने व्यक्ति र दललाई कति रिझाउँदछ त्यसैमा उसको पदको आयु गाँसिएको हुन्छ । केही व्यक्ति अपवादमा पर्दछन् ।
जब विद्वत्तासमेत राजनीतिक कित्ताकाटमा विभाजित हुन्छ तब त्यो कसरी विद्वत्ता हुन्छ र ? म इञ्जिनियर मात्र हुन्छु वा डाक्टर मात्र हुन्छु भनेर यहाँ बाँच्नै नसकिने बनाइयो । कि कांग्रेसी त कि बामपन्थी वा अरू कुनै उपाधि सहितको डाक्टर वा इञ्जिनियर हुनुपर्ने बनाइयो । यस्तो अवस्थामा पेसागत मर्यादा खोजेर पाइन्छ र ?घरी यसो गर्न पाइन्छ त घरी यसो गर्न पाइन्न भनिन्छ, तर आफूले के सिकेँ र के सिकाएँ भन्नेतिर हामी हेक्का गर्दैनौँ ।
शिक्षकले राजनीति गर्न पाइन्न, कर्मचारीले राजनीति गर्न पाइन्न भन्दछौँ, कुरा सही हो पनि । तर, तिनैले राजनीति गरिदिएका हुनाले हामी अहिलेको औकातमा आइपुगेका छौँ भन्ने कुरा भुलीदिन्छौँ । मैले गर्दा हुन्छ तर तैंलेचाहिँँ गर्न हुन्न भनेर देश सुध्रँदैन । नाक आस्थाअनुसार फरकफरक गुणस्तरको हुँदैन ।
मलाई गनाएको कुरा अरूलाई पनि गनाउँदछ,, गनाउनु पर्दछ । यसैगरी अरूलाई गनाएको कुरा मलाई पनि गनाउनु पर्दछ, पर्दैन र ? समग्रमा भन्नुपर्दा यहाँ भएका परिवर्तन र यहाँ गरिने राजनीति सबै अदृश्य शक्तिको प्रोग्रामिङअनुसार चलिरहेका छन् । जबसम्म जनता स्वतन्त्र हुन सिक्दैनन् यो क्रम निरन्तर चलिरहनेछ ।
राजनीतिक संस्कारका कुरा गर्नुहुन्छ भने हामी यो देशमा प्रतिशोध वा डाहको राजनीति गर्दछौँ । हामीले जेजति राजनीति सिक्यौँ त्यसले अरूको विरोध गर्न मात्र सिकाउँदै आएको छ । मन एकोहोरो भइरहेसम्म अनि दिमागमा अरूप्रति द्वेष र घृणा भइरहेसम्म विवेकले काम गर्दै गर्दैन ।
यस्तो तीन किसिमका मानिसमा हुन्छ एक थरी गिदी धितो राख्ने हुन्छन् जो गिदी जोसँग छ उसैको अधिनमा हुन्छन् । अर्काथरी गोप्य र गलत मनसायले विदेशीका बैना लिनेहरू वा तिनको हण्डी खाएर बाँच्नेहरू हुन्छन्, तिनको दिमागलाई बैना दिनेले वा हण्डी खुवाउनेले नियन्त्रण गरिरहेको हुन्छ ।
तेस्रा थरी मानिस धन–भ्रष्ट हुन्छन्, ती यो चाट पैसा दिन्छु भन्यो भने जे पनि चाट्ने गर्दछन्, तिनमा मानिसमा हुनुपर्ने कुनै पनि गुण बाँकी हुँदैन । राजनीतिक कुर्सी मोह र डाह अचम्मको रोग हो । राजनीति व्यवसाय बनिरहेछ, लगानी गर्नै पर्ने र गरेपछि उठाउनै पर्ने । जहाँबाट सापट लिइएको भए पनि यस्तो कार्यलाई राजनीति भनिँदैन । हाम्रो राजनीति पूर्णरूपमा व्यवसायमा परिणत भएको छ ।
मेरो देशमा तीन करोड जनता छन् भनिन्छ । तर, यहाँ देवता करोडौँ, मन्दिर हजारौँ, धर्म र उसका बच्चा सैयौँ, तीन लाखभन्दा बढी नेता, नेताका सल्लाहकार ३० लाख, विदेश भास्सिन बाध्य हुने ५० लाख र विदेशीका दलाल ५० हजारको हाराहारीमा छन् । जब राजनीति पेसा हुन्छ तब आस्था, सिद्धान्त आदि सबै पोलेर खाइन्छन् ।
जब कुनै नेता कुनै विवादमा मुछिन्छ तब उसलाई प्रश्न गर्नुको साटो हामी सम्मान गर्न आतुर हुन्छौँ किन कि ऊमार्फत हामीले पनि कुनै न कुनै लाभ लिएका हुन्छौँ, व्यवसाय चलाएका हुन्छौँ । उदाहरण दिन मन छैन किन कि राजनीतिलाई पेसा बनाउनेहरूकै बोलवाला छ, बाहुल्यता छ । कुनै पनि तन्त्रमा दोष थिएन र छैन । दोष प्रवृत्ति र सोचमा छ, शिक्षा र लिने गरिएको बैनामा अनि खाने गरिएको हण्डीमा छ ।
हात्तीको देखाउने दाँत र चपाउने दाँत बेग्लै भएजस्तै हुने गरेका छन् यहाँ विकास निर्माणका कुरा । पैत्रिक सम्पत्ति धितो राखेर एक करोड सापट लिइन्छ, गर्ने भनिएको उद्योगमा २५ लाख लगानी गरिन्छ, परिवारलाई एक-एक लाख बाँडिन्छ र पनि परिवारका सबै सदस्य खुसीले नाचिरहेका हुन्छन् । यस्तो गएगुज्रेको यहाँको राजनीति कहिल्यै सुध्रँदैन ।
जानी जानी नराम्रो हुन्छ, गरिन्छ र भनिन्छ फलानाले पनि गरेको थियो नि ! आफ्नो कुकृत्य जोगाउन देशभित्र उदाहरण नपाए विदेशी उदाहरण खोजिन्छ । जस्तै : नारी बलात्कारमा अरू देशका दाँजोमा हामी कम पीडित छौँ रे ! त्यसैले, जसले जहिले जे सक्छ त्यो भाँच, जे सकिन्छ त्यो भत्काउ, जे भेटिन्छ त्यो बेच, गर्न हुने नहुने जे सकिन्छ त्यो गर, नाम र दाम कमाउ, सबै राजनीतिक पेसाकर्मी र तिनको पुरा खानेहरूलाई मेरो सदा शुभकामना छ । एउटा शिक्षित तर अन्धभक्त नागरिक भएका नाताले राम्राराम्रा कुरा सुन्न पाइरहेको छु, मलाई पनि बधाइ छ ।
प्रतिक्रिया