चितवनबाट नक्कली नोटसहित एक पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रहेका छन् ।

नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्दा लोप्चनको साथबाट रु एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको थियो । उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु एक हजार र बर्तौला किराना पसलमा तिरेको रु ६ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ ।

बाँकी रकम घरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार उनको घरबाट रु तीन लाख दुई हजार बरामद गरिएको थियो ।

लोप्चनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसूरमा समय थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यस कसूरमा १० वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । नक्कली नोट कारोबारमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी प्रमुख गुरुङले जानकारी दिए ।

प्रतिक्रिया