गोदावरीले निःशुल्क स्वाब परीक्षण गर्ने

ललितपुर । गोदावरी नगरपालिकाले निःशुल्क स्वाब परीक्षण गर्ने भएको छ । गोदावरीले बुधबार एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका नगरवासीको कन्ट्याक्ट टे«सिङ गर्दा सम्पर्कमा आएका व्यक्तिलगायत परिवारको निःशुल्क पिसीआर परीक्षण गर्ने जनाएको छ ।

कोभिडले नगरवासीमा पर्ने जोखिम न्यूनीकरणका लागि सो व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, ‘हामीले आजबाट कोरोनाको लक्षण देखिएका नगरवासीको हितमा नगरपालिकाको विपद् व्यवस्थापन कोषमा रहेको रकम खर्च गर्ने भएका छौँ, वडा नं ६ टीकाभैरवस्थित आनन्दवन अस्पतालमा लगेर यी व्यक्तिको निःशुल्क स्वाब परीक्षण गराउने व्यवस्था गरिसक्यौँ ।’

यसैगरी गोदावरीले वडा नं ४ बडिखेलस्थित कोरियन होटलमा महिनाको रु दुई लाख ५० हजार तिरेर कोरोना संक्रमितलाई राख्ने व्यवस्था गरिसकेको छ । नगरपालिकाले पहिलो चरणमा तीन महिनाका लागि भदौदेखि यही कात्तिकसम्म सो होटल भाडामा लिएको थियो । अहिले पनि त्यहाँ ६ जना कोरोना संक्रमितलाई राखेर सेवा दिइरहेको नगरप्रमुख महर्जनले जानकारी दिए ।

उनका अनुसार यसअघि होटल आइसोलेसनमा राखिएको १७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेको छ । घरमा आइसोलेसन बस्न उपयुक्त वातावरण तथा कोठालगायत शौचालय नभएका कोरोना संक्रमितलाई नगरपालिकाले होटल आइसोलेसनमा राखेर उपचार गर्दै आएको छ ।

साथै नगरपालिकाले प्रत्येक संक्रमितलाई दैनिक रु एक हजारको खाना र खाजाको व्यवस्था समेत गर्दै आएको नगरप्रमुख महर्जनको भनाइ छ । ‘यस होटलमा ५० शय्याको सुविधा छ’, उनले भने, ‘नगरपालिकाभित्रका कोरोना सङ्क्रमितलाई राख्न यो होटल भाडामा लिएर सहयोग गरिरहेका छौँ ।’

गोदावरीमा मङ्गलबारसम्म कोरोना संक्रमित सङ्ख्या ४६८ पुगेको छ । तीमध्ये उपचार पछि निको भएर घर फर्किनेको सङ्ख्या २२७ जना रहेको छ । सक्रिय संक्रमितको सङ्ख्या भने २३४ रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट सात जनाको मृत्यु भइसकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया