विश्व

भारतमा दैनिक कोरोना संक्रमितको संख्या घट्दो

सौर्य अनलाइन २०७७ कार्तिक ५ गते १७:०५ मा प्रकाशित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको छ । कोरोना भाइरसको महामारी सुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक संख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो ।

दैनिक झण्डै एक लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्यांक देखिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् ।

सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या ७६ लाख ५१ हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमित मध्ये सात लाख ४० हजार ९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि तथ्यांकमा देखिएको छ ।भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस संक्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो ।

संक्रमित भएर पनि निको भइसकेकाहरुको कुल संख्या ६७ लाख ९५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको संख्या एक लाख १५ हजार ९१४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार ७५५ जना संक्रमित अवस्थामै रहेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय