मत-विमत

साझा पर्व दसैँ र तिहार

हरि लम्साल २०७७ कार्तिक ५ गते १२:०१ मा प्रकाशित

               हरि लम्साल

जीवनकालमा असाधारण चमत्कार गरेर मानव समाजलाई अनुगृहित गराउने र दिग्दर्शन गर्ने महान् आत्माहरूलाई भगवान्को दर्जा मिल्छ । उनीहरूमा अतिमानुशिक शक्ति रहने भएको हुनाले त्यो क्षमता लोककल्याणमा लगाउँछन् । हिन्दू धर्मका शिव, विष्णु, राम, कृष्ण, परशुराम, बुद्ध धर्मका शाक्यमुनि सिद्धार्थ गौतम, महावीर जैन, मुस्लिम धर्मका मोहम्मद र क्रिस्चियन धर्मका यसु क्रिस्ट आदि यो कोटीमा पर्दछन् ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैँ र कात्तिक कृष्ण त्रयोदशीदेखि द्वितीयासम्म पाँच दिनको चाडपर्व तिहारलाई विभिन्न आख्यान आस्थाअनुरूप मनाइएता पनि विशुद्ध नेपाली परम्पराका चाडपर्व मानिन्छ । विशेषतः दसैँ वर्षमा चारपल्ट मनाइन्छ, चैतशुक्ल प्रतिपदादेखि रामनवमीसम्म चैतेदसैँ, माघशुक्ल प्रतिपदादेखि दशमीसम्म माघेदसैँ, आषाढ शुक्ल प्रतिपदादेखि दशमीसम्म हिलेदसैँ र आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म बडादसैँ ।

तर, मनाउने क्रममा बडादसैँ विशेष चर्चितढंगले मनाइन्छ । वेद मान्नेलाई वैदिक भनिन्छ, तर दसैँ–तिहार वैदिक, बौद्धले मात्र मनाउने एकल पर्व नभई नेपाली हावापानी सुहाउँदो विशुद्ध नेपाली परम्पराको चाडपर्व हो । हामी नेपालीले अनुभूति गर्न सक्छौँ, चैत, वैशाख र जेठमा हावाहुरीले दुःख दिने, असार, साउन र भदौमा बाढीपहिरो र वर्षात्ले सताउने, मंसिर, पुुस र माघमा जाडोले कठ्यांग्रिने नेपाली हावापानीको स्वभाव हो ।

यसप्रकार अनेक उपद्रवबाट बच्दै ठूलो रोगव्याधी, दुःखबाट पार पाएको खुसीयालीमा आश्विन–कात्तिकको ऋतुराज शरद् ऋतुमा नेपालीले आआफ्नो महान चाड दसैँ र तिहार मनाउन थालिएको हो । हावापानी सुहाउँदो चाडपर्व जसले जुनसुकै नामका रूपमा मनाउन सकिने नेपाली परम्पराको चाडपर्व दसैँ अनि तिहार हो भन्न सकिन्छ ।

काठमाडौं उपत्यकावासी बौद्ध धर्मावलम्बी नेवारहरू दसैँलाई मोहनी र तिहारलाई स्वन्ती पर्वका रूपमा मान्छन् । दसैँको पहिलो दिन घटस्थापना (नलास्वनेगु) का दिन देवताको कोठामा नदीको पवित्र बालुवा ल्याई चोखो गरी विधिपूर्वक जौँ, तिल, मकै, गहुँको जमरा राखिन्छ । हनुमानढोका र टोलटोलका तलेजु घरमा जमरा राखी बाँड्ने परम्परा छ ।

घटस्थापनाको भोलिपल्टदेखि नवरथा घुम्न जाने गरिन्छ । जसअनुसार काठमाडौंमा भद्रकाली (लुमडी), संकटा, महाँकाल, शोभा भगवती, इन्द्रायणी (लुतिमरू अजिमा), नक्साल भगवती, मैतिदेवी, कालिकास्थान, टुँडालदेवी (तोर्णे अजिमा), दक्षिणकाली लगायतका शक्तिपीठमा दर्शनार्थी पुग्ने गर्दछन् ।

त्यस्तै, पाटनमा–१० महाविद्या (भैरवी, सिद्धिलक्ष्मी–पूर्णचण्डी, मातंगी, तारा–खड्गयोगिनी, बंगलामुखी, त्रिपुरासुन्दरी, काली, भुवनेश्वरी, धुमावती र छिन्नमस्ता) पूजिन्छ भने भक्तपुरमा नवदुर्गा (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धदात्री) लाई विशेष सम्मानका साथ पूज्ने र पञ्चवली (हाँस, कुखुरा, भेडा, बोका र राँगा) दिने गरिन्छ । जीवित देवी कुमारीलाई मूल मानी मातृशक्तिको सम्मान र पृथ्वी माता, घरको मूलढोकामा पूज्ने चलन दसैँमा हुन्छ ।

नवरथाको सातौँ दिनमा वा सप्तमीका दिन गोर्खा दरबारबाट मगर समुदायलाई बोकाई हनुमानढोकाभित्र नवपत्रिका (केरा, कल्चु, हलेदो, वैजयन्ती, बेल, दारिम, अनार, अशोक, मानापिँडालुको बोट, पात र धानको बाला) डोलीमा बोकेर फूलपाती भित्र्याउने र टुँडिखेलमा राष्ट्र प्रमुखको उपस्थितिमा फूलपाती बढाइँ गरिन्छ । यसलाई मगर र नेवार, खस ब्राह्मण समुदायबीचको सुमधुर सम्बन्धका रूपमा लिइन्छ ।

आश्विन शुक्ल अष्टमीका दिन मूल दसैँ नुहाइधुवाई गरेर शुद्ध चोखो भई समयबजी (समय, चिउरा, कालो भटमास, छोयला, गोजा) आदि राखेर पेखालुखा (घरको मूल ढोकाअगाडिको पृथ्वी), गणेश (गणशक्ति) र पञ्चबुद्ध पूजा गर्ने गरिन्छ । थप पूजा गरी साँझ नेवार समुदायमा कुछिभोय भनी केराको पातमा कुछी (दुई माना चिउरा) नौ थरी घाँसा (राँगाको मासु, बोडी, साग, आलु, तरकारी, अचार आदि) राखी भोज खाइन्छ ।

दुई माना कुछी भोज खान नसक्नेहरूले मानाभित्र कागज कोचेर पनि भागमा दुई माना पु¥याउँछन् । त्यसैगरी, महानवमीलाई कौलाथ्व नवमी, (आश्विन शुक्ल नवमी) लाई दसैँको मूल कालरात्रि भनी महालक्ष्मी, महासरस्वती, महाकालीको पूजा गरिन्छ । अन्न, धन, शास्त्र (अर्थ, ज्ञान र शक्ति) सधैँ स्थिर रहोस् भन्ने उद्देश्यका साथ देवीलाई कुखुरा, हाँस, बोका, राँगा, च्याङ्ग्रा आदिको बलि दिइन्छ ।

पूजास्थलमा संस्कारअनुरूप बजु, घण्टा, ताला, पुस्तक, अन्न, कुटो-कोदालो, हातहतियार स्थापना गरी नेवारहरूमा यस दिन माकः चामा मोहनी (कालो टीका) थाप्ने गरिन्छ । यस दिन कारखाना, पसल, मेसिन, सवारी साधनलाई समेत पूजा गरिन्छ । काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर भक्तजनका लागि खुल्ला गरिन्छ । आश्विन शुक्ल दशमी (कौलाथ्य दशमी) का दिन बिहान नित्यपूजा चोखोनितोगरी घटस्थापनाका दिन राखिएको जमरा घरको मूल महिलाले पूजा गरी निकाल्छन् ।

यसदिन आगमबाट रातो बस्त्र लगाई कुमारी, पहेँलो बस्त्र लगाई वसुन्धरा, सुन्तला रंगका लुगा लगाई अजिमाँ र नीलो लुगा लगाई भैरवको पायो पनि निकालिन्छ । असनमा भने एकादशीका दिन पायो निकालिन्छ । विजया दशमीका दिनदेखि मान्यजनका हातबाट टीका थाप्न जाने परम्परा आश्विन पूर्णिमासम्म कायम रहन्छ । पारिवारिक सम्बन्ध सुमधुर बनाउने दसैँलाई मातृशक्तिको उपासना र उन्मुक्तिका दिनका रूपमा लिइन्छ ।

दशमीको भोलिपल्ट मरु गणेशलाई देवता घरमा राखी खट्जात्रा गरिन्छ । आश्विन शुक्ल चतुर्दशीका दिन काठमाडौंको श्रीघः मा दीपावली हुन्छ भने कोजाग्रत पूर्णिमाको साँझ कौशी, बुइँगलमा मत्र्यमण्डलमा घुम्न आउने महालक्ष्मीको पूजा हुन्छ । बाँसको टुप्पामा आकाशदीप झुण्ड्याएर बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ ।

तराई र भारतको बिहारमा विजयादशमी माटोको कलात्मक १० हाते महिषमर्दिनीको मूर्ति बनाई ठूलो हर्षोल्लासपूर्वक पूजा गरी मनाइन्छ । दशमीको भोलिपल्ट सिन्दूरजात्राका साथ नदी, तलाउ, पोखरीमा पु¥याई सेलाइन्छ । संसार अनित्य छ, त्यसैले सुन्दर सिर्जनाहरू यसरी नै अन्त्य हुन्छ भन्ने सन्देश प्रवाह गर्न कलात्मक मूर्ति नदीमा सेलाउने परम्परा बसेको बताइन्छ । सबै धर्म–संस्कृतिमा ईश्वरलाई चराचर जगतको सृष्टिकर्ता मानिन्छ ।

क्रिश्चियन धर्मका ‘गड’, मुस्लिमहरूको ‘अल्लाह’ र हिन्दू धर्मका ‘ईश्वर’ एउटै कोटीका सम्बोधनहरू हुन् । चराचर जगत्को सिर्जना, सञ्चालन र नियन्त्रण गर्ने परमेश्वर परमात्मा निराकार, सर्वव्यापक र सर्वशक्तिमान् रहन्छन् भन्ने धार्मिक मान्यता रहन्छ । परमेश्वर, अल्लाह वा गड भनेर मानिने ईश्वर जन्म–मृत्युबाट मुक्त हुन्छन् । अर्थात्, ईश्वर भनेको अजन्मा र नित्य हुन्छन् । त्यो जन्मने मर्ने गर्दैन । त्यसको कुनै निश्चित रूप अनि आकृति पनि हुँदैन ।

त्यही अविनाशी र सर्वव्यापी तत्वलाई परमात्मा–परमेश्वर भनेर धर्मग्रन्थहरूले परिभाषित गरेका हुन् । भगवान् दोस्रो कोटीमा गनिन्छन् । अंग्रेजी भाषामा भगवान्लाई गड भनिँदैन, लर्ड भनिन्छ । भगवान्हरूको निश्चित आकृति हुन्छ । तिनीहरूको जन्म अनि मृत्यु पनि हुन्छ । जीवनकालमा असाधारण चमत्कार गरेर मानव समाजलाई अनुगृहित गराउने र दिग्दर्शन गर्ने महान् आत्माहरूलाई भगवान्को दर्जा मिल्छ ।

उनीहरूमा अतिमानुशिक शक्ति रहने भएको हुनाले त्यो क्षमता लोककल्याणमा लगाउँछन् । हिन्दू धर्मका शिव, विष्णु, राम, कृष्ण, परशुराम, बुद्ध धर्मका शाक्यमुनि सिद्धार्थ गौतम, महाविर जैन, मुस्लिम धर्मका मोहम्मद र क्रिस्चियन धर्मका यसु क्रिस्ट आदि यो कोटीमा पर्दछन् । हिन्दू धर्ममा यो कोटीमा भगवती, दुर्गा, गौरी आदि महिलाहरू पनि सामेल छन् । तेस्रो श्रेणीमा देवी÷देवताहरू पर्दछन् ।

अंग्रेजी भाषामा देवी-देवतालाई ‘डाइटिज’ भनिन्छ । हिन्दू धर्ममा त देवी-देवताहरूको संख्या तेत्तिसकोटी छ भनेर मानिन्छ । आज पनि असल चरित्र र भलाद्मी स्वभावको मानिसलाई समाजले ‘देवता’ भनेर आदरसम्मान गर्छ, प्रशंसा गर्छ । हरेक कालखण्डमा त्यस्ता असल मानिसहरू जन्मदै रहन्छन् । त्यसैले दसैँ र तिहार विशुद्ध नेपाली परम्पराको चाडपर्व मान्ने गरिन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय