मत-विमत

अग्निपरीक्षामा पास होलान् त निधि ?

अञ्जु कार्की २०७७ कार्तिक ४ गते १४:५० मा प्रकाशित

अञ्जु कार्की

सभापतिका रूपमा पाँच वर्षे कार्यकाल देउवाले खेर फालेको निष्कर्षमा संस्थापन पक्षकै अधिकांश नेता तथा कार्यकर्ता पुगेका छन् । यसको लाभ निधिले उठाउन सक्ने अवस्था छ । मुलुकको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओट्ने तराईबाट निधिले प्रतिनिधित्व गर्छन् । त्यसकारण पनि देउवाले भन्दा निधिले बढी मत प्राप्त गर्ने संभावना छ ।

प्रसंग नेपाली कांग्रेसको १३औँ महाधिवेशनको पूर्वसन्ध्याको हो । को को उम्मेद्वार होलान ? कस्तो परिणाम आउला ? भन्ने सन्दर्भमा कफी गफ हुँदै गर्दा तत्कालीन संस्थापन पक्षका एक नेताले भने, ‘पार्टीभित्र हाम्रो पक्षको पकड ६० प्रतिशत हो, देउवा पक्षको पकड ४० प्रतिशत हो, तर कसले सभापति जित्छ यसै भन्न सकिने अवस्था रहेन ।’

६० प्रतिशत पकड हुने पक्षले स्वतः जित्दैन र ? भन्ने थप जिज्ञासामा उनले भने, ‘देउवा पक्षमा एक मात्रै ‘अल्लाह’ छन्, हाम्रो पक्षमा ‘३३ कोटी देवीदेवता छन् । सानो भए पनि संगठित शक्ति बलियो हुन्छ, जतिसुकै ठूलो भए पनि असंगठित शक्ति कमजोर हुन्छ ।’ नभन्दै परिणाम त्यस्तै आयो ।

शेरबहादुर देउवालाई सभापति पदमा चुनाव जिताउने प्रयोजनका लागि विमलेन्द्र निधि महामन्त्रीको उम्मेद्वार बन्नबाट आफू मात्रै पछि हटेनन्, तत्कालीन संस्थापन पक्षका अर्जुननरसिंह केसीलाई आफ्नो प्यानलमा तानेर महामन्त्रीको उम्मेद्वार बनाए । जसका कारण संस्थापन पक्ष ६० बाट घटेर ५५ मा झ¥यो, देउवा पक्ष ४० बाट ४५ मा उक्लियो ।

संस्थापन पक्षबाट सभापतिको उम्मेद्वार को हुने भन्ने टुंगो मनोनयनपत्र दाखिला हुनेभन्दा दुई दिनअघिसम्म लाग्न सकेन । प्रकाशमान सिंह र सुजाता कोइरालाले अघिल्लो दिन मात्रै दावी छाडे भने, कृष्णप्रसाद सिटौलाले तीन जनाको प्यानल बनाएर सभापति पदमा उम्मेदवारी दिए ।

यता महामन्त्रीको उम्मेदवार बन्न नपाएको झोकमा संस्थापन पक्षका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफूलाई मात्रै मत मागे । करिब ५५ प्रतिशत भोट ल्याएर देउवाले चुनाव जिते । पार्टीभित्र ४० प्रतिशत हैसियत भएको नेताले ५५ प्रतिशत मत ल्याएर सभापति पदमा चुनाव जित्नुको मुख्य कारण भनेकै संगठित शक्ति तथा एकमना निर्णय गर्ने हैसियत हो । अब निकट भविष्यमै नेपाली कांग्रेसको १४औँ महाधिवेशन हुँदै छ ।

१४औँ महाधिवेशनमा कसले बाजी मार्ला ? भन्ने प्रश्न यतिबेला निकै चर्चामा छ । संस्थापन इतरपक्षमा ३३ कोटी देवीदेवताहरूको सक्रिय भूमिका अहिले पनि छ । सभापति पदका आधा दर्जन दावेदार इतरपक्षमा छन् । सभापति पदमा को उम्मेद्वार भन्ने मुद्दामै इतरपक्षभित्र ठूलो द्वन्द्व छ । संस्थापन पक्ष भने अझै संगठित छ ।

यो अवस्था उम्मेद्वारी मनोनयनका दिनसम्म कायम रह्यो भने कस्तो परिणाम आउला ? भन्ने प्रश्नको उत्तर खोज्न दिमाग खियाइरहनु पर्दैन । तर संस्थापन पक्षभित्र हिजो जसरी देउवा अल्लाहको भूमिकामा थिए, आज त्यो अवस्था छैन । उपसभापति विमलेन्द्र निधिले देउवालाई भनिसकेका छन्, ‘हाम्रो पक्षबाट १४औँ महाधिवेशनमा सभापतिको उम्मेद्वार तपाईं होइन म हो ।’

तर निधिलाई छाड्न देउवा अहिलेसम्म तयार देखिएका छैनन्, फेरी सभापति बन्ने धोको देउवाको छ । आपूmले कुनै पनि हालतमा चुनाव नजित्ने अवस्था आयो भने मात्रै देउवा पछि हट्छन् । यता निधि भने पछि हट्ने संभावना छैन । पहिलो कुरा त देउवा उम्मेद्वार भएनन् भने निधिको चुनाव जित्ने संभावना बढ्छ । दोस्रो कुरा चुनाव हार्दा पनि निधिलाई खासै फरक पर्दैन । निधिलाई सभापति पदमा उम्मेद्वार नहुँदा जति क्षति हुन्छ त्यति क्षति चुनाव हार्दा पनि हुँदैन ।

सभापति पदमा उम्मेद्वार नहुँदा निधिले पाउने मौका भनेको देउवाको टिमबाट उपसभापतिको उम्मेद्वार बन्ने हो । देउवाको टिमबाट उपसभापतिको उम्मेद्वार बन्दा पहिलो कुरा त निधिले चुनाव जित्ने संभावना छैन, दोस्रो कुरा जितिहालेछन् भने पनि राजनीतिक उचाइ बढ्ने होइन । उनी त महामन्त्री र उपसभापति भइसकेका नेता हुन् । उपप्रधानमन्त्रीसमेत भइसकेका नेता हुन् ।

अब प्रधानमन्त्रीबाहेक अर्को पद निधिका लागि छैन । प्रधानमन्त्री बन्नका लागि पार्टी सभापति हुनै पर्छ । उपसभापतिले प्रधानमन्त्री बन्ने मौका पाउने संभावना नै रहन्न । देउवा टिमबाट उपसभापतिको उम्मेदवार बने भने निधिले किन र कसरी चुनाव हार्छन् ? भन्ने प्रश्नको उत्तर खोज्न टाढा जानु पर्दैन । १२औँ महाधिवेशनमा निधिले महामन्त्री पदमा किन र कसरी चुनाव हारे ? १३औँ महाधिवेशनमा अर्जुननरसिंह केसीले किन र कसरी चुनाव हारे ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने सबै कुरा प्रष्ट हुन्छ ।

१२औँ महाधिवेशनमा सभापति देउवालाई भोट हाल्ने मध्ये दुईतिहाइले मात्रै निधिलाई भोट हाले । देउवाले पाएको सबै भोट आपूmले प्राप्त गरेको भए निधिले महामन्त्री पदमा चुनाव जित्ने थिए । १३औँ महाधिवेशनका बेला अर्जुननरसिंह केसीलाई पनि ठ्याक्कै त्यस्तै भयो । देउवाले १६ सय भोट पाउँदै गर्दा त्यही प्यानलका केसीले एक हजार भोट पाए । यस्तो किन भयो ? भन्ने प्रश्नको उत्तर हो, ‘रणनीतिक दाउपेच ।’

यदी निधि १२औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित नभएको भए १३औँ महाधिवेशनमा देउवाका लागि सभापतिको उम्मेद्वार बन्ने बाटो अवरुद्ध हुन पनि सक्थ्यो, सभापतिको उम्मेद्वारका लागि निधिको समेत व्यक्तित्व बनिसक्थ्यो । आफ्नो समूहभित्र अल्लाहको भूमिका निर्वाह गर्ने अवसर सभापति देउवाले पाउने थिएनन् । त्यसैकारण रणनीतिक चातुर्यता प्रयोग गर्दै देउवाले आफ्ना अति विश्वास पात्रको भोट निधिलाई दिलाएनन् ।

१३औँ महाधिवेशनमा अर्जुननरसिंह केसी पनि यही घानमा परे । यदि केसीले महामन्त्री जितेको भए देउवाले पार्टीभित्र एकल निर्णय गर्ने हैसियत गुमाउँथे । व्यक्तित्वका कारण पनि केसी देउवामाथि हावी हुन्थे । १४औँ महाधिवेशनमा त केसीले देउवाका लागि छाड्ने कुरै थिएन । आफ्ना लागि केसीभन्दा डा. शशांक कोइराला नै ‘बेटर’ हुन् भन्ने कुरा देउवाले बुझेका थिए । त्यहीअनुसार देउवाले गेम अघि बढाए ।

१२ र १३औँ महाधिवेशनमा देउवाद्वारा प्रयोग गरिएको रणनीति उपसभापतिको उम्मेद्वार बने भने निधिमाथि फेरी पनि प्रयोग हुन्छ । किनकी १४औँ महाधिवेशनमा पनि सभापति हुने तिर्खा देउवालाई यसै जागेको होइन । १५औँ महाधिवेशनमा पत्नी आरजुलाई सभापति बनाउने रणनीतिअन्तर्गत देउवाको यो तिर्खा जागेको हो । त्यसैले आफ्नो टिमका उपसभापति तथा महामन्त्रीका उम्मेद्वारलाई कुनै पनि हालतमा जित्न नदिनु देउवाको मुख्य रणनीति हुनेछ ।

देउवाले उम्मेद्वारी छाडेनन् भने र इतरपक्ष एक ढिक्का भयो भने निधि र देउवाबीच दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सभापति पदमा कसैको पनि बहुमत कट्दैन । १३औँ महाधिवेशनमा जस्तै पहिलो र दोस्रो उम्मेदवारबीच फेरी प्रतिस्पर्धा हुन्छ । यस्तो अवस्थामा तेस्रो उम्मेदवारको मत जसले प्राप्त गर्छ उसैले बाजी मार्छ । १३औँ महाधिवेशनका क्रममा तेस्रा उम्मेद्वार कृष्णप्रसाद सिटौलाको समर्थन प्राप्त गरेर देउवाले सभापति पदमा बाजी मारेका हुन् ।

नेपाली कांग्रेसमा तेस्रो धारको मत पनि केही छ । गिरिजाप्रसाद कोइराला र देउवा प्रतिस्पर्धा गर्दै गर्दा तेस्रो धारका रूपमा उम्मेद्वार बनेका रामहरि जोशीले १०औँ महाधिवेशनमा तथा सुशील कोइराला र देउवा प्रतिस्पर्धा गर्दै गर्दा १२औँ महाधिवेशनमा भीमबहादुर तामाङले केही भोट प्राप्त गरेका थिए । गत महाधिवेशनमा पनि कृष्णप्रसाद सिटौलाले केही भोट प्राप्त गरेका थिए । त्यसैले तेस्रोधारको मत विमलेन्द्र निधिका लागि सुरक्षित हुने अवस्था एकातिर छ भने अर्कातिर निधिको पृष्ठभूमि, सक्रीयता र निरन्तरता नेपाली कांग्रेसका वर्तमान नेताहरूमध्ये सबैभन्दा बढी छ ।

पारिवारिक पृष्ठभूमिको हिसाबले भन्नुपर्दा निधिका बाजे राजेश्वर निधिले राणाकालमै तराई क्षेत्रमा शिक्षाको बिगुल फुकेका थिए । भारतीय स्वतन्त्रता संग्रामका अभियन्ता महात्मा गान्धीका सबैभन्दा विश्वासिला सहयोगीका रूपमा काम गरेका थिए । पिता महेन्द्रनारायण निधि वैचारिक रूपमा बिपी सरहका सबल थिए । पञ्चायती व्यवस्था विरुद्धको संघर्षका क्रममा बिपीलाई समेत आफ्नो लाइनमा ल्याउने क्षमता बोकेका नेता थिए महेन्द्रनारायण निधि ।

यसै गरी विमलेन्द्र निधि पनि नेविसंघको तेस्रो अध्यक्ष हुन् । स्ववियु सभापति, केन्द्रीय सदस्य हुँदै २३ वर्षको उमेरमै नेविसंघको अध्यक्ष बनेका नेता हुन् निधि । राजनीतिक तथा वैचारिक बहसमा यतिबेला निधिसँग तुलना गर्न सकिने अर्को व्यक्तित्व नेपाली कांग्रेसमा छैन ।

अर्कातिर मुलुकको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओट्ने तराईबाट निधिले प्रतिनिधित्व गर्छन् । त्यसकारण पनि देउवाले भन्दा निधिले बढी मत प्राप्त गर्ने संभावना छ । अर्कातिर सभापतिका रूपमा पाँच वर्षे कार्यकाल देउवाले खेर फालेको निष्कर्षमा संस्थापन पक्षकै अधिकांश नेता तथा कार्यकर्ता पुगेका छन् । यसको लाभ निधिले उठाउन सक्ने अवस्था छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय