हराएका मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण

लमजुङ । गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका विभिन्न प्रकार तथा ब्राण्डका ३३ मोबाइल प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय बेसीशहरमा सम्बन्धित व्यक्तिलाई बोलाएर आज अपराह्न मोबाइल फोन हस्तान्तरण गरिएको हो ।

गत असोज १ देखि ३० गतेसम्म जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले हराएको मोबाइल खोजतलास गर्ने अभियान सञ्चालनका क्रममा जिल्लाभित्रका विभिन्न स्थान तथा व्यक्तिबाट बरामद गरी सम्बन्धित मोबाइलधनीलाई वितरण गरेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनका अनुसार हस्तान्तरित मोबाइल रु सात लाख ७७ हजार बराबरको रहेको छ । हराएका वा चोरी भएका मोबाइल प्रहरीले फेला पारेर दिएपछि मोबाइलका धनीले खुशी हुँदै प्रहरीलाई धन्यावाद दिएका थिए ।

हराएको तथा चोरी भएको मोबाइल फिर्ता नपाउने भनेर आश मारिसकेकोमा प्रहरीले खोजेर फिर्ता ल्याउँदा प्रहरी प्रशासन समाजमा नागरिकका लागि काम गरिरहेको छ भन्ने विश्वास लागेको बेसीशहर नगरपालिकाका मोबाइलधनी दूधप्रसाद घलेले बताए । प्रहरीले सो मोबाइल फेला पारे पनि मोबाइल चोर भने भेटाउन सकेको छ ।

चोरी गरी अरुलाई नै मोबाइल बिक्री गरेकाले उनीहरुलाई फेला नपरेको प्रहरीले जनाएको छ । फेला परेको मोबाइल तीन वर्षभन्दा लामो समयदेखि हराएको जनाइएको छ । चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउनदेखि असोजसम्म ६६ वटा हराएका तथा चोरी भएका मोबाइल बरामद गरी सम्बन्धित धनीलाई प्रहरीले बुझाएको छ ।

प्रतिक्रिया