असीमले ल्याए ‘क’

काठमाडौं । कवि असीम सागरद्वारा लिखित कविताकृति ‘क’ बजारमा आएको छ । फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिमा समाजमा व्याप्त विकृति तथा विसंगति, सामान्य जनका दुःख, पीडा र जनजीविकाका विषयलाई रोचक र घतलाग्दो तरिकाले उधिनिएको छ । वैश्विक रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण औपचारिक कार्यक्रम नगरी कविता संग्रह आइतबारदेखि बजारमा ल्याएको फाइनप्रिन्टले जनाएको छ । कवि असीम सागर साधारण नेपाली जनताका मनोभावनालाई सरल र सटिक रुपमा उतार्ने स्रष्टा रहेको सञ्चारकर्मी एवं कवि रूपेश श्रेष्ठले बताए । उनले भने, ‘असीम सागरका कविताले सडकका नागरिकको कथा भनेको पाइन्छ । देखेर र भोगेर कविता लेख्नुमा ठूलो अन्तर हुन्छ । असीमको कवितासंग्रह ‘क’ मा भोगेर लेखेका कविता छन् ।’ उनले कविता सरल भाषामा लेखिएको बताए । उनले थपे, ‘सरल भाषामा यति ओजपूर्ण कविता लेख्न सकिन्छ, त्यो पनि सुन्दर कविता लेख्न सकिन्छ भन्ने असीमले प्रमाणित गरेका छन् ।’

‘क’ कविता संग्रह फरक किसिमको भएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए । उनले सरल एवं सरस किसिमका कविता लेख्ने सागरको यो कृतिमा सामान्यभन्दा सामान्य जनका दुःख, पीडा अनि समाजमा व्याप्त बेथिति एवं विसंगतिलाई घतलाग्दो किसिमले प्रस्तुत गरिएको जिकिर गरे । उनले भने, ‘यति ओजपूर्ण कृति प्रकाशन गर्न पाउनु हाम्राका लागि खुसीको विषय हो ।’  कवि असीम सागरले जीवनमा आइपरेका घटना र विभिन्न अनुभवबाट निःसृत भावलाई नै कविताका रुपमा प्रस्तुत गरेको र यो पुस्तक जन्मिएको बताए । उनले भने, ‘जीवन बाँच्दै जाँदा कैयौं पटक चोइटिएको छु । भाँच्चिएको छु । दुखेको छु ।’ उनले जीवनका तिनै दुखाइ र असन्तुष्टि नै आफ्ना कविताका अंश भएको सुनाए । उनले भने, ‘जसलाई मैले आफ्नै आँसुको मसीले लेखेको छु ।’ उनका यसअघि जून पोखिएको रात र अस्तित्वका आवाजहरु (गजल संग्रह) प्रकाशन गरिसकेका छन् । उनले खडानन्द मनमाया स्मृति पुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भावतरंग साहित्य सम्मान (सिक्किम), बसिबियाँलो साहित्य सम्मान (कालेबुङ) लगायतका पुरस्कार एवं सम्मान प्राप्त गरेका छन् । उनी राष्ट्रिय कविता प्रतियोगिताका बिजेतासमेत हुन् ।

 

प्रतिक्रिया