यसपालि खसीबोकाको बिक्रीमा ह्रास

इलाम । दसैँ लाग्नुभन्दा एक महिना अघिदेखि अग्रिम भुक्तानी गरेर खसीबोका, कुखुरा बुकिङ हुन्थे । तर, यस वर्ष भने यतिबेलासम्म पनि न व्यवसायीले खसी÷राँगा किनेका छन्, न त मास्ुका लागि ‘अर्डर’ नै आएको छ । दसैँ लागिसक्दा पनि खसी÷राँगा किनबेच शून्यजस्तै भएको छ । बन्दाबन्दी (चैत–असार) मा सुस्ताएका मासु पसल बन्दाबन्दी हटेपछि चलमलाए पनि गत महिनादेखि फेरि सुस्ताएकामा दसैँ लागिसक्दा चलमलाउन सकेका छैनन् । बाहिरी जिल्लामा खसी÷बोकाको बिक्री बढेकाले पनि जिल्लामा व्यापार सुस्ताएको सदरमुकामस्थित माल्दाइ मासु पसलका सञ्चालक टेकबहादुर श्रेष्ठ बताउँछन् । उनका अनुसार गाउँगाउँबाट खसी÷बोका किनेर काठमाडौं, विराटनगर (मोरङ), बिर्तामोड (झापा) लगिएकाले जिल्लामा खसी व्यापार सुस्ताएको हो ।

‘किलोका हिसाबले खसी–बोका किनेर अन्यत्र लगेपछि व्यापार छैन’, श्रेष्ठ भन्छन्, ‘गएका वर्षको जस्तो दसैँका लागि स्टक राख्ने खसीबोका नै यो वर्ष छैन । कोरोनाले परिवार एकै ठाउँमा भेला हुन नसकेकाले यस वर्ष मासुको ‘अर्डर’ पनि नआएको हुनसक्छ ।’ खसी, बोका र राँगाको कारोबारभन्दा अहिले कुखुराको कोरोबार भने केही बढे पनि विगतका वर्षमा जस्तो कुखुराको मासुको माग पनि नआएको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष दिनेश महत बताउँछन् ।

कुखुराको मासु अधिकांशले खाने भए पनि यस वर्ष अनुमान गरिएभन्दा निकै कमले किन्न आएको उनको भनाइ छ । ‘केही हदसम्म त बढेको छ तर सदाजस्तो छैन’, अध्यक्ष महत भन्छन्, ‘लोकल र ब्वायलर दुवै कुखुराको किनबेच सुस्ताएको छ । अहिले किनेको कुखुरा पनि तिहारपछिका लागि हो ।’ उनका अनुसार जाडोयामका लागि यतिबेलै कुखुराको चल्ला किनबेच हुन्छ । तर, जाडोयामका लागि कुखुरा किने पनि अहिलेका लागि भने खासै कुखुराको किनबेच भएको छैन । अरू बेलाको तुलनामा दसैँमा मासुको कारोबार झण्डै तेब्बर हुन्थ्यो ।

प्रतिक्रिया