प्रहरी सहायक निरीक्षकको हत्या, हवल्दार बेपत्ता

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकोमा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिए । विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् ।

गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकोमा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ । नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ ।

अवैध रुपमा सामान भित्र्याउने समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ । गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ ।

मृतक विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली आज बिहान घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया