आदिवासीभित्र जात हुँदैन जाति हुन्छ

अजय अलङकार रोतेम्बु

राई भनेको जाति हो कि पद्वी हो भन्ने विषयमा बहस जारी छ । किराँती समुदायमा धेरै जातिहरू छन् । प्रायःजसोले राई लेख्ने गरेका छन् । किराँती समुदायका जातहरूमध्ये एउटा हो कुलुङ । कुलुङको शाब्दिक अर्थ हुन्छ, ‘ढुंगामा पानी जमेको स्थान ।’

‘माप्य’ नाम गरेको खालिङ किराँतीहरूको पुर्खा साल्पा भञ्ज्याङ, पाँचपोखरी हुँदै तेङबोचे लागेछन् । सोही क्रममा पाँचपोखरीभन्दा केही तल जंगलको ढुंगामा खाल्डो परेको स्थानमा पानी जमेको देखेछन् । ढुंगामा पानी जमेको देखेर माप्य पुर्खाले ‘कुःलुङ’ भनेछन् । खालिङ भाषामा ‘कु’को अर्थ पानी र लुङको अर्थ ढुंगा हुन्छ ।

त्यसरी खालिङ पुर्खाले ढुंगामा पानी जमेकोलाई कुःलुङ भनेपछि त्यस ठाउँलाई कुलुङ भन्न थालियो । कुलुङ नामले परिचित स्थान छेम्सी, ताम्सी, सोत्तो र पिल्मो बसेको क्षेत्रभित्र पर्ने भएकाले सोही भूमिलाई पछि महाकुलुङ भन्न थालियो । कालान्तारमा चार पुर्खाहरूका सन्तानहरू बसोवास गरेका (हूलरहूलूरपावै), (सोत्तोरफुक्स्तेलरसोताङ), (पिल्मोरपेल्माङ), (छेम्सीरताम्सी(छेस्खाम), बुङ र गुदेल भूमिलाई समग्र महाकुलुङ भनियो ।

ढुंगेनी जग्गामा पानी भएको स्थानको नाम ‘कुलुङ’
बान्तावा भाषामा ढुंगेनी जग्गामा पानी उम्रेको वा जमेको स्थान (सिमसार, हिलो सहितको दलदल जमिन) लाई कुलुङ भनिन्छ । ढुंगेनी जग्गामा हिलो सहितको दलदललाई, कुहेको ढुंगाको दलदललाई समेत कुलुङ भन्ने गर्दछ । महाकुलुङ क्षेत्रका कुनै स्थानमा ढुंगेनी सिमसार वा ढुंगेनी स्थानमा हिलोको दलदल भएको जमिनलाई ‘कुलुङ’ भनिएको हुन सक्दछ । सो जमिनको आसपासमा बसोवास गर्ने कुलुङ पुर्खाको पहिचान पनि सो जमिनसँग जोडिएको हुन सक्दछ । त्यसै सिमसार वा पानी भएको ढुंगेनी जग्गाको नाम कुलुङ हुँदै पछि समग्र क्षेत्रलाई एकै नाम ‘महाकुलुङ’ भनेर चिनिन थाल्यो ।

उहिले किराँतीहरूमा पाखा बालीको मात्र चलन थियो । धानको खेती गर्ने चलन थिएन । सोहीमुताविक धेरै किराँतीहरूले आफ्ना पितृ पूजा वा संस्कार गर्दा त्यही पाखा बाली (कोदो, फापर, घैया वा घैयाको चिउरा) प्रयोग गर्ने चलन रहिआएको पाइन्छ । धान खेतीका लागि हिलो, दलदल भएको जमिन (कुलुङ) वा पानी लाग्ने जमीन उपयुक्त मानिन्छ । खेतीपातीमा विभिन्न नयाँ प्रविधिको विकाससँगै अहिले धान खेती गर्ने चलन बढेको छ ।

‘कुरुङ’ शब्दबाट ‘कुलुङ’
बान्तावा भाषामा नै आफ्नो मामली वंशलाई ‘कुरुङ’ भनी सम्बोधन गरिन्छ । कुनै बान्तावा पुर्खाहरूको मामली सम्बन्ध कुलुङहरूको पुर्खाहरूसँग भएको हुन सक्दछ । सोहीअनुसार बान्तावा पुर्खाहरूले कुलुङहरूको पुर्खाहरूलाई कुरुङ भन्दै आए । पछि कुरुङ शब्द अपभ्रंश भई कुलुङ भएको हुन सक्दछ । हालको कुलुङहरूको पुर्खाहरूलाई यिनै कुलुङ शब्दले चिनिन थाल्यो र कुलुङ पहिचानबाटै भूमिको नाम पनि कुलुङ रहेको हुन सक्दछ ।

प्रशासनिक एकाई ‘महाकुलुङ’
नेपालको भौगोलिक एकीकरणपछि माझ किरातमा किपट प्राप्त गर्ने समूहमध्ये कुलुङ पनि पर्दछ । छेम्सी, ताम्सी, राताप्खू, खप्दूलू र पछि तिनका सन्तानहरूले आबाद गरिआएका हूङ्वारहुङ्गा उपत्यका (छेम्सी, छेस्खाम, पील्मो र सोत्तो क्षेत्रमा कुलुङ, सोताङ र पील्मोङ नामक तीनवटा किपटहरू कायम गरिएका थिए । अलग–अलग तीन वटा किपट कायम गरिएको भएता पनि माझ किराँत क्षेत्रअन्तर्गत हूङ्वारहुङ्गा उपत्यका क्षेत्रलाई एक प्रशासनिक एकाइ कायम गरिएको थियो जसमा तीन वटा किपटहरूलाई जोडी महाकुलुङ कायम गरियो । त्यसपछि हूङ्वारहुङ्गा उपत्यकाका भू–भागलाई महाकुलुङ भन्न थालियो ।

जाति र भूमिको सम्बन्ध
संसारमै अध्ययन गर्ने हो भने जाति भनेको भूमि र भूगोलसँग जोडिएको हुन्छ । सभ्यतासँग जोडिएको हुन्छ । जस्तै ः किराँत भूमिका किराती । जापान भूमिका जापानी । चाइना भूमिका चाइनिज र नेपाल भूमिका नेपाली भने भैmँ महाकुलुङ भूमिका कुलुङ जाति हो । थप स्पष्ट पारौँ : जाति हुनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरू : (जस्तै : आदिवासी जनजातिसम्बन्धि महासन्धि १९८९, (क्ष्ीइ महासन्धि नं. १६९), आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र र नेपालको आदिवासी जनजाति ऐन २०५८ अनुसार पाँच मापदण्ड र आधार चाहिन्छ । यी पाँच आधार कुलुङ जातिसँग छन् । (१) छुट्टै साझा भाषा–कुलुङ (२) साझा संस्कृति–कुलुङ संस्कृति–कुलुरीदुम (३) छुट्टै परम्परागत भूमि–महाकुलुङ (४) छुट्टै सामाजिक संरचना (५) लिखित वा अलिखित इतिहास । तर, राई भाषा, राई संस्कृति, राई भूमि–भूगोल, राई सभ्यता, राई स्वायत्त प्रदेश, राई इतिहास, राई वंशावली केही छैन जसले गर्दा राई जाति हुन सक्दैन ।

उसो भए राई के हो ?
लिम्बु जातिलाई सुब्बा, याक्खा जातिलाई देवान, सुनुवार जातिलाई मुखिया, बाहुन जातिलाई पण्डित, खस–क्षेत्री जातिलाई काजी, थारू जातिलाई चौधरी, शेर्पा र तामाङ जातिलाई लामा भनेजस्तै खम्बुको सन्तान र कुलुङ जातिलाई दिइएको पद र पदवी हो राई । अझ प्रष्ट पारौँ । १) राई, पद–पदवी हो, जसको माथि भनिएजस्तै पाँच मापदण्ड र आधार छैन २) कुलुङ, जाति हो, जसको माथि उल्लिखितअनुसार पाँच वटा मापदण्ड र आधार छन् । ३) कुलुङभित्र रोतेम्बु, ङोपोचो, लोवात्ती, कुबित्ती आदि । थर र पाछा (बाहुन भित्रको दहाल, ओली, भट्टराई, पौडेल भनिए जस्तै । ४) नागरिकता, एक परिचयपत्र मात्र हो । जुन नेपाल देशको नागरिक हो भन्ने बुझाउँछ, यदि हङकङमा कुनै कुलुङ जातिको जन्म भएको भए हङकङ आइडी पाउँथ्यो । त्यसैले नागरिकताले कुनै जातिको ब्याख्या गर्दै गर्दैन । ५) नाछिरिङ, एक जना हाम्रो फपा र पुर्खा र बाजेको नाम हो । (ताम्सी, छेम्सी, सोत्तो र पिल्मो भनिएजस्तै)

अब ०७८ को जनगणनामा जातिको महलमा : कुलुङ जाति लेखौँ । भाषाको महलमा : कुलुङ भाषा लेखौँ । धर्मको महलमा : किराँत मुद्धुम लेखौँ र हाम्रो वास्तविक पहिचानको वकालत गर्दै राष्ट्रिय जनगणना २०७८ मा कुलुङ जातिको जनसंख्या स्पष्ट गरौँ । जात प्रथा अर्थात तल्लो जात र माथिल्लो जात (पानी चल्ने र नचल्ने जात) हिन्दू वर्णाश्रममा मात्र हुन्छ । आदिवासीभित्र जात हुँदैन जाति हुन्छ । त्यसैले जात होइन जातिको वकालत गरौँ । जनगणना २०७८ मा आफ्नो पहिचान स्थापित गरौँ ।

प्रतिक्रिया