कोरोना नियन्त्रण गर्न संक्रमितका घरमा स्टिकर

सिन्धुली । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि संक्रमितको घरमा स्टिकर लगाउने कार्य सुरु गरिएको छ । जिल्लाभित्र संक्रमितको पहिचान नहँुदा कोभिड संक्रमण बढेको भन्दै संक्रमितको पहिचानका लागि संक्रमितको घरमा स्टिकर लगाइएको जिल्ला प्रशासन कार्यलय सिन्धुलीका प्रमुख योगेन्द प्रसाद पाण्डे बताए । नागरिकले पिसिआर परीक्षण गर्न स्वाब दिएर सार्वजनिक स्थानमा जाने, भिडभाडयुक्त सार्वजनिक कार्यक्रमहरू, यातायात, बजार खुला भएको कारण जिल्लामा संक्रमण बढेको प्रमुख पाण्डेको भनाइ छ ।

उक्त क्रियाकलाप नियन्त्रण गर्ने संक्रमितहरूको घरमा रातो स्टिकर र संक्रमितको संक्रमणमा रही क्वारेन्टाइनमा बसेकाको घरमा पहेँलो स्टिकर टाँसिने पाण्डेले जानकारी दिए । उनका अनुसार रातो स्टिकरमा संक्रमित व्यक्ति होम आइसोलेसन लेखिनेछ भने पहेँलो स्टिकरमा होम क्वारेन्टाइन लेखिनेछ । उक्त कार्यको कार्यान्वयन हुने गरि ‘एक्सन’मा जाने उनले बताए । स्टिकर लागाउने कार्य हाल दुधौली नगरपालिकाले सकिसकेको छ । यस्तै कमलामाईं नगरपालिकाभित्र सोमबार संक्रमितको परिक्षण गरी पोजेटिभ आएकाको घरमा स्टिकर लगाउने कमलामाई नगरपालिका मेयर खड्गबहादुर खत्री बताए ।

यस्तै जिल्लाका नौ वटै स्थानीय तहलाई उक्त कार्य गर्ने पत्र पठाइसकेको जिप्रकाका प्रमुख पाण्डेले बताए । उक्त कार्य गरेनगरेको सहजीकरण गर्ने वडाध्यक्षहरूको संयोजकत्वमा कोभिड–१९ व्यवस्थापन तथा सहजीकरण टिम बन्नेछ । उक्त टिमले ४० देखि ५० घर समेट्ने गरी ‘एक्सन टिम’ निर्माण गर्नेछ । उक्त टिमले आइसोलेसन गर्ने काम गर्नेछ । जसमा संक्रमितको घरमा स्टिकर टाँस्ने, आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा राख्ने र कन्ट्याक ट्रेसिङ गर्ने लगायतका काम गर्नेछ । साथै स्वास्थ्य सचेतताको काम गर्नेछ । सम्भावित जोखिम र लक्षणको पहिचान गरी उपचारका लागि अस्पताल लग्नसमेत यो टिमले सहयोग गर्नेछ ।

स्टिकर जिल्ला संकट व्यवस्थापन केन्द्रको नाममा छापिने छ । सरकारको मापदण्डअनुसार कोरोनामुक्त भएपछि त्यस्ता घरको स्टिकर हटाइनेछ । छपाइको व्यवस्थापन सम्बन्धित पालिकाले गर्नेछ । संक्रमितको ठेगाना सहितको विवरण सिन्धुली अस्पताल र स्वास्थ्य कार्यालयले सम्बन्धित पालिकामार्फत वडामा बनेका समितिमा पु¥याउन व्यवस्था मिलाउने जिल्ला प्रशासन कार्यलय सिन्धुलीका प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया