कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिका बन्द

प्युठान । जिल्लाको सरुमारानी गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय बन्द गरिएको छ ।

संक्रमित कर्मचारीसँग अन्य कर्मचारी, जनप्रतिनिधि र सेवाग्राही समेत सम्पर्कमा रहेको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाको कार्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । उनका अनुसार आगामी कात्तिक ६ गतेसम्म गाउँपालिकाको कार्यालय बन्द रहनेछ ।

यो अवधिमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने उनले बताए । कोरोना पोजेटिभ कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी, जनप्रतिनीधि र व्यक्तिहरुको भोलीदेखी कोरोना परिक्षणका लागि पिसीआर लिन सुरु गरिने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए ।

यसैबीच, प्युठानमा बिहिवार एकैदिन ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परिक्षणमा सरुमारानीका २२, ऐरावतीका १४, झिमरुकका ११ र नौवहिनी गाउँपालिकाका ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी एवं कोरोना फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।

योससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६८९ जना पुगेको छ भने हाल सकृय एक सय ३१ जना रहेका छन् । जिल्लामा यसअघि कोरोना संक्रमणका कारण दुई जनाको मृत्युसमेत भएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया