डलरले नचिनेको महिला दिवस

‘म महिला अधिकार बुझेको पुस्ताको नागरिक हुँ’ भन्ने मूल नाराका साथ आज विश्वभरी नै अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै छ । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भएअनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो । नेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस ०७० सालदेखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्वपूर्ण प्रतिनिधि हुन् भन्ने राष्ट्र संघको निचोड रहेको छ । कोरोनाको महामारीका कारण यस वर्ष अर्थात सन् २०२० निकै पृथक र विषम परिस्थितिमा छ । अरू दिवसजस्तै ग्रामीण महिला दिवस पनि औपचारिकतामा सीमित रहने निश्चित जस्तै छ । विगतमा जस्तो यो वर्ष भौतिक उपस्थितिमा कार्यक्रमहरू हुने छैनन् ।

यस्ता दिवस मनाउनुको मुख्य उद्देस्य हो, विषयवस्तुको महत्वबारे आममानिसमा यथार्थ जानकारी गराउनु । ग्रामीण महिला दिवसको सान्दर्भिकता तथा महत्व नेपालजस्ता विकासोन्मुख देशका लागि ज्यादै महत्वपूर्ण छ । यति हुँदाहुँदै पनि नेपालमा यो दिवस ओझेलमा पर्दै आएको छ । अक्टोबर १५ तारिखका आसपासमा दसैँ तिहारजस्ता चाडपर्व पर्ने भएका कारण यो दिवस ओझेलमा परेको हो । वास्तवमा आधा आकाश ओगटेका महिला अधिकार शीर्षकमा धेरै दिवस मनाउने गरिएको छ । जसमध्ये नेपालका सन्दर्भमा ग्रामीण महिला दिवस सर्वाधिक महत्वपूर्ण छ, तर यही दिवस ओझेलमा पर्दै आएको छ । किनकी विश्वका धनी मुलुकहरूमा ग्रामीण महिला दिवस प्राथमिकतामा पर्दैन । उनीहरूको प्राथमिकतामा नपर्ने भएकोले अरू दिवसको जस्तो यो दिवस मनाउनका लागि डलर भित्रिँदैन, त्यसैले ग्रामीण महिला दिवस ओझेलमा पर्ने गरेको छ । त्यसैगरी यो दिवस कुनै राजनीतिकवादसँग सम्बन्धित छैन । ग्रामीण महिला दिवसलाई न त समाजवादले आफ्नो शक्तिको स्रोत ठान्छ, न त पूँजीवादले, त्यसैले राजनीतिक रूपमा यो दिवस ओझेलमा परेको हो ।

हाम्रो मुलुकका ग्रामीण महिलाहरूको अवस्था अत्यन्त कहालीलाग्दो छ । यो कहालीलाग्दो अवस्थालाई राज्यले नै अन्तर्राष्ट्रिय करण गर्नुपर्छ । तर, यसका लागि राज्यलाई दबाब पुगिरहेको छैन । उदाहरणका लागि नेपालमा हरेक दिन पाँच जना महिला बलत्कारको सिकार हुन्छन्, उनीहरू सबै ग्रामीण भेककै हुन् । नेपालमा हरेक दिन सुत्केरी हुन नसकेर महिलाको मृत्यु हुन्छ, यसरी मृत्यु हुने महिला पनि ९५ प्रतिशत ग्रामीण भेककैै छन् । ग्रामीण महिलाहरू अत्यन्त कठिन र जोखिमपूर्ण श्रम गर्न वाध्य छन्, तर श्रम अनुसारको ज्याला पाउँदैनन् । बोक्सीको आरोपमा यातना पाउने पनि ग्रामीण महिलाहरू नै हुन् । घरेलु हिंसाको चपेटामा पर्ने पनि ग्रामीण महिलाहरू नै हुन् । समान अधिकारको त कुरै छाडौं, अरूका अगाडि दिल खोलेर हाँस्न पाउने अनुमतिसमेत ग्रामीण समाजले महिलाहरूलाई दिएको छैन । परिवारभित्रै अभिव्यक्ति स्वतन्त्रता छैन । आँशुको माध्यमबाट आफ्ना अभिव्यक्ति प्रकट गर्नुपर्ने वाध्यतामा ग्रामीण महिलाहरू छन् । पुरुषहरू रोजगारीका लागि बाहिर जाने र महिलाहरूले घर धान्नुपर्ने वाध्यता नेपालको परम्परादेखिकै यथार्थता हो ।

यतिबेला हाम्रो मुलुकमा महिला राष्ट्रपति छन् । उनी विशुद्ध ग्रामीण महिला हुन् । ग्रामीण महिलाहरू सभामुख तथा प्रधान्यायाधीश पनि बनिसकेका छन् । मुलुकमा अहिलेसम्म जति महिलाहरू उपप्रधानमन्त्री तथा मन्त्री भए उनीहरू अधिकांश ग्रामिण भेककै थिए । मौका पाए भने ग्रामीण महिलाहरूले मुलक चलाउन सक्छन् भन्नेकुरा प्रमाणित भइसकेको छ । तर पदमा पुगिसकेपछि ग्रामीण परिवेश तथा वाध्यता भुल्ने, आफ्ना संगिनीहरूको दुर्दशा बिर्सने नराम्रो रोगले नेपाली महिलालाई गाँजेको छ । ग्रामीण लवाइखुवाइ तथा रहनसहनलाई असभ्यताको प्रतीक ठान्ने सहरिया संस्कृतिको भद्दा नक्कल गर्ने मामिलाले पनि धेरै गडबढ गरेको छ । नीति निर्माण तहमा रहेका, तथा नागरिक समाजको अगुवाइ गरेका महिलाहरूलाई आफू जन्मेहुर्केकोे धरातल नबिर्सन ग्रामीण महिला दिवसले प्रेरणा देओस् ।

प्रतिक्रिया