ट्रम्पको छोरा ब्यारन ट्रम्पलाई कोरोना

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ । प्रथम महिला मिलानिया ट्रम्पले १४ वर्षका छोरा ब्यारन कोरोना संक्रमित भएको खुलाएकी हुन् ।

कोरोना भाइरसबाट संक्रमित भएका ब्यारन अहिले संक्रमण मुक्त भइसकेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । ब्यारन संक्रमित भएको खबर अहिलेसम्म लुकाइएको थियो ।

प्रथम महिला मिलानियाले ब्यारन संक्रमित भएपछि आफ्नो त्रास यथार्थमा परिणत भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘तर उ बलियो किशोर हो र कुनै लक्षण देखिएन ।’

राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानियासहित ह्वाइट हाउसका उच्च अधिकारीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । ट्रम्प र मिलानिया संक्रमण मुक्त भएका छन् ।

चुनावी अभियानका लागि बुधबार आयोवा जाने बेला ट्रम्पले पत्रकारसँग आफ्नो कान्छो छोराले राम्रो गरिरहेको बताएका थिए ।

सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने कार्यक्रमबाट ह्वाइट हाउसका उच्च अधिकारीमा संक्रमण फैलिएको अनुमान छ ।

अमेरिकामा ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म दुई लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया