नेपाल–भारत सम्बन्ध सुधार्ने प्रयास

काठमाडौं । नेपालका विषयमा आपत्तिजनक टिप्पणी गरेका भारतका सेनापति मनोज मुकुन्द नरवाणे कात्तिकको तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । भारतका २८औँ सेनाध्यक्ष नरवाणे १८ कात्तिकमा नेपाल भ्रमणमा आउन निश्चित भएको र उनलाई मानार्थ प्रधानसेनापतिको उपाधीसमेत दिइने भएको छ । भारतबाट अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्ध चिसो बन्दै गरेको अवस्थामा हुन लागेको सेनापतिको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नयाँ नक्सा जारी भएपछि उनले नेपालले चीनको उक्साहटमा काम गरेको गम्भीर आरोप लगाएका थिए । जसको नेपालमा चर्को विरोध भएको थियो । सो प्रकरणपछि भारतबाट उच्चस्तरका अधिकारी नेपाल भ्रमणमा आउन लागेको पहिलोपटक हो ।

भारतीय सेनाका सेनाध्यक्ष नरवाणे नेपालमा रहँदा उच्चस्तरको राजनीतिक भेटवार्ता हुनेछ । सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र समकक्षी सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । नरवाणे मुक्तिनाथ भ्रमणमा जाने कार्यक्रम भ्रमणमा समावेश गरिएको छ । तर, कोरोना संक्रमणको अवस्था हेरेर यो फेरबदल हुन सक्नेछ ।

भारतका सेनाध्यक्ष नरवाणे नेपाल भ्रमणमा आउने निश्चित भएको र त्यसका लागि तयारी सुरु भइसकेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले जानकारी दिएका छन् । तीनदिने नेपाल भ्रमणको क्रममा सेनापति नरवाणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्ने विशेष कार्यक्रम छ । भारतका सेनापतिले नेपाली सेनाको र नेपालका सेनापतिले भारतीय सेनाको मानार्थ महारथी उपाधि ग्रहण गर्ने परम्पराअनुसार यो भ्रमण तय गरिएको हो ।

भारतले अतिक्रमित गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको संविधान संशोधन पारित गरेपछि भारतले असन्तुष्टि व्यक्त गरेको थियो । त्यसपछि नेपाल–भारतबीच राजनीतक तथा कूटनीतिक स्तरमा संवाद लगभग अवरुद्ध भएको अवस्थामा उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । उनी सेनापति भएको एक वर्ष बढी भएपछि नेपाल आउन लागेका हुन् । भ्रमणपछि दुई देशबीचको सम्बन्ध सुधार हुने कतिपयले विश्वास लिएका छन् ।
०००००००

प्रतिक्रिया