परीक्षणको १० प्रतिशत संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएकामध्ये करिब १० प्रतिशत संक्रमित भेटिएका छन् । बुधबारसम्म गरिएको परीक्षणमध्ये ९ दशमलव ६६ प्रतिशत संक्रमित भेटिका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १२ लाख २१ हजार ३८ जनाको पिसिआर परीक्षण गर्दा १ लाख १७ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय दैनिक गरिने परीक्षणमा भने १० देखि २१ प्रतिशतसम्म संक्रमित भेटिरहेका छन् । बुधबार गरिएको कुल पिसिआर परीक्षणमध्ये १५ दशमलव ५८ प्रतिशत संक्रमित फेला परेका हुन् । १३ हजार ९ सय ४७ परीक्षण गर्दा २ हजार १ सय ७४ जनामा संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा बुधबार १ हजार ४ सय ४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै ९ सय ९६ जना संक्रमित थपिएका हुन् । यो पछिल्लो केही दिनकै सबैभन्दा कम संख्या हो । यसैगरी भक्तपुरमा १ सय २ जना र ललितपुरमा ३ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा हाल २० हजार सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो समय कोरोना मुक्त हुनेको संख्यामा कमी आउन थालेको छ । नियमित संख्या केही बढे पनि संक्रमित बढ्दा औसतमा निको हुने प्रतिशत घटेको हो । निको भएको दर बुधबार ६८ दशमलव ६ प्रतिशतमा पुगेको छ । बुधबार देशभर २ हजार १ सय ७४ संक्रमित निको भएर घर फर्किएका हुन् । अहिलेसम्म नेपालमा ८० हजार ९ सय ५४ जना संक्रमित निको भइसकेका छन् । २४ घण्टाको अवधिमा बुधवार अपरान्हसम्म थप १२ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ । नेपालमा अहिलेसम्म ६ सय ७५ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया