राजधानीमा २० हजार सक्रिय

काठमाडौं । राजधानीका अस्पतालमा कोरोना संक्रमण देखिएर बिरामीले अस्पतालमा बेड पाउन छाडेका छन् । होम आइसोलेसनमा बसेका विरामीलाई समस्या आउन थालेपछि अस्पताल भर्ना हुन खोज्दा बेड पाउन छाडेका हुन् ।  होम आइसोलेसनमा बसेका बानेश्वरका ५३ वर्षीया पुरुषलाई अचानक ज्वरो र श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना हुन खोजे । उनका आफन्तले सुरुमा पाटन अस्पतालमा फोन गरे । तर अस्पतालका कर्मचारीले कोभिडसम्बन्धी बेड खाली नभएको जवाफ दिए । त्यसपछि वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा समेत फोन गरेर बुझे । त्यहाबाट पनि बेड खाली नभएको जवाफ आयो ।

सरकारी अस्पतालमा बेड नपाएपछि निजी अस्पतालमा बेड पाउने उनीहरूले आशा राखेका थिए । त्यसपछि उनीहरूले केही निजी अस्पतालमा समेत फोन घुमाए । तर, त्यहाँ पनि बेड पाउन सकेनन् । उनीजस्तै धेरै फोन अस्पतालमा आउने गरेको टेकु अस्पतालले जानकारी दिएको छ । दैनिक कैयौँ फोनहरू आउँछन् । सबैले बेड रहे नरहेको सोध्ने गरेका छन् । सबैलाई एउटै जवाफ दिनुपरिरहेको अस्पतालले जनाएको छ ।

होम आइसोलेसनमा बसेकालाई समस्या भएपछि अस्पताल लैजान निक्कै मुस्किल परेको गुनासो गरिरहेका छन् । बागमती प्रदेशमा अहिले सरकारी र निजी अस्पताल गरी १ सय ९५ आइसियु र ८८ भेन्टिलेटर रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने सोमबार दिउँसो दुई बजेसम्म आइसियुमा १ सय ५ र भेन्टिलेटरमा ४१ जना रहेको र बाँकी खाली रहेको दाबी गरेको छ ।

काठमाडौं उपत्यकामा सोमबारसम्म करिब २० हजार सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये काठमाडौंमा १५ हजार ७ सय ४५, ललितपुरमा २ हजार ४ सय ४१ र भक्तपुरमा १ हजार ३ सय ४७ सक्रिय संक्रमित रहेका हुन् । बागमती प्रदेशमा सक्रिय रहेका २२ हजार ३ सय ४३ मध्ये १३ हजार ४ सय ८९ जना होम आइसोलेसनमा छन् । अस्पतालमै भर्ना भएका संक्रमित आइसियुका लागि प्रतिक्षामा बस्नेहरूको संख्या ठूलो छ ।

टेकुका २० बेडको आइसियु र ६ बेडको भेल्टिलेटर दुबै भरिएको छ । वीर अस्पतालका १० वटा आइसियु बेड, सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड–१९ विशेष अस्पतालमा कोरोना संक्रमित लागि आइसोलेसन, आइसियु र भेन्टिलेटरसहित दुई सयवटा बेड छुट्याएकोमा सबै भरिएको छ । यसैगरी, पाटनमा २१ वटा ‘आइसियु बेड र १४ वटा भेन्टिलेटर, त्रिवि शिक्षण अस्पतालका १० वटा आइसियु र ६ वटा भेन्टिलेटर पनि भरिएको छ ।

काठमाडौंका सबै सरकारी अस्पताल कोभिड अस्पताल
स्वास्थ्य मन्त्रालयले  उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितको संख्या बढेकोले कोरोनाका बिरामीलाई आइसियु र भेन्टिलेटर बेड पाउने अपेक्षा गरेर आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।  काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागसँग भएका भेन्टिलेटर, आइसियु तथा अक्सिजन कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने पनि निर्णय गरेको छ । यस्तै काठमाडांैको मनमोहन शिक्षण अस्पताल दहचोक र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा रहेका आइसोलेसन सेन्टरलाई लक्षणसहितका कोरोना संक्रमित राख्नका लागि कोभिड अस्पतालमा स्तरोन्नति गर्ने भएको छ ।

बैठकले अस्पतालले होटलहरूसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरूलाई राख्न पाइने छैन । यस्तै मन्त्रालयले सार्वजनिक ठाउँ तथा सार्वजनिक यातयाताबाट संक्रमण फैलन नदिन निसंक्रमण गर्ने तथा स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । यस्तै दसैँलगायतका चाडपर्व मनाउँदा कोरोना संक्रमण फैलन सक्ने भएकोले जो–जहाँ जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा चाडपर्व मनाउन र चाडपर्वका नाममा यात्रा नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

चार हजार नयाँ संक्रमित थप
पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । उनीहरूमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९ सय २३ र होम आइसोलेसनमा १९ हजार ९ सय ५७ जना छन् । यस्तै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । क्वारेन्टिनमा रहनेहरू ४ हजार ८ सय ३१ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गरिएको बताए । पछिल्लो समय १ हजार ४ सय ७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको छ । भाइरसबाट निको हुने दर ६९ दशमलव १ प्रतिशत छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल मनाङ जिल्लामा मात्रै कोरोनाको सक्रिय संक्रमित छैनन् । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका नौ जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, चितवन, रूपन्देही, काठमाडौं, ललितपुर र भक्तपुर छन् । देशभर संक्रमितमध्ये २ सय ७९ जना सघन उपचार कक्ष र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । पछिल्लो २४ घण्टामा नौ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । यससँगै सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया