सल्यानका शक्तिपीठहरूमा बलि चढाउन नपाइने

सल्यान । जिल्लामा रहेका शक्तिपीठहरूमा दसैँमा बलि चढाउन नपाइने भएको छ । दसैँ तथा अन्य चाडपर्वलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न मठ मन्दिरहरूमा पुजारीबाट हुने दैनिक पूजाबाहेक सर्वसाधारणबाट हुने बलि पूजालगायत अन्य गतिविधिहरू गर्न नपाइने भएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै यसलाई न्यूनीकरणका लागि यो वर्ष पूजाआजामा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए ।

बडादसँैको बेला जिल्लाको एक मात्र प्रसिद्ध खैराबाङमा रहेको भगवती मन्दिरमा बलि चढाउँदै आइएको थियो । बडादसैँ र चैतेदसँैमा विशेष पूजाआजाका साथ बलि दिने गरेको भए पनि यो वर्ष बलि नदिनेभएपछि मन्दिर क्षेत्र सुनसान बनेको छ ।  प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक हेमराज तामाङको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरूले सामाजिक दुरी कायम राख्दै अत्यावश्यक कार्यक्रमहरू मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

कोरोना जोखिमलाई कम गर्न केही समयअघि जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाहरूका सबै कार्यक्रममा रोक लगाएको थियो । मास्क तथा सेनिटाइजरको अनिवार्य प्रयोग गर्दै आत्यावश्यक कार्यक्रम बढीमा १५ जना सहभागी गराएर गर्न सकिने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

यस्तै जिल्लामा सञ्चालित यातायातका साधनले कोभिड–१९ का सुरक्षा मापदण्ड पालना नगरेको पाइएकोमा कोभिड नीति पालना गर्न अनुरोध गरेको र सोको अवज्ञा गरे कानुनअनुसार कारबाही गर्ने उनले बताए । ‘यातायातका साधनमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न पाउने र ५० प्रतिशत भाडा वृद्धिदर गर्नुपर्नेमा सोको विपरीत गरेको पाइएमा कारबाही हुन्छ’, उनले भने । जोखिम न्यूनीकरण गर्न जिल्लामा रहेका मुख्य बजारमा कोभिड–१९ बाट बच्ने उपायका बारेमा चेतनामूलक अडियो प्रसारण, माइकिङ र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइने भएको छ ।

जिल्लामा हालसम्म ४ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनालाई हालसम्म ३ सय ८८ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । यस्तै जिल्लाका विभिन्न आइसोलेसनमा ३५ जनाको उपचार भइरहेको छ । जिल्लामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भने भएको छैन ।

प्रतिक्रिया