बुद्ध एयरको २४ वर्षः गुणस्तरीय सेवासँगै पर्यटन विकासमा जोड

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आज आफ्नो २४ औँ वार्षिकोत्सवका अवसरमा आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेको छ ।

सन् १९९७ मा आजकै दिन अर्थात् अक्टोबर ११ मा नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै सुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाजबीच क्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, एक हजारभन्दा बढी कर्मचारी तथा लाखौँ देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अनवरत यात्रामा यात्रुको सेवा गुणस्तर तथा सामाजिक उत्तरदायित्वलाई ख्याल गरी सेवा विस्तार र प्राविधिक क्षमता अभिवृद्धि गर्न कम्पनी लागिपरेको बताए । उनका अनुसार उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गरिएन ।

बुद्धले बन्दाबन्दीमा झण्डै ६ महिना आम्दानी पनि शून्य रहेका अवस्थामा आफ्ना एक हजार १०० कर्मचारीलाई नियमित रूपमा तलब वितरण गरिएको जनाएको छ । प्रबन्ध निर्देशक बस्नेतले भने, ‘हाम्रो पहिलो प्राथमिकता नै हरेक कर्मचारीको जीवनयापन सजिलो होस् र हाम्रा जहाजको मर्मतसम्भार रेखदेखमा कुनै पनि अवरोध नआओस् भन्ने हो, हामीले यस दौरान एक जना कर्मचारी पनि कटौती नगरी आवश्यक सबै तालीम सम्पन्न गर्यौँ ।’

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो । कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालीम तथा पिपिई प्रदान गरी उडान गन्तव्यमा पूर्वाभ्यास गरेको थियो ।

सेप्टेम्बर २१ देखि उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडा दरमा भारी कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा सङ्क्रमणरहित यात्रा गरून् भन्ने उद्देश्य रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ । आर्थिक चलायमानका सूचकाङ्कमा यात्रुको ओहोरदोहर पनि एक हो ।

आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचारप्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजमार्फत प्याकेज पनि ल्याएको छ । सुरक्षित र सङ्क्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्न सकेका खण्डमा विदेशी पर्यटकलाई पनि आत्मबल पुग्न जाने बुद्ध एयरको विश्वास रहेको छ ।

प्रतिक्रिया