सरकार बहिरो कि कानुन अन्धो ?

गोकुल निरौला

कानुन अन्धो जरुर हुन्छ तर न्यायाधीशले सबैकुरा देखेको हुन्छ । न्यायाधीशले सबै कुरा देख्दादेख्दै पनि किन कानुनलाई अन्धो बनाएर राखेको हुँदो रहेछ ? के नेपालमा पनि कानुन पैसाले खरिद गर्न सकिन्छ र ? न्याय किन्न पाइन्छ भने न्याय बेचबिखन हुने पसल कहाँ छ ? तर यस्तो सम्भव होला त ?

लक डाउनको फुर्सदिलो समयमा हिन्दी फिल्म ‘जोली एलएल बी’ हेरेँ हुन त यो फिल्म धेरै पुरानो हो क्या रे ! उक्त फिल्ममा हिरोको भूमिकामा रहेका अरसद वरसी र न्यायाधीशको भूमिकामा रहेका सौरवच सुक्लाको संवादले मन छोयो । कार दुर्घटनामा परी मरेका जनता र बलत्कार गरी मारिएकी बालिकाको विषयमा फिल्म बनेको रहेछ । उक्त फिल्ममा अरू कुरा पनि समेटिएका होलान् तर मेरो ध्यान भने बलत्कार र दुर्घटनामै तानियो । नेपालमा दैनिक बालिका बलत्कारपछि हत्या भएका समाचार आउँदा पनि सरकारले कडा कानुन नल्याएको हुनाले होला । मलाई न्यायालयमा कतिसम्म दलाली हुँदो रहेछ भनेर हेर्न मन लागेको । फिल्मका हिरो वारसीलाई न्यायाधीश सुक्लाले भनेको एक वचनले भने झन् मन कटक्क दुख्यो । सुक्लाले बडो ठट्याउली पारामा भनेका थिए, ‘देखिए जोली जी कानुन अन्धा जरुर होता है लेकिन न्यायाधीश सबकुछ दिख्ता है ।’ (कानुन अन्धो जरुर हुन्छ तर न्यायाधीशले सबैकुरा देखेको हुन्छ) । सोचेँ न्यायाधीशले सबै कुरा देख्दादेख्दै पनि किन कानुनलाई अन्धो बनाएर राखेको हुँदो रहेछ ? फिल्ममा देखाएजस्तै के नेपालमा पनि कानुन पैसाले खरिद गर्न सकिन्छ र ? न्याय किन्न पाइन्छ भने न्याय बेचबिखन हुने पसल कहाँ छ ? तर, यस्तो सम्भव होला त ?

नेपालमा पनि पावर र पैसामा न्याय किनबेच भएका धेरै उदाहरण छन् । राणाशासन, पञ्चायती शासन र राजाको प्रत्यक्ष शासनको कुरा नगरौँ । ०४७ सालपछिको अपराधिक घटना र राजनीतिककर्मीले कानुनलाई कसरी हातमा लिएका रहेछन् भन्ने कुरा हेरे पुग्छ । आजभन्दा १३ वर्ष पहिले ०६४ सालको निर्वाचनमा २० जना भारतीय नागरिक र तीन जना नेपालीलाई बेपत्ता पारेको अभियोगमा एक वर्ष पहिले मोहम्मद अफ्ताभ आलमलाई प्रहरीले पक्राउ गरेको थियो । ०६४ को पहिलो संविधानसभा चुनाव चैत २८ गते हुँदै थियो । अघिल्लो दिन २७ गते राती राजपुर फरदवाकोमा बम विस्फोट भयो ।

चुनावमा बुथ कब्जा गर्न ल्याइएका बम विस्फोटन भएको र सोही विस्फोटनमा करिब दुई दर्जन मानिस घाइते भएको दाबी गरिएको छ । चुनावमा बुथ कब्जा गर्न आफताबले २३ जनाको ज्यान लगेका थिए र उनी १२ वर्षसम्म राजनीतिको उच्च ओहोदामा नै बसिरहे । आलम ०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, ०५७ मा वनमन्त्री, ०५८ मा भूमि सुधार र ०६५ मा श्रम तथा यातायात मन्त्री भएका थिए । ०७० मा निर्वाचन हारे र ०७४ मा जिते अहिले उनी जेलसजाय भुक्तान गरिरहेका छन् । नेपाली कांग्रेसका पालामा पटकपटक मन्त्री भएर अपराधिक गतिविधि सञ्चालन गर्ने अफताब नेकपाको सरकारमा जेल परे । पोखरामा बलत्कारपछि हत्या भएको ३८ वर्षपछि कञ्चनपुरमा भएको घटनाले देश नै हल्लायो । नमिता÷सुनिता काण्ड भएको ३८ वर्षपछि सुदूरपश्चिमको कञ्चनपुरमा फेरी अर्को बलत्कारपछि हत्या भयो । कञ्चनपुरका बलात्कारपछि हत्या भएकी निर्मला निम्न वर्गीय परिवारमा जन्मेकी थिइन् ।

निर्मलाको हत्या भएको केहीदिनमा महाकाली नदीमा उनको भौतिक देह समाप्त भयो । आजभन्दा दुई वर्ष पहिले भएको हत्याको छानबिन हुन सकेको छैन । अनुसन्धानमा खटिएका प्रहरीहरूलाई निलम्बित गरेको भए पनि केही दिन पहिले प्रहरीहरूले अदालतबाट सफाइ पाइसकेका छन् । निर्मला हत्याकाण्ड हुनुभन्दा पहिले गीता ढकालको हत्या भइसकेको थियो । गीता सामान्य परिवारकी मान्छे थिइनन् । गीता रञ्जनप्रसाद कोइरालाकी पत्नी हुन् । रञ्जन गीताको हत्या हुँदा सशस्त्र प्रहरीका डिआइजी थिए । पत्नीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डिआइजी रञ्जन कोइरालालाई जन्मकैद हुने सजाय घटाएर सर्वोच्च अदालतले साढे आठ वर्ष मात्रै कैद सजाय सुनायो । सर्वाेच्चले असार दोस्रो साता गरेको फैसलाका आधारमा कोइराला कैदमुक्त भए । थरूहटको आन्दोलन चर्किंदा ०७२ भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो । सो घटनामा एक बालकको पनि ज्यान गएको थियो । आरोपी रेशम चौधरीले वारेसमार्फत प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए । तर, रेशम चौधरी टीकापुर काण्डका मुख्यनाइके मानिएका थिए । हाल रेशम चौधरी कारागारमा दिन काटिरहेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट पदबाट राजिनामा गरेका थिए । महराको राजिनामापछि सभामुख निर्वाचित भएका अग्नि सापकोटालाई अर्जुन लामाको हत्या गरेको आरोप लागेको थियो । लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरण गरेको केही दिनपछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले हत्यामा अग्नी सापकोटा संलग्न रहेको भन्दै ०६९ साल मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा किटानी जाहेरी दिएकी थिइन् । सापकोटाको मुद्दा विचाराधीन भए पनि उनी अहिले सभामुख भएका छन् । मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित दीपक मनाङे शपथ खाएको केही समयपछि नेकपामा प्रवेश गरेका थिए ।

सर्वोच्च अदालतमा मुद्दा पुनरावलोकनको अवस्थामा रहेको र प्रदेशसभा निर्वाचन ऐन २०७४ को कारण देखाउँदै गुरुङलाई निर्वाचित भएको एक वर्षपछि शपथ खुवाइएको थियो । ज्यान मार्ने उद्योग मुद्दामा पटकपटक जेलमा परेका राजीव गुरुङलाई गुन्डा नाइके दीपक मनाङे भनेर परिचित छन् । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा समेत पूर्वसांसद एवं राज्यमन्त्री संजय साह नै मुछिए । ०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा बम विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो । कर्तब्य ज्यान, अपहरण, बम बिष्फोटन, जवरजस्ती चन्दा असुली समेतका आपराधिक क्रियायाकलाप सक्रिय संजय टक्ला राजनितिमा प्रवेश गरेपछि मन्त्रीसम्म भए । साह ०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट धनुषा–४ मा विजयी भएका थिए । यसैगरी दोस्रो संविधानसभामा तत्कालीन सद्भावना पार्टीका तर्फबाट धनुषा–३ मा विजयी भएका थिए ।

पहिलो संविधानसभा निर्वाचनपछि मधेसी जनअधिकार फोरम विभाजित भएर फोरम लोकतान्त्रिक बनेसँगै सोही पार्टी प्रवेश गरेका साह भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बन्न सफल भए । टक्ला पनि जनकपुर बम काण्ड गरेको ६ बर्षपछि ०७५ मा जेल परेका थिए । हल संजय पनि जेलसजाय भोगिरहेका छन । यी त केही प्रतिनिधि पात्रहरू मात्र भए । माथि उल्लिखित सबै घटनामा कानुन अन्धोभन्दा पनि सरकार बहिरो देखियो । देखिने र नदेखिने गरी राजनीतिको आडमा अपराध नेपालमा बढ्दो क्रममा नै छ । दैनिक ६ जना बालबालिका बलत्कारको सिकार भइरहेका छन् । सभामुखदेखि आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोपमा सिद्ध बाबा भनिने (कृष्णदास गिरी)सम्म पक्राउ परे । दैनिक रूपमा बालबालिकालाई बलात्कार गरी हत्या गर्ने क्रम बढेको भए पनि गृहमन्त्री रामबहादुर थापाले भने ‘नेपालको स्थान पछाडिबाट हेर्दा सवा दुई सय मुलुकमध्ये टप १५ मा परेकोमा गर्व गर्दछन् । दैनिक ६ जनाको दरले बालिका बलत्कारपछि हत्याका घटना बढ्दै जाँदा सरकारको रवैयाप्रति जनता त्रसित भएका छन् ।

कानुन नभएकै कारण नेपालमा दैनिक रूपमा बलत्कारका घटना बढ्दै गएका छन् । कञ्चनपुरका १३ वर्षीया निर्मला पन्त जस्तै बाराकी १२ वर्षीय बालिका खाना खान बुबालाई बोलाउन घरबाट घारीगोठतर्फ गइरहेकी अवस्थामा सोही ठाउँका २२ वर्षीय शिवपुजन यादवले करणी ग¥यो । बझाङमा १२ वर्षीया बालिका सम्झना विश्वकर्मालाई बलात्कारपछि हत्या गरियो । पाँच महिना अर्थात ०७६ चैतदेखि ०७७ भदौसम्म १ हजार २ सय २१ बलत्कारका घटना भएका छन् । सडकमा दैनिक बलत्कारीलाई कारबाही गर भन्नेनारा जुलुससहित बजार बन्द गरिरहेका छन् । उता गोविन्द केसी अनसनमा बसेर जीवन मरणको दोसाँधमा पुगेका छन् ।

अनसनमै मृत्यु भएका गोरखाका नन्दप्रसाद अधिकारीको कहिले न्याय पाउछन् ? तत्कालीन राजा राम शाहले भनेको अर्ती उपदेशको कुनै काम लागेको छैन । शाहले भनेका थिए ‘न्याय हराए गोर्खा जानु शिक्षा हराय कासी’ । नेपालमा न्याय, शिक्षा, नैतिकता, र संस्कृति हराउँदै गएको बेला कासी जाने कि गोरखा सरकार । देशमा यस्तोे अपराध भ्रष्टचार बेथिति हँुदासमेत न्यायालय कुनै काम गर्न सक्दैन र ? के हिन्दी फिल्ममा भने जस्तै कानुन अन्धो भए पनि न्यायाधीशले सबै कुरा देख्छ र ? न्यायाधीशले सबै कुरा देख्ने भए किन गीताको हत्यारालाई जेल मिनाहा ग¥यो ? गीताको हत्यारा जेल मिनाहा गर्दै गर्दा रेशम चौधरीलाई किन भुल्यो ? निलम्बित प्रहरी हाजिर गराउँदा निर्मलालाई किन भुल्यो ? आँखामा कालो पट्टी बाँधेर उभिएकी महिलाको मूर्तिलाई एकपटक सोध्न मन छ सरकार बहिरो हो कि कानुन अन्धो हो ?

प्रतिक्रिया