नाम : नेपाल कम्युनिष्ट पार्टी, काममा : पूर्वएमाले र पूर्वमाओवादी

काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ ३ गते बनेको थियो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । चुनावी तालमेल गरेका यी दुई पार्टीले झण्डै दुईतिहाईको नजिक पुगेपछि एकता गरेर नेकपा स्थापना गरेका हुन् ।  एकता भएको झण्डै २९ महिना पुग्दा पनि पार्टीका सबै संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल निरन्तर छलफलमा जुटेपनि कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकताका बाँकी काम, संवैधानिक नियुक्ति र विभिन्न राजनीतिक नियुक्तिमा कसलाई पठाउने भन्नेमा कुरा मिल्न सकेको छैन । स्थायी कमिटीको बैठकमा निस्किएको विवादपछि अहिलेसम्म यी दुई अध्यक्षबीच ४९ पटक भेट भईसकेको छ । तर, यी सबै समस्या ज्यूँको त्युँ रहेका छन् ।

नेकपाका नेताहरुले दिएको जानकारी अनुसार पार्टी एकता भएको भएपनि दुई अध्यक्षबीच पूर्व एमाले र पूर्वमाओवादीको अडान कायमै रहेकाले समस्या देखिएको बताएका छन् । यो विषय मुख्यतय नयाँ मन्त्री छनौट र पुराना मन्त्रीको निरन्तरताका विषयमा देखिएको हो । प्रधानमन्त्री समेत रहेका ओलीले आफु अनुकुलका मन्त्री छनौट गर्ने र राम्रो काम गरिरहेका व्यक्तिलाई निरन्तरता दिने पक्षमा छन् । तर, अर्का अध्यक्ष दाहाल भने पूर्वमाओवादीका केही मन्त्रीलाई राखेर सबैलाई हटाउनुपर्ने अडानमा छन् । उनले पूर्व माओवादीका तर्फबाट भन्दै प्रधानमन्त्री ओलीलाई नाम समेत दिएको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीसँग विहिवार बालुवाटारमा भएको तीन घण्टा लामो छलफल पनि यही विषयमा केन्द्रीत रहेको बुझिएको छ । ओली रिक्त रहेका र केहीलाई हटाएर नयाँ मन्त्री बनाउने तरखरमा छन् । तर, कार्यकारी अध्यक्ष समेत रहेका दाहालले त्यसमा असहमति राखेपछि प्रधानमन्त्री ओली तत्काल रिक्त रहेका मन्त्रालयमा मात्रै मन्त्री नियुक्ति गर्ने तयारीमा छन् । ‘दाहाल पूर्वमाओवादीको तर्फबाट नाम लिएर आउनु भएको छ’, बालुवाटार स्रोतले भन्यो,‘प्रधानमन्त्रीले त्यसमा ठाडै असहमति जनाउदै अब कोही पनि माओवादी र कोही पनि एमाले नरहेको भन्दै नेकपाका नेतालाई मन्त्री छनौट गर्ने स्पष्ट पार्नुभएको छ ।’

त्यसो त नेकपामा पूर्वएमाले र माओवादी यो पटक मात्र भएको होइन् । सबैभन्दा ठुलो संर्घष त सभामुख छनौट गर्दा देखिएको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएपछि नेकपामा विवाद देखिएको थियो । प्रधानमन्त्री ओलीले सुवास नेम्वाङले पठाउने तयारी गरेपनि दाहालले यो पूर्वमाओवादीको भागमा परेकाले आफुले कुनै पनि हालतमा नछाड्ने अडान लिएका थिए । सो लफडाले गर्दा लामो समय संसद नै सभामुख विहिन अवस्थामा चलेको थियो ।

पछिल्लो अवस्था पनि सोही घटना जस्तैबाट गुज्रिरहेको नेताहरुले दावी गरेका छन् । तर, प्रधानमन्त्रीले एक÷दुई दिनमै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्ने र आवश्यक परे तिहार पछाडी पुनर्गठन गर्ने सम्भावना बलियो रहेको छ । विहिवारको भेटमा दुईअध्यक्षबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो ।

छलफलमा एकताको बाँकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको छ । पार्टी एकीकरणको बाँकी काम यहि महिनाभित्र सम्पन्न गर्ने सहमति बनेको छ, अब दुई अध्यक्ष र महासचिवले त्यसबारे थप तयारी गर्ने एक नेताले जानकारी दिए । एकता गरेको यो अवधिसम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुगिंएको छैन । बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले एकताको बाँकी काम सकाउने थप समझदारी गरेका हुन् ।

प्रतिक्रिया