कोरोनाको रोकथाम लागि स्वस्थकर जीवन निर्वाह प्रणाली नै उत्तम

दैलेख । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वस्थकर जीवन निर्वाह प्रणाली नै उत्तम उपाय भएको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले बताएका छन् । मंगलबार दैलेख सदरमुकाममा भएको स्वास्थ्य सेवा कार्यालयले दैलेखले आयोजना गरेको कोरोना संक्रमितको पहिचान तथा खोजतलास कार्यक्रमसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कोरोना संक्रमितको सम्पर्कमा भएकाहरुको कन्ट्याक्ट टेसिङमा परेकाहरू नछुट्ने र कसैको सम्पर्कमा नपुगेर पनि लक्षण देखिएकाहरूलाई पिसआर परीक्षण प्राथमिकता राख्नुपर्ने सुझाव दिए । स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कर्णाली प्रदेशमा मंगलबार बिहानसम्म पुष्टी भएका कुल ३ हजार ८ सय ८९ मध्ये ८० प्रतिशत पुरुष रहेको र संक्रमितहरूको कुल संख्या मध्ये ९४ प्रतिशत २० देखि २९ उमेर समूहका युवाहरू रहेका जानकारीसमेत दिएका थिए ।

एक जना संक्रमित कम्तीमा दुईदेखि तीन जनासम्मलाई कोरोना सार्न सक्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनले जनाएकोले संक्रमितको सम्पर्कमा भएकाहरूको कन्ट्याक्ट टेसिङ व्यवस्थित गर्न सरकारले प्रयास गरिरहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत मानकुमारी गुरुङले उक्त कार्यक्रममा बताएकी थिइन् ।  कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले डेढ महिना पहिले आफू जिल्लामा आए लगतै सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य र सेनिटाइजर प्रयोग गर्न एसएमएस अभियानको उद्घोष गरे पनि यसको पालना नभएकोमा असन्तुष्टी व्यक्त गरेका छन् ।

दैलेख अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्त, डा. आशिष शर्मा, डा. बिश्वबन्धु खड्का, स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकलपर्सन थिरप्रसाद रेग्मीले कोरोना संक्रमितको सम्पर्कमा भएकाहरूको कन्ट्याक्ट टे«सिङ र संक्रमण रोकथाम विधि बारे सहजीकरण गरेका थिए ।
संक्रमति पहिचान तथा खोजतलास कार्यक्रमसम्बन्धी प्रशिक्षण कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा इञ्चार्जहरूको सहभागिता थियो । सुर्खेतपछि कर्णाली प्रदेशमा यो दोस्रो प्रशिक्षण कार्यक्रम भएको र कर्णालीका १० वटै जिल्लामा यस्तो कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया