प्युठान । प्युठान नगरपालिकाले ‘सुत्केरीसँग नगरपालिका’ कार्यक्रम सञ्चालन गरेको छ । प्युठान नगरपालिका– ३ स्थित सापडाँडा स्वास्थ्यचौकीबाट आज कार्यक्रमको सुभारम्भ गरिएको हो । नगरपालिका भित्र रहेका र संस्थागत सुत्केरी भएका महिला र नवजात शिसुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।
मातृशिशु मृत्यु दर घटाउने, कुपोषणको अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रम मार्फत पोषणयुक्त खानेकुरा र सरसफाई सामग्री उपलब्ध गराइने उनले बताए ।सुत्केरी महिलाले १२ प्रकारका सामग्री (नुहाउने, लुगाधुने साबन, टुथ पेष्ट, ब्रस, सेनेटरी प्याड, हर्लिक्स, अण्डा, काईयो, नङकट, दशमुलारिष्ट) सहितको झोला दिने कार्यक्रम तय गरिएको छ ।
चालु आर्थिक वर्षको श्रावणदेखि कार्यक्रम कार्यान्वयन गर्न खोजिए पनि सामग्री खरिद लगायतका कारणले ढिला भएको नगरप्रमुख कक्षपतिले जानकारी दिए । उनले भने, ‘कार्यक्रमका लागि नगरपालिकाले ९ लाख रुपियाँ विनियोजन गरेका छौ ।’
नगरप्रमुख कक्षपतिले अनुसार कार्यक्रममार्फत सुत्केरी महिलाले प्रति व्यक्ति एक हजार दुई सय ५३ रुपैयाँ बराबरको सामग्री दिईनेसमेत जानकारी गराए । नगरपालिकाले शुभारम्भ कार्यक्रममा सुत्केरीहरुलाई जम्मा गरी पोषण सामग्री वितरण गरे पनि अबका दिनमा संस्थामा सुत्केरी भएर घर जाने क्रममा सामग्रीहरु हस्तान्तरण गरिने उनको भनाइ छ ।
नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिँदै आएको उनले बताए । यसलाई दिगो रुपमा अगाडी बढाउँदै लैजाने नगरपालिकाले योजना बनाएको नगरप्रमुख कक्षपतिले जानकारी दिए ।
प्युठान
प्रतिक्रिया