बलेवा । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ । भारत सरकारले नेपालका ४१ संघ संस्थालाई एम्बुलेन्स प्रदान गर्ने क्रममा बागलुङबाट बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ ।
भारत सरकारले महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसरमा बडिगाड गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भई सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।
‘‘गाउँपालिकालाई कोरोना संकटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर भारत सरकारलाई माग गरेका थियौँ, गाउँपालिकाका अध्यक्ष पाइजाले भने, ‘तीन वर्र्ष पहिले माग गरेको एम्बुलेन्स हाल आएर उपहारस्वरुप प्राप्त गरेका छौँ, यसको सञ्चालन र व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।’
शुक्रबार गाउँपालिकाको नाममा एम्बुलेन्स हस्तान्तरण भएको अध्यक्ष पाइजाले जानकारी दिए । कर छुटसहित झण्डै रु १२ लाखभन्दा बढी मूल्य पर्ने बुलेरो एम्बुलेन्स प्राप्त भई गाउँपालिका ल्याउन थालिएको पाइजाले जानकारी दिए ।
कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा संक्रमित बोक्दै आएको गाउँपालिकाले आगमी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुने गाउँपालिकाको अपेक्षा रहेको छ ।
प्रतिक्रिया