प्रदेश–५ को राजधानी : दाङमा मतदान गर्न नेकपाको ह्विप

काठमाडौं । प्रदेश–५ को स्थायी राजधानी दाङको भालुवाङ हुने लगभग निश्चितजस्तै बनेको छ । प्रदेशसभामा दुईतिहाइ बढी मत रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँच नम्बर प्रदेश संसदीय दलले दाङको भालुवाङ राजधानी तोक्न ह्विप लगाएपछि निश्चितजस्तै बनेको हो ।  शनिबार बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश र दाङको भालुवाङ मुकाम तोक्ने प्रस्तावको पक्षमा मत हाल्ने निर्णय गरेको छ । स्थायी राजधानी तोक्ने विषयलाई लिएर रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासीका करिब १४ जना सांसद्ले नोट अफ डिसेन्ट लेखेका छन् । अस्थायी राजधानी रहेको बुटवल वरपरका सांसदले नोट अफ डिसेन्ट लेखे पनि ह्विप जारी गरेपछि उनीहरूले नेकपाको निर्णयमा मतदान गर्नुपर्ने हुन्छ ।

संसदीय दलको बैठकमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, डा. कृष्ण न्यौपाने, दधिराम न्यौपाने, तुल्सी चौधरी, कमला विक, दीपा विक, विमला पन्थी, थानकुमारी थापाले नोट अफ डिसेन्ट लेखेका छन् । त्यस्तै कपिलबस्तुका विष्णु पन्थी, धर्म बहादुर श्रीवास्तव, पाल्पाका नारायण आचार्य, डा. पुरनमान बज्राचार्य, युवराज खनाल र गुल्मीका दिनेश पन्थीले नोट अफ डिसेन्ट लेखेका छन् ।

नोट अफ डिसेन्ट लेखेका एक सांसदले पार्टीको निर्णय भने आपूmहरूले मान्ने बताएका छन् । ‘पार्टीको निर्णय मान्नुको विकल्प छैन । अहिले हाम्रो असहमति हो । यसमा सरकारले पनि केही सोचोस् । तर, निर्देशन नै आएकाले मतदान हामीले गर्छौं’, त्यी नेताले भने । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एक्लैको दुईतिहाइ छ । दुईतिहाइका लागि ५८ सांसद आवश्यक पर्छ । नेकपाका ६१ सांसद् छन् । सभामुखले मत नहाल्दा पनि ६० भोट प्रस्तावका पक्षमा खस्नेछ । कांग्रेसका पनि सो क्षेत्र वरपरका सांसदहरूको समर्थन रहेको नेकपाका नेताहरूको दाबी छ । प्रदेशसभामा उनीहरूका १९, जनता समाजवादी पार्टीको ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद रहेका छन् ।

प्रदेश–५ प्रदेशसभाको शुक्रबारको बैठकमा स्थायी राजधानी दाङको देउखुरी र नामाकरण लुम्बिनी राख्ने प्रस्ताव पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भएको भेटवार्तामा सो सहमति बनेपछि मुख्यमन्त्री शंकर पोखरेललाई प्रस्ताव पेस गर्न निर्देशन दिइएको थियो । सो लगत्तै उनले संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश सभामा पेस भएको प्रस्तावमाथि सोमबार बस्ने बैठकमा छलफल हुनेछ । सत्तारूढ दल नेकपाले सोमबार र मंगलबार दुई दिन प्रस्तावमा छलफल गरेर मंगलबार नै पास गराउने तयारीमा छ । प्रस्तावमा सहमति जुटाउन आइतबार सर्वदलीय बैठकसमेत बोलाएको छ ।

प्रतिक्रिया