ठेकेदारले फिर्ता गरे किसानको रकम

तम्घास । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले किसानलाई अनुदानमा उपलब्ध गराएको हाते ट्रयाक्टरका सप्लायर्सको जिम्मेवारी पाएका ठेकेदारले किसानसँग लिएको कमिशन रकम फिर्ता गरेका छन् ।

‘अनुदानको ट्र्याक्टरमा किसानबाट रकम उठाइँदै’ शीर्षकमा बुधबार राससमा समाचार प्रकाशन भएपछि ठेकेदारले रकम फिर्ता गरेका हुन् । रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०७६–७७ को कार्यक्रमानुसार गाउँपालिकाका ३४ किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरिएको थियो ।

सप्लायर्स कम्पनी गिरिधारी कृषि मेशिनरी सप्लायर्सका सञ्चालक गिरिधारी चौधरीले प्रतिकिसान रु एक हजार पाँच सयका दरले कुल रु ५१ हजार गैरकानूनी ढङ्गबाट उठाएका थिए । त्यसरी उठाइएको रकमको कुनै रसिदसमेत नदिँदा स्थानीयवासीले कमिशनको आशङ्का गरी न्यायका लागि सञ्चारमाध्यमको सहयोग लिएका थिए ।

त्यसलगत्तै ठेकेदारले गाउँपालिकाको आन्तरिक राजस्व खातामा आफूले लिएको सबै रकम जम्मा गरिदिएको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी न्यौपानेले जानकारी दिए । गाउँपालिकाको खातामा जम्मा भएको रकम कार्यपालिका बैठक बसेर निर्णय गरी आइतबारसम्म सबै किसानलाई फिर्ता गरिने गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले जानकारी दिए । – रासस

प्रतिक्रिया