वृद्धावस्थामा स्मरणशक्ति ह्रास र बिर्सने रोग

डा. निदेश सापकोटा

यो रोग ज्येष्ठ नागरिकहरूमा देखिन्छ र बिस्तारै मानिसले आफूले भर्खरै गरेका गतिविधि पनि बिर्सन थाल्छ । समयमै उपचार गरिएन भने रोग बढ्दै हुँदै गएर आफू र आफ्नो परिवार र समाज सबै बिर्सने र बिरामीले आफैँलाई हानीसमेत गर्ने खालको स्थिति आइपर्छ । नेपालमा अल्जाइमर्सबारे अझै पनि धेरै जनालाई थाहा छैन । यसबारे थाहा पाउन आवश्यक छ । चेतना बढ्दै गएपछि मात्र यी रोगका बिरामी समयमै उपचारमा आउँछन् र समस्या कम गर्न सजिलो हुन्छ ।

विश्व अल्जाइमर्स दिवस सेप्टेम्बर २१ मा मनाइन्छ । महिनाभर नै विभिन्न कार्यक्रममार्फत चेतना जगाउने प्रयास भइरहन्छ । यसपटक यो दिवस ‘अल्जाइमर्सबाट हुने डिमेन्सियाका बारेमा कुरा गरौँ’ भन्ने नाराका साथ मनाइयो । सन् १९९४ देखि २१ सेप्टेम्बरका दिनदेखि विश्व अल्जाइमर्स दिवस मनाउन थालिएको हो । ‘डिमेन्सिया’ अर्थात क्रमिक ह्रास हुन गई स्मरण शक्ति नै गुम्ने समस्या कम गर्न चेतना फैलाउने दिवसका रूपमा स्मरण गरिन्छ । डिमेन्सिया र त्यसको वरपर रहेको कलंकलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रूपमा सेप्टेम्बर २१ को दिन परिचित छ । एक अध्ययनअनुसार प्रत्येक तीन जनामध्ये दुई जनाले यो विश्वास गर्दछन् कि उनीहरूको देशमा डिमेन्सियाबारे थोरै व्यक्ति या केहीले मात्र बुझ्न सकेका छन् । मस्तिष्कमा भएका कोषिकाहरूमा एक प्रकारको खराब प्रोटिन जम्मा हुने, त्यसले हाम्रो स्मरण शक्तिमा क्रमिक ह्रास गर्ने र अन्त्यमा स्नायु प्रणालीले पूरै काम गर्न छाड्छ । यसो हुनु नै डिमेन्सिया हो । यो रोगले स्मरण शक्तिका साथै व्यक्तिको सोच, व्यवहार र भावनालाई समेत असर गर्दछ । यो गहन समस्या हो । प्रत्येक व्यक्तिले डिमेन्सियाको अनुभव आफ्नै तरिकाले गर्दछन् । अन्ततः यसबाट प्रभावित व्यक्तिहरू आफ्नै हेरचाह गर्न असमर्थ हुन्छन् । दैनिक जीवनमा जीविकोपार्जन गर्न परिवार वा अरू कसैको सहयोग आवश्यकता पर्दछ । सही शब्दहरू फेला पार्न वा अरू व्यक्तिले के भनिरहेका छन् बुझ्न कठिनाई हुनु, आफूले गर्दै आएका नियमित काम गर्न समस्या पर्नु, कारणबिनै व्यक्तित्व र मुड परिवर्तन हुनु यसका लक्षणहरू हुन् ।

यो रोग जेष्ठ नागरिकहरूमा देखिन्छ र बिस्तारै मानिसले आफूले भर्खरै गरेका गतिविधि पनि बिर्सन थाल्छ । समयमै उपचार गरिएन भने रोग बढ्दै हुँदै गएर आफू र आफ्नो परिवार र समाज सबै बिसर्ने र बिरामीले आफैँलाई हानीसमेत गर्ने खालको स्थिति आइपर्छ । नेपालमा अल्जाइमर्सबारे अझै पनि धेरै जनालाई थाहा छैन । यसबारे थाहा पाउन आवश्यक छ । चेतना बढ्दै गएपछि मात्र यी रोगका बिरामी समयमै उपचारमा आउँछन् र समस्या कम गर्न सजिलो हुन्छ । अल्जाइमर्स सुरू भएको ५ देखि ८ वर्षमा यो रोग निकै कडा लक्षणका साथ देखापर्न थाल्छ । त्यसैले सकेसम्म छिटो निदान गरेर बिरामीलाई सहज अवस्थामा ल्याउनुपर्छ । सुरूमै उपचार पनि सहजै हुन्छ ।

हामी धेरैले सानासाना नानी घरमा सामान्य बिरामी पर्दा समेत दौडेर अस्पताल लैजान्छौँ । तर, वृद्धवृद्धालाई समस्या देखिँदा भने, ‘उमेरका कारण आएको हो, केही हुँदैन’ भनेर सामान्य रूपमा लिइदिन्छौँ । जसका कारण वृद्धवृद्धाको समस्या थप गम्भीर हुँदै जान्छ । अल्जाइमर्स हुँदा बिरामीले सुरूमा आफूले भर्खर मात्र गरेको काम बिर्सन्छ । जस्तो कि, एक छिनअघि खाना खाएको भए पनि खाएको छैन् भन्ने ठानेर फेरि खान बस्नु । एउटै काम दोहो¥याएर गर्नु । पछि यही समस्यालाई बेवास्ता गर्दा आफ्नो परिवारका सदस्यलाई नै बिर्सने समेत हुन्छ । रोग कडा हुँदा यतिसम्म हुन्छ कि पतिपत्नी छोराछोरी पनि चिन्न सक्दैनन् । उनीहरू सम्पूर्ण रूपमा अरूमा भर पर्न बाध्य हुन्छन् । परिवारको एक जनाले छोड्नै नमिल्ने हुन जान्छ । विश्वमा अहिले दीर्घ स्याहार केन्द्रमा सबैभन्दा बढी अल्जाइमर्सका बिरामी रहेका छन् । नेपालमा यकिन तथ्यांक छैन । पाँच वर्ष अगाडि सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार करिब ८० हजारको हाराहारीमा अल्जाइमर्सका बिरामी रहेको पाइएको थियो । अमेरिकामा यतिखेर करिब दुई लाख हाराहारीमा अल्जाइमर्सका बिरामी छन् । अल्जाइमर्स ज्येष्ठ नागरिकमा देखिने दीर्घरोग हो । यसलाई सम्पूर्ण रूपमा निको पार्न नसकिए पनि नियन्त्रण गरेर बिरामीको जीवनयापन सजिलो बनाउन भने सकिन्छ । त्यसैले घरमा ज्येष्ठ नागरिक भएका हरेकले अल्जाइमर्स बिर्सने रोग हो, यसलाई उपचार गरे नियन्त्रण गर्न सकिन्छ भन्ने बुझ्न जरुरी छ ।

अल्जाइमर्स उमेर बढ्दै जाँदा आउने एक किसिमको बिर्सने रोग हो । स्मरण शक्ति पूर्णरुपमा ह्रास हुने समस्यालाई डिमेन्सिया भनिन्छ । डिमेन्सिया हुने ७० प्रतिशत कारणका रूपमा अल्जाइमर्सलाई मानिन्छ । यसको मतलब एक सय जना डिमेन्सियाका बिरामी आउँदा ७० जनालाई डिमेन्सिया हुने कारक अल्जाइमर्स रहेको पाइएको छ । ज्येष्ठ नागरिकमा मात्र देखिने यो समस्यामा परिवारले खासै वास्ता गर्दैनन् । सुरूसुरूमा केही कुरा बिर्संदा ‘बुढेसकाल लाग्यो, यस्तै त हो नि !’ भनेर वास्ता नगर्ने चलन धेरै परिवारमा छ । त्यसो त बुढेसकाल लाग्दै गर्दा अनेक स्वास्थ्य समस्या देखिने गर्छन । जुन समस्यालाई परिवारले नियमित र ‘सबै ज्येष्ठ नागरिकलाई यस्तै हुन्छ’ भनेर सामान्य रूपमा लिने गर्छन् । तर, यो स्वास्थ्य समस्याले असामान्य रूप लिन सक्छ भन्ने बुझ्नु जरुरी छ ।

सामान्यतयाः ६५ वर्षको उमेरपछि यो रोग लाग्नसक्ने जोखिम बढी हुन्छ । हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले समस्या बढ्दै जान्छ । यो रोग के कारणले हुन्छ भन्ने कारण पत्ता नलागे पनि सुरूदेखि नै क्यान्सर, मुटुरोग, मधुमेह, उच्च रक्तचाप र धुम्रपान र मद्यपान गर्नेलाई अल्जाइमर्स हुने जोखिम बढी रहेको पाइएको छ ।
(डिमेन्सिया विज्ञ डा.सापकोटा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता हुन् ।)

प्रतिक्रिया