नौलोपन खोज्दै क्रान्ति

काठमाडौं । नवलपरासी, गैंडाकोटका क्रान्ति केसी यतिबेला म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । दुई दशकदेखि गीत, संगीतको क्षेत्रमा काम गर्दै आइरहेका केसी कोरोना कहर र बन्दाबन्दीको समयमा पनि भिडियो निर्माण र निर्देशनमा नै व्यस्त रहे । केही समय पहिले हेर्ने गीतको चलन त्यति थिएन, अहिले सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको समय आएको छ ।  प्रविधिले विस्तारै फड्को मारेसँगै नेपालमा एचडी हुँदै फोके, एटकेसम्मका भिडियो बन्न थालेका छन् । त्यस्तै गुणस्तरीय भिडियोसमेत निर्माण भइरहेका छन् । प्रविधिले फड्को मारे पनि भिडियो बनाउने निर्माण टिमले गीतको कथाअनुसार खर्च गर्न सकेनन् भने भिडियोको मर्म मर्न जान्छ ।

अर्थात् कथासहित निर्देशन भएन भने गीतले भन्न खोजेको कुरा भिडियोमा उतार्न सकिँदैन । नेपाली म्युजिक भिडियोको क्षेत्रमा गुणस्तर तथा मेकिङमा परिवर्तन ल्याउनुपर्छ भनेर दुई दशकदेखि निर्देशनमा सक्रिय केसीले सीप र सिर्जनाका दृष्टिले भिडियो दर्शकको मनछुने खालको बनाउनुपर्नेमा जोड दिए । केसीले गीतको कथालाई दर्शकले बुझ्नेगरी भिडियोमा उतार्न सक्नुपर्ने बताए । उनले बनाएका रमेशराज भट्टराईको ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई,’ प्रमोद खरेलको ‘म बाँचेकै तिमीसँग माया लगाउन होे,’ ‘मेरी छोरी’ लगायतका गीतको भिडियोले दुई करोड बढी भ्युज पाइसकेका छन् । दर्जनौं राम्रा भिडियो बनाएका केसीले यसै साता निर्देशन गरेको लोकगायक बद्री पंगेनीको गीत ‘बाटो हेरी नरोउ आमा’ को भिडियोले पनि राम्रै चर्चा बटुलिरहेको छ ।

निर्देशक केसीले ६०० भन्दा बढी गीतको भिडियो निर्देशन गरिसकेको जानकारी दिए । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा नै बढी सक्रिय क्रान्ति केसीले अहिलेका दर्शकले भिडियो गुणस्तरदेखि निर्देशकीय पाटोका कुरामा ध्यान दिने बताउँछन् । उनले भने, ‘अहिलेका दर्शक निकै चलाख भइसकेका छन् । भिडियोको प्राविधिक पक्ष, भिडियोको निर्देशकीय क्षमता आदि टेक्लिकल कुराहरूमा ध्यान दिनुहुन्छ । त्यस्ता कुरामा हामीले सुक्ष्म रुपले विचार पु¥याउनुपर्छ । गीतको भाव बुझेर म्युजिक भिडियो निर्माणमा ध्यान दिनुपर्छ ।’ नेपालमा त उनको कामको चर्चा हुने नै भयो, उनले आफ्नो प्रतिभालाई बलिउडसम्म पुगेर प्रस्तुत गर्न भ्याएका छन् । जसले गर्दा गीत, संगीतकै क्षेत्रमा टिकिराख्न मद्दत पुगिरहेको छ । निर्देशक केसीले प्रायः चल्तीमा रहेका गायक तथा गायिकाले गाएका गीतहरूको भिडियो निर्देशन गरिसकेका छन् ।

सुरुवाती समयमा उनले चलचित्रको कोरियोग्राफर पनि गरे । विन्दास ३, सूर्य दि पावर, टाइगर दि रियल हिरो, मखमली, धर्म रक्षक, सौतेनी आमा, लभ इन क्राइम लगायतका चलचित्रमा निर्देशनसमेत गरेका केसी नेपालमा म्युजिक भिडियो निर्देशनको क्षेत्रमा केही गर्नुपर्छ र भिडियो मेकिङमा पढेर, सिकेर केही गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्दछन् । केसीले गीत चल्न भिडियो मेकिङमा उत्तिकै ध्यान दिनुपर्ने बताए । उनले भने, ‘गीत हिट हुन मुख्य कुरा त गीत नै राम्रो हुनुपर्ने र त्यसपछि गीत अनुसार भिडियोलाई राम्रो बनाउने हो । त्यसैले मेरो विचारमा गीत आफैंमा राम्रो त अवश्य हुनुपर्छ । त्यसपछि भिडियोको कुरा आउँछ ।’

प्रतिक्रिया