कोरोनाले डिजिटल कारोबार बढ्यो

काठमाडौं । कोरोना (कोभिड–१९) को संक्रमण सँगै डिजिटल कारोबारमा बृद्धि भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आबको साउन महिनाको तथ्याकंले सबैभन्दा धेरै कारोबार मोबाइल वोलट र एटीएमबाट भएको देखिएको छ ।  साउनमा वालेटको माध्यमबाट एक करोड एक लाख ७७ हजार ८ सय ८९ वटा कारोबार भएको छ । उक्त कारोबारबाट कुल सात अर्ब ५७ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । असारको भन्दा कारोबार रकम केही घटेपनि कारोबार उल्लेख्य रहेको तथ्याकंले देखाएको छ ।  त्यस्तै एटीएमबाट साउनमा ४७ लाख ६९ हजार ३ सय ४० वटा कारोबारबाट ३८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबारको कारोबार भएको छ । मोबाइल बैंकिङबाट ५९ लाख २३ हजार ४ सय ११ कारोबारबाट १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ ।

एक महिनामा सबैभन्दा धेरै रकमको कारोबार आरटीजीएसको माध्यमबाट भएको छ ।  आरटीजीएसको माध्यमबाट साउनमा ३४ हजार ९ सय ३७ वटा कारोबारको माध्यमबाट कुल ८७ खर्ब १५ अर्ब ६१ करोड ९० लाख रुपैयाँको कारोबार भएको हो । असार महिना आर्थिक वर्षको अन्तिम महिना भएकोले तुलनात्मक रुपमा कारोबार बढेको आकलन गरिएको छ । जसले गर्दा असर महिनाको भन्दा साउनमा केही कारोबार रकम घटे पनि विद्युतिय कारोबार भने बढेको छ ।

लकडाउन तथा निषेधाज्ञाले विद्युतीय कारोबार बढेको हो । कोभिड १९ को नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाले गर्दा नागरिकलाई बैंकसम्म पुगेर कारोबार गर्न असहज भएको तथा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दा विद्युतीय माध्यमबाट हुने कारोबार बढेको बैकर्सहरुले बताएका छन ।  केन्द्रीय बैंकले उपलबध गराएको गत आर्थिक वर्षको विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको केन्द्रीय बैकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले उपलब्ध गराएको २०७७ असार र साउन दुई महिनाको तथ्यांकले विद्युति माध्यमबाट हुने सबै प्लेटफर्ममा लगानीकर्ताको अकर्षण बढेको देखिएको छ । आर्थिक वर्षको अन्तिममा कारोबार बढी हुने भएकोले असार महिनाको तुलनामा साउनमा केही कारोबार घटेपनि असार र साउनको तथ्यांकमा विद्युतीय माध्यमबाट हुने कारोबार उल्लेख्य रुपमा बढेको हो । विश्वका कतिपय मुलुक ‘क्यासलेस’ कारोबारमा गइसक्दा पनि नेपालमा भने विद्युतीय कारोबारले प्राथामिकता पाउन थलोको छ ।

बैंक तथा वित्तीय संस्थाको साथै भुक्तानी प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले प्रविधिमा लगानी बढाएर विद्युतीय माध्यमबाट कारोबार गर्ने विभिन्न प्लेटफर्म सञ्चालन गरेको कारण डिजिटल कारोबारमा आकर्षण बढन थालेको आकलन गरिएको छ ।

प्रतिक्रिया