कालीमाटीमा रोजगारमैत्री बजेट

सल्यान । जिल्लाको कालीमाटी गाउँपालिकामा स्थानीय स्तरमा रोजगार सिर्जना गर्ने गरी बजेट विनियोजन गरिएको छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै रोजगारी गुमाएकाहरूलाई लक्षित गरी रोजगारमैत्री बजेट विनियोजन गरिएको हो ।  गाउँपालिकाले ‘गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम’, ‘सडक मर्मतसम्भार कार्यक्रम’, ‘दलित तथा विपन्नसँग अध्यक्ष कार्यक्रम’, ‘एक वडा एक उत्पादन कार्यक्रम’, ‘बाख्रापालन पकेट क्षेत्र कार्यक्रम’ जस्ता योजना र कार्यक्रमहरू गाउँपालिकाभित्र सञ्चालन गरेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकावासीले सार्वजनिक तथा पूर्वाधार क्षेत्रमा रोजगारी पाउने गरी बजेट केन्द्रित गरिएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमका लागि १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेर कार्यान्वयन सुरु गरेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । यसअन्तर्गत गाउँपालिकाभित्र भौतिक पूर्वाधार निर्माण कार्यक्रममा रोजगारी पाउनेछन् । ‘हामीले पाँच लाखभन्दा कमका कुनै पनि योजना तयार गरेका छैनौँ, यसका लागि कार्यविधि पनि तयार भइसकेको छ । हामी गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमबाट गाउँपालिकावासी नागरिकहरूलाई रोजगारी दिने गरी अघि बढेका छौँ,’ अध्यक्ष केसीले भने ।

गाउँपालिकाले सडक मर्मतसम्भार कार्यक्रमका लागि ५० लाख रुपैयाँ कालिमाटीले विनियोजन गरेको छ । स्थानीयहरूको सहभागितामा रोजगारी सिर्जना गर्ने गरी मर्मत संभारको कार्यक्रम राखिएको अध्यक्ष केसीले जानकारी दिए । “गाउँपालिकाले खरको छाना विस्थापन गर्ने उद्देश्यले दलित तथा विपन्नसँग अध्यक्ष कार्यक्रमका लागि ९० लाख रुपैयाँ खर्च गर्ने छौँ । यसले विपन्न परिवारमा रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा छ’, केसीले भने ।

यस्तै गाउँपालिकाले कृषि क्षेत्रमा उत्पादनमुखी अनुदान प्रदान गर्ने जनाएको छ । गाउँपालिाकाले संघ तथा प्रदेश सरकारको सहकार्यमा विभिन्न महत्वपूर्ण योजनाहरू सञ्चालन भइरहेको अध्यक्ष केसीले जानकारी दिए । ‘कालीमाटी क्षेत्र व्यावसायिक बाख्रापालन तथा मौरीपालनका लागि उपयुक्त क्षेत्र हो यसका लागि गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर अनुदान उपलव्ध गराउने छ’, अध्यक्ष केसीले भने ।

जिल्लाका सबै स्थानीयतहरूमा बिजुली पुगिसक्दा पनि कालीमाटीमा नपुगेकोले विद्युत् विस्तारको काम अगाडि बढाइएको अध्यक्ष केसीले जानकारी दिए । ‘गाउँपालिकाभित्र विभिन्न व्यवसायहरू सञ्चालन गर्नका लागि विद्युत् आवश्यकता भए पनि अहिलेसम्म कालीमाटी गाउँपालिकाका–१ बाहेक अरूमा छैन तर गाउँपालिकामा तिहारअगाडि नै बत्ती बाल्ने गरी कार्य भइरहेको छ’, केसीले भने ।

कालीमाटी गाउँपालिकामा विद्युत् विस्तारसँगै थप रोजगारी सिर्जना हुने र त्यसको प्रकृतिअनुसार गाउँपालिकाले अनुदान उपलव्ध गराउने गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहहरूका प्रायःजसो वडाहरूमा विद्युत् विस्तार भइसक्दा पनि कालीमाटी गाउँपालिकामा भने ६ किलोमिटर टाढा विद्युत् पुगेको २० वर्ष पुगिसक्दा पनि गाउँपालिकामा भने पुगेको छैन ।

प्रतिक्रिया