भरुवा बन्दुक देखाएर तर्साउने दुई पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा भरुवा बन्दुक देखाएर आतङ्क फैलाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमरबहादुर थापाले गाउँमा भरुवा बन्दुक देखाएर त्रास फैलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा स्थानीयवासी २४ वर्षीय लालबहादुर विष्ट र ३५ वर्षीय कमल थापालाई नियन्त्रणमा लिएको बताए ।

अभियुक्तसँग लोड गरेको अवस्थामा रहेको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको उनले बताए । ‘अभियुक्त विष्टले बन्दुक देखाएर तर्साएको रहेछ’, प्रहरी उपरीक्षक थापाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ अभियुक्तलाई हातहतियार तथा खरखजनासम्बन्धी आज मुद्दा दायरा गरेर कारवाही अघि बढाइने उनले जानकारी दिए ।

प्रतिक्रिया