अस्करको आवेदन खुल्ला

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औँ अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुला गरेको छ । सोमबार समितिले विज्ञप्ति जारी गर्दै अस्करको प्रतिस्पर्धामा सामेल हुन नेपाली फिल्मकर्मीका लागि आवेदन खुल्ला गरेको जनाएको छ । समितिमा असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो बुझाउनुपर्ने प्रावधान राखिएको छ । कोरोनाका कारण यसअघि फेब्रअरीमा हुँदै आएको दुई महिनापछि सरेको हो । अस्कर अवार्ड २५ अप्रिलमा लसएञ्जल्सको डल्बी थिएटरमा आयोजना हुने जनाइएको छ ।

कोरोना संक्रमणको त्रासका कारण अस्करले सहभागिताका लागि केही नियम परिवर्तन गरेको थियो । जसमा कोरोनाका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको चलचित्रले समेत सहभागिता जनाउन पाउने छन् । यसअघिका वर्षमा चलचित्र हलमा प्रदर्शन भएर कम्तिमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम रहेको थियो । यो वर्ष हलमा प्रदर्शन हुन नसकेका चलचित्र अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउने छन् तर, सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट चलचित्र प्रदर्शन रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनुपर्ने जनाइएको छ ।

अस्करका लागि नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, लोकेन्द्र पराजुली, प्रदीप उपाध्याय, राजुविक्रम थापा, सामिप्यराज तिमल्सेना र चिरञ्जीवी गुरागाइँ सदस्य रहेका छन् ।

प्रतिक्रिया